April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

जनपक्षिय राजनितिकर्मीको अवसान

राजेन्द्र विक्रम शाह । जाजरकोट

मिति २०७८ साल माघ २९ गते जाजरकोट जिल्लाको जनपक्षीय राजनीतिका नायक तेज विक्रम शाहको नश्वर शरीर पृथ्वीमा लीन भएको छ । जनसेवी पूण्य आत्माले हामीवाट विदा लिएको छ । आज २०७८ साल फाल्गुन १ गते जाजरकोट खलंगा, थाप्ले स्थित निवासमा श्रद्धान्जली अर्पण गरी शिवालय घाटमा दाह संस्कार सम्पन्न भएको छ । अन्तिम श्रदान्जली कार्यक्रममा उहाँको पार्थिर शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान समेत गरिएको छ ।

जाजरकोटी राजवंशका अग्रणी व्यक्तित्व, राजा जंगबहादुर शाहका ८ भाई छोराहरु मध्य ७ औं छोरा अमरबहादुर शाहका नाती तथा गोकर्ण बहादुर शाहका जेठा छोरा हुनुहुन्थ्यो । श्रीमति वागेश्वरी शाहका पति र २ छोरा गोविन्द विक्रम शाह र कृष्ण विक्रम शाहका पिता स्व.तेज विक्रम शाहको राजनीतिक र सामाजिक जीवन यात्रा अत्यन्त उत्प्रेरक, ऐतिहासिक र अनुकरणीय समेत छ ।

वहुआयामिक विकास र सार्वजनिक सेवा प्रवाह मार्फत जाजरकोटी जनताको मौलिक अधिकार संग गांसिएका आधारभूत आवश्यकताको परिपूर्ति संगै जनताका दुख, पीडा र जोखिममा सदैव जनताकै पक्षमा जीवनभर क्रियाशील स्व.तेज विक्रम शाहको राजनीतिक र सामाजिक जीवनयात्रामा निरंकुशता र हैकमवाद विरुद्धको संघर्ष निरन्तर साथमै रहेको पाईन्छ ।

विक्रम सम्वत् १९८७ मा जन्म भै करिव ३ दशक लामो सक्रिय राजनीतिक जीवनका वीच तत्कालीन खलङ्गा गाउं पंचायतको प्रधानपञ्चको चुनाव २०२६ सालमा जिते पनि उहांलाई तत्कालीन निरंकुश सरकारका मतियारहरुको षडयन्त्रमा सपथग्रहण नगराईएको रोचक ईतिहास छ । त्यस पछि उहांले आफ्नो राजनीतिको कार्य क्षेत्र खलंगावाट परिवर्तन गरी साविक साकियां गाउं पञ्चायत रोज्नु भयो । पहिला साकिया गाउं पञ्चायतवाट वडा सदस्य हुंदै उहां पटक पटक जिल्ला पञ्चायतको सभापति वन्नु भयो । जाजरकोट जिल्लामा पनि त्यस समयमा पञ्चहरु वीच गुटहरु थिए । केन्द्रीय पञ्चायती राजनीतिमा सुर्य वहादुर थापा र लोकेन्द्र वहादुर चन्दका गुटहरु मध्य उहां चन्द नजीक मानिनु हुन्थ््यो ।

उहां सरकारी पक्षवाट विकास र सेवा प्रवाह तथा न्याय तथा सुरक्षाका विषयमा जनतालाई कुनै दुख र असुविधा भएमा जनताको पक्षमा र सरकारको विरुद्धमा उत्रिनु हुन्थ््यो । उहांलाई जिल्ला पञ्चायत सभापति हुंदैको समयमा २०३७ सालमा जिल्ला पञ्चायत विघटन गरिएको थियो । उहांले तत्कालीन प्रधानमन्त्री सुर्य वहादुर थापाको कोट तानेर विरोध गर्नुका साथै काभ्रेका गोविन्द उप्रेति संग काठमाण्डौंमा संयुक्त पत्रकार सम्मेलन मार्फत नेपालको दोश्रो जंग वहादुरको संज्ञा दिनु भयो । २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यको अत्यन्त धांधली र पक्षपातपूर्ण निर्वाचनमा पराजित हुनु भयो । २०३९ सालमा कोर्ताङ्ग गाउं पञ्चायतवाट सदस्यमा आएर फेरी जिल्ला पञ्चायत सभापतिमा जित्नु भयो र जनताको पक्षमा निरन्तर काम गर्नु भयो । निरन्तर गतिशील र सक्रिय जीवनमा धेरै शैक्षिक संस्थाको स्थापना र पूर्वाधार विकासमा लागिरहनु भयो । सादा जीवन उच्च विचार सहित निरन्तर गाउंले जनताका दुख सुखमा साथमै रहनु भयो ।

विक्रम सम्वत् २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा विजयी भएर २०४६ सालमा आपूर्ति सहायक मन्त्री वन्नु भयो । आफु सहायक मन्त्री रहंदा नै आफ्नै राज्यमन्त्री विरुद्ध प्रधानमन्त्री कहां सिकायत गर्नु हुन्थ््यो । वहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट उम्मेदवार भै २०४८ सालको प्रतिनिधि सभा निर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा थोरै मत अन्तरले पराजित हुनु भयो ।
उहां सार्वजनिक पदमा रहंदा वा नरंहदा निरन्तर सवै जनप्रतिनिधि, राजनीतिक दल र समाजसेवी तथा सवैलाई निस्वार्थी भएर काम गर्न, जनता र राज्यलाई धोका नदिन तथा सदैव न्यायका पक्षमा लागि रहन उत्प्रेरणा तथा निर्देशन दिनु भयो । कुनै पनि प्रकारको आग्रह र पूर्वाग्रह तथा स्वार्थवाट मुक्त रहनु भयो । यती लामो राजनैतिक यात्रामा आफ्नो पैत्रिक सम्पत्ति वाहेक जिल्ला वाहिर एक आना पनि जग्गा लिनु भएन, वैंक व्यालेन्स रहेन, अन्य कुनै जिन्सी सम्पत्ति पनि रहेन, जग्गा वेच्दै चुनाव लड्दै…………………………………………… धन्यवाद ।
( लेखक नागरिक समाज जाजरकोटका अगुवा हुनुहुन्छ ।)

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad