June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

भुकम्प प्रभावित पत्रकारलाई एक बर्ष सम्म निशुल्क इन्टरनेट

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले एक बर्षको इन्टरनेट शुल्क बापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । भुकम्प लगत्तै जाजरकोट र रुकुम पश्चिम पुगेकी सुचना तथा संचार मन्त्री रेखा शर्माले प्रभावित संचार गृह र संचारकर्मीको एक बर्षको इन्टरनेट सुविधा उपलब्ध गराउने बताएकी थिईन ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोलीले जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको थियो । काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको अध्यक्ष बस्नेतले बताएका थिए । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उनले मिडिया विकास कोषबाट लाभ लिन सवै जिल्लाका पत्रकारलाइ आग्रह गरेका थिए । दुरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठुलो सहयोग पुगेको उनको भनाइ थियो ।


मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै मिडिया हाउसको सूचिकृत प्रक्रिया अनलाइनबाट गर्न लागेको जानकारी दिए । काउन्सिलले रुकुमपश्चिमका १९ जना पत्रकार, ८ वटा सामुदायिक रेडियो एफएम र ६ वटा छापा तथा अनलाइन पत्रिकालाई सहुलियत वितरण गरेको छ । त्यसैगरी जाजरकोटका २४ जना पत्रकार, ५ वटा सामुदायिक रेडियो एफएम र १० वटा अनलाइन तथा छापा माध्यमलाई सहुलियत वितरण गरिएको काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले जानकारी दिएका छन् । काउन्सिलले जाजरकोट र रुकुमपश्चिम जिल्लाका सञ्चार गृहको अनुगमन तथा निरीक्षण गर्नुका साथै आचारसंहिता जागरण सञ्चालन गरेको थियो ।
नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले दुःखको बेला काउन्सिलले अभिभावकिय भुमिका निर्वाह गरेर आवश्यक सहयोग गरेकोमा काउन्सिललाई धन्यवाद दिए । पत्रकार र पत्रकारीता क्षेत्रको विकासमा प्रेस काउन्सिल सँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad