शिक्षक दिबसको शुभकामना

lagu ausadhi biruddha abhiyan jajarkot

राजेश शर्मा

नेपाली शिक्षकहरुले वलिदान गरि पेशागत शिक्षक संगठन खोल्न पाउने अधिकार प्राप्त गरेको दिनको अबसरमा सबै नेपालीहरुमा हार्दिक शुभकामना । शैक्षिक र पेशागत बिकासमा योगदान पुर्याउनु हुने अग्रज सबैमा सम्मान व्यक्त गर्न चाहन्छु । शिक्षा क्षेत्रमा बिकृती ,बिसङ्गती र समस्या अझै धेरै छन । शिक्षा क्षेत्रका समस्या हल गर्न सम्बन्धित सबैमा सद्बुद्धी पलाओस । शिक्षक दिबसको पुन हार्दिक शुभकामना!

वि.सं.–२००६ साल देखिको शिक्षकहरुको संगठित हुने अथक प्रयास तथा आरोह अवरोहपछि वि.सं.–२०३६ सालमा एउटा शिक्षक समुदायको साझा आकांक्षा र समस्या समाधानको लागी शिक्षक समुदायको साझा हितलाई सर्वाेपरी राख्ने, वर्ग, जाती, धर्म, तह र क्षेत्रको भेदभाव नराखी शिक्षक शिक्षक विच परस्पर सद्भाव र समवेगको भावना विकास गर्नु आपसी संपर्क विचार आदान प्रदान र मैत्रीभावको विकास गरी पुर्वाग्रह हटाउने र सुदृढ एकता कायम गर्ने शैद्धान्तिक आधारमा स्थापना भएको नेपाल राष्ट्रिय संगठनको तत्कालिन पञ्चायती शासकले शिक्षकका मागलाइ बेवास्ता गरेपछि देशव्यापी शैक्षिक हडतालको घोषणा पश्चात वि.सं.–२०३६ साल चैत्र २९ गते नेपाल राष्ट्रिय संगठनको विधान पारित भएको र सरकारसंग ६ बुँदे सम्झौता भएको दिनको संझनामा प्रत्येक बर्ष नेपाल राष्ट्रिय संगठनले शिक्षक दिवस मनाउने गर्दछ ।

नेपाल राष्ट्रिय संगठनको नाममा गठन भएको नेपालको एकमात्र विशुद्ध पेशागत संगठनले ४५बर्षको लामो समय पार गर्दै गर्दा नेपाली शिक्षकहरुको पेशागत हक अधिकारको क्षेत्रमा धेरै महत्वपुर्ण उपलव्धिहरु प्राप्त भएका छन् । शिक्षकको दरवन्दि सृजना स्थायित्व, सञ्चयकोष, ग्रेड, बढुवा, पेन्शन, तालिम आदी उपलव्धिहरु सजिलै प्राप्त भएका होइनन् यसका लागी ठुला आन्दोलन र वलिदानको इतिहास हामी सामु छ । नेपाली शिक्षकको हक–हितको लागी आन्दोलन गर्ने तथा बलिदान समेत गर्नुहुने ति सबै अग्रज व्यक्तित्वहरु प्रति आजको दिनमा उच्च सम्मान प्रकट गर्नु पर्दछ !कठिन समय पञ्चायती कालारात्रिमा स्थापना भएर संघर्ष गर्दै नेपाली शिक्षकहरुको पेशागत हक–हितको लागी सबै प्रकारका राजनैतिक व्यवस्था र शासकहरुसंग पैठेजोरी खेल्दै हाम्रो हितलाई सर्वाेपरी राख्ने नेपाल राष्ट्रिय संगठननै नेपाली शिक्षक आन्दोलनको मियो हो । बर्तमान अवस्थामा नेपाल संघिय शासन व्यवस्थामा प्रवेश गरेको सन्दर्भमा यसको भुमिका अझै महत्वपुर्ण छ । वर्तमानमा नेपाली शिक्षक आन्दोलनका चुनौतीहरुलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

१. एकताबद्ध शिक्षक आन्दोलन

एकतामै बल हुन्छ भन्ने मान्यतालाई कहि कसैले नकार्न सक्दैन । नेपालको शैक्षिक आन्दोलनमा वि.सं. २०३६ सालपछि जे जति उपलव्धिहरु भए सबै एकताबद्ध आन्दोलनको परिणाम थियो । जव नेपालमा २०४६ सालमा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना भयो, त्यसपछि नेपाली शिक्षक आन्दोलनमा फुट शुरु भयो । वि.सं.–२०४७ साल बैशाखमा नेपाल शिक्षक संघको स्थापना पश्चात नेपालमा हरेक राजनैतिक दलको भातृ संगठनको रुपमा शिक्षकको विभाजन आज दर्जनौ संगठनको स्थापना भइसकेको छ । यसरी शिक्षकमा आएको फुटकै कारण आज हामी झोले शिक्षकको रुपमा अपमानित हुन पुगेका छौ भने अर्कोतिर हाम्रो पेशागत सौदाबाजी कमजोर हुन पुगेको छ । नेपाल नयाँ शासकीय व्यवस्थामा गएकोमा माध्यमिक तह सम्मको शिक्षालाई स्थानीय तहमा राखिएको शन्दर्भमा हाम्रा अधिकारहरुमाथी पुनः प्रहार हुने सम्भावनालाई मध्यनजर गरि नेपाल राष्ट्रिय संगठनले शिक्षक आन्दोलनलाई एकतावद्ध बनाउने चुनौतीको सामना गर्नु पर्दछ । राजनितक दलको भातृ संगठन बनाएर केहि थान नेता बन्न सकिएला तर पेशागत संगठन कमजोर पर्छ भन्ने कुरा इतिहासले प्रमाणित गरिसक्यो । सम्भव भएसम्म सम्पुर्ण शिक्षकको एकता नत्र नेपाल शिक्षक महासंघलाई राजनीतिक छायाँबाट पुर्ण मुक्त गरि प्रभावकारी बनाउने कार्यमा एउटा अभिभावकिय जिम्मेवारी नेपाल राष्ट्रिय संगठनले खेल्नु पर्दछ ।

२. पेशागत मर्यादा र शुरक्षा

नेपालमा शिक्षण पेशा मर्यादित हुन अझै सकेको छैन । शिक्षकहरु समाजमा मर्यादित हुन सकेका छैनन् । आज शिक्षकहरु थुप्रै प्रकारमा विभक्त छन । सबै शिक्षकको समान सेवा सुविधा छैन । नेपाल सरकारले श्रमिकको लागी निर्धारण गरेको न्युनतम सुविधा समेत प्राप्त गर्न सकेको अवस्था छैन! शिक्षकले निजामती कर्मचारी सरह सुविधा प्राप्त गर्न सकिरहेका छैनन् । नेपालको नयाँ व्यवस्था अनुरुपको संघीय शिक्षा ऐन बन्दै गर्दा उक्त ऐनमा शिक्षकको मर्यादा र पेशागत शुरक्षाको व्यवस्थ गर्ने गरि व्यवस्था गराउनु आजको अर्को चुनौती हो ।
–शिक्षकको तहगत बढुवा ।
–शिक्षकहरुलाइ समेत शिक्षा क्षेत्रको कर्मचारी बन्न पाउने व्यवस्था ।
–ट्रेडयुनियन अधिकारको ग्यारेण्टी ।
–संघियतामा शिक्षकको सेवा सुविधाको सुनिश्चितता ।
–विधालयमा अनिवार्य न्युनतम शिक्षक दरवन्दि र भौतिक व्यवस्थापन ।
–बाल शिक्षक, राहात अनुदान, साबिक उच्च मा.वि.को नाममा दशकौदेखि कार्यरत शिक्षकको उचित व्यवस्थापन ।
–विधालयमा कर्मचारीको व्यवस्थापन ।
–विधालय व्यवस्थापनको नाममा रहेको राजनीतिको अन्त्य ।
–संस्थागत विधालयमा कार्यरत लाखौँ शिक्षकको पेशागत अधिकार ।
–शिक्षकहरुलाई उपयुक्त मर्यादामा राख्नु।

माथिका व्यवस्थाहरु अब आउने शिक्षा ऐनमा समाबेश गराउन समेत नेपाल राष्ट्रिय संगठनले भुमिका खेल्नु आवश्यक छ । सम्पुर्ण शिक्षकको एकताबद्ध प्रयासबाट ऐनमा शिक्षक र शिक्षा संग सम्बन्धित व्यवस्था राख्नु अहिलेको एउटा चुनौती हो ।

३. शैक्षिक गुणस्तर वृद्धी

नेपाली शिक्षा क्षेत्रको ठुलो चुनौती खस्कदो शैक्षिक गुणस्तर नै हो । देशको बार्षिक बजेटको ठुलो हिस्सा खर्चहुने विधालय शिक्षामा अपेक्षाकृत गुणस्तर वृद्धि हुन सकेको छैन । कक्षा कोठामा विधार्थाीसंग सिकाइ क्रियाकलापमा संलग्न हुने हामी शिक्षक नै भएकोले हामीले जिम्मेवारी लिनै पर्दछ । तर सम्पुर्ण रुपमा शिक्षकका कारण शैक्षिक गुणस्तर खस्केको भन्ने आरोपबाट आम शिक्षक समुदायलाई जोगाउनु आजको अर्को चुनौती हो । सामुदायिक विधालयमा कार्यरत शिक्षकले आंशिक आय–आर्जनको लागी विभिन्न व्यापार, एजेन्ट, सञ्जालयुक्त व्यापार तथा नीजि शैशिक संस्थामा शिक्षण गर्दा सामुदायिक विधालयमा इमान्दारीता देखाएनन् र शैक्षिक गुणस्तर खस्केको भन्ने आरोप आम रुपमा शिक्षकहरुमाथि लाग्दै आएको छ । अर्को तिर शिक्षकहरुले राजनीति गरेर गुणस्तर खस्केको भन्ने आरोप पनि लाग्दै आएको छ । हामी सामुदायिक विधालयका शिक्षकहरु आफ्नो शिक्षण कार्यमा इमान्दार बन्नै पर्दछ । आफु मातहतका सदस्य शिक्षकलाई पेशाप्रति इमान्दार बनाएर समाजमा उठेका आरोप खण्डन गर्न नेपालमा शिक्षाको गुणस्तर वृद्धिमा नेतृत्वदायी भुमिका खेल्नु पनि आजको चुनौती हो । राजनीतिको नाममा शिक्षकलाई बदनाम गरि पेशागत अधिकार कुण्ठित पार्ने प्रयासलाइ असफल पार्दै शिक्षकको ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्ने चुनौती समेत वर्तमानमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा छ ।

४–शिक्षकको गुनासोको अन्त्य

वर्षौं लामो समयसम्म अस्थायी रहनु पर्दाको गुरुहरूको पीडा, चिन्ता र संघर्षलाई सम्बोधन गरि साबिक उच्च माबी,राहत र बालबिकासमा काम गर्नेहरुको गुनासोको सुनुवाई गरेर आवस्यक प्रकृया पुर्याई स्थायी गराउनु पनि एउटा चुनौतिको रुपमा रहेको बिषय हो भने अर्को कुरा आवस्यक पर्दा शिक्षकहरुलाई प्रयोग गर्ने तर अरु बेला शिक्षक प्रती हेर्ने जुन दृष्टिकोण छ त्यसको जरुर अन्त्य हुनुपर्ने कुरा पनि हाम्रो सामु चुनौतिको रुपमा रहेको छ ।

अन्त्यमा एकतामा नै बल हुन्छ हामी शिक्षकहरु फुटेर हैन जुटेर हामिमाझ आएका चुनौतिहरुको सामना गर्दै अगाडि बढ्नु पर्छ र हाम्रा सामु रहेका तमाम अपहेलनाका ती पहाडहरुलाई चिर्नै पर्छ भन्दै सम्पुर्ण कर्मठ शिक्षक बर्गमा आउदै गरेको २०८१ सालको पनि भब्य शुभकामना ब्यक्त गर्दछु । धन्यवाद ।

( लेखक श्री त्रिभुवन माबी खलङ्गा ,जाजरकोटका शिक्षक हुन् । )

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad