December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

रुकुम पश्चिममा भुकम्पबाट मृत्यु भएका परिवारलाई नगद राहत वितरण

प्रवाह संवाददाता। जाजरकोट
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका ४१ जना मृतकका परिवारलाई नगद राहत वितरण गरिएको छ । सानीभेरी गाउँपालिकामा र आठबीसकोट नगरपालिकामा राहत वितरण गरिएको हो । सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३१ मृतकका २० घरपरिवारलाई ५१ लाख गरेर जम्मा ६७ लाख नगद राहत रकम बाँडिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
उहाँका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको छ। ‘अव कागजात मिलाउन बाँकी रहेका १२ मृतकका ९ घरपरिवारलाई नगद रकम वितरण गर्न बाँकी छ, यसमा ५ जना जिल्ला बाहिरका रहेका छन्, जिल्ला बाहिरकाका हकमा कागजात पुगेपछि सम्बन्धित जिल्लामै राहत पठाइने छ’ प्रमुख जिल्ला अधिकारी पन्तले भने । सङ्घीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो । सरकारले निर्णय गरे अनुसार प्रति मृतक २ लाखका दरले नगद राहत वितरण गरिएको छ । एकै घरका एक जना भन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र बाँकीलाई एक लाखका दरले थप रकम दिइएको छ । एकै घरका चार जना सम्मको मृत्यु भएको छ ।
सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपत् व्यवस्थापन कोषमा ५ करोड रकम पठाएको थियो । जसबाट ६७ लाख नगद राहत वितरण गरिएको छ भने अब १२ जना मृतकका परिवारलाई वितरण गर्न बाँकी छ । वितरण पश्चात् बाँकी रहेको रकम भूकम्प पीडितका अस्थायी आवास निर्माण तथा पुनर्स्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए । रुकुम पश्चिममा भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो । एक सय एक जनाको मृत्युु भएको जाजरकोटमा भने अहिले सम्म नगद राहत वितरण गरिएको छैन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad