राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा गएको भुकम्पले जाजरकोट नलगाड नगरपालिका १ चिउरीका कले कामीको घर भत्कियो । घरले आधा शरीर च्यापे पनि गाँउलेको सहयोगमा उनलाई उद्धार गरियो र उनी बाँच्न सफल भए । तर उनको एक मात्र साहारा ओत लाग्ने घर नै भत्किएपछि उनी निकै तनावमा थिए । श्रीमतिको यस अघि नै मृत्यु भैसकेको र दुई जना छोरीहरु पनि विहे गरेर गैसकेपछि ५६ बर्षिय कले एक्लै जीन्दगी कटाईरहेका छन् । उनी बोल्न सक्दैनन् । भुकम्प पछि झन समस्यामा रहेको कुरा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लबको कानमा पर्यो । उनी आफै आफ्ना स्वयमसेवी कार्यकर्ता लिएर उनको घर बनाई दिए ।
शनिबार (कार्तिक २५) बिहानै महासचिव विप्लवले चिया नखाई नै नलगाड न.पा १ स्थित कले कामीको अस्थायी टहरा (घर) बनाउने कार्यको नेतृत्व गरे । कामीको भत्किएको घरबाट समान हरु निकाल्ने कार्य नेकपा कार्यकर्ताले शुक्रबार नै गरी सकेका थिए । काठको अस्थायी टहरा बनाउन महासचिव विप्लव र पार्टीका प्रवक्ता प्रकाण्ड स्वयम् आफै जुटे एक दिनमै घर तयार भयो । कले बोल्न नसके पनि दिमाकले चाहिँ एकदमै चलाख देखिन्थे । नेकपाले पुर्ननिर्माण गर्न लागेको उनको घर बनाउन यसो गर उसो गर भनेर निर्माणकर्तालाई कले कामीले बेला बेलामा इसाराले सुझाव दिए जस्तो गर्थे ।
नेपाल कम्युनिस्ट पार्टीले केही त्यहाँ भएको काठ प्रयोग गरे र बाँकी छानोको टिन, बास लगायतका सामाग्री आफनै लगानीमा लगाएको थियो । नेकपा नेताहरु विप्लव – प्रकाण्ड लगायत सबैले दिनभरि श्रम गरी साँझ तिर बल्ल घरको संरचना तयार भयो । कले पनि पुनर्निर्माणको काममा सबैलाई सघाउँदै थिए र उनी हर्षित पनि देखिन्थे । कलेलाई मेरो घर नेपाल कम्युनिस्ट पार्टीले बनाउँदै छ भन्ने थाहा भएको रहेछ । भन्ने गरिन्छ कसैले दुःखको बेला कसैको सहारा बन्नु हरेक सचेत नागरिकको कर्तव्य हो । त्यसैमा कुनै सहारा नभएको बेसहारा अशक्तको सहारा बन्नु झन् कति गर्विलो कुरा रहेछ कुन्नि ? त्यो गर्वको क्षण कले कामीको अनुहारमा प्रस्ट देखिन्थ्यो उनी नबोले पनि बोले भन्दा झन् स्पष्ट ।
अस्थायी टहरा निर्माणको कार्य सकिनै लागेको थियो । कले इसाराले भए पनि सबैलाई धन्यवादको भाव प्रकट गरिरहेका थिए । अन्तिममा उनले आफ्नो हँसिलो भाव प्रकट गर्दै नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड प्रति अङ्गित गर्दै लाल सलाम ठोके र सायद आफ्नो तर्फबाट त्यसै मार्फत अन्तिम आभार व्यक्त गरे ।
विपतका बेलामा त्यो सहयोग उनको लागि नसोचेको थियो र गाउँलेहरूले पनि अशक्तको घर निर्माण गरिदिएकोमा नेपाल कम्युनिस्ट पार्टी प्रति धन्यवाद नै व्यक्त गरे ।
महासचिव विप्लवले बनाइएको अस्थायी टहरा आज आईतवार एक कार्यक्रमका बीच कले कामीलाई हस्तान्तरण गरेका छन् । सो क्षेत्रमा महासचिव विप्लवले पीडितहरुलाई राहत वितरण तथा पीडितहरु संग भेटघाट गरेका छन् । केही समय पछि सोही क्षेत्रमा भूकम्पले भत्किएका घर निर्माण गर्न आफ्नी पार्टीले जनशक्ती परिचालन गरी अरु घरहरु पनि निर्माण गरिदिने बताएका छन् । नलगाड १ चिउरी गाउँमा अहिले सम्म सबै घरहरू भत्किएका छन भुकम्पकै कारण उक्त गाउँमा हाल सम्म १३ जनाको ज्यान गएको छ । घरहरु भत्किएकै कारण अहिले त्यहाँका सबै मानिसहरू पाल मुनि बस्न बाध्य छन् ।
राहत सामग्री सहित भूकम्प पीडितको उद्दारका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी जाजरकोट र रुकुम पश्चिम हुँदै सल्यानको यात्रामा छन् । शुक्रबार (कार्तिक २४) राति जाजरकोट पुगेका विप्लवले आफूले ल्याएको करिब १ करोड बराबरको राहत सामग्री जाजरकोट जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन । त्यस पश्चात विप्लव शुक्रबार राति करिब १० बजे जाजरकोटको नलगाड नगरपालिका १ चिउरी गाउँमा पुगेका थिए । जहाँ नेकपाको दक्षिण कर्णाली ब्युरो समिति केही दिन अगाडि देखि नै शिविर राखेर पीडितको उद्दारमा खटिएको थियो । अरु ठाउँ स्वास्थ्य शिविर राखेर आइसकेको नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको डा. प्रकाश सी नेतृत्वको टोली पनि सोही चिउरी गाउँमा घाइते तथा बिरामीको उपचारमा लागेको थियो ।