शिक्षकको रक्तदानले बच्यो सुत्केरीको ज्यान

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
रगत अभावमा जीवनमरणको दोसाँधमा जिल्ला अस्पताल जाजरकोटमा छट्पटाईरहेकी एक सुत्केरीलाई त्रिभुवन माध्यमिक विद्यालय खलंगामा कार्यरत शिक्षक पार्वती थापाले रगत दिएर बचाएकी छन् । कुशे गाँउपालिका १ कि २१ बर्षिया मायादेवी शाहीलाई शिक्षक थापाले रक्तदान गरेर बचाएकी हुन् ।

डाक्टर समिक्षा मल्लका अनुसार सुत्केरी शाहीको शरीरमा ६ प्वाइन्ट मात्र रगत थियो । शरीरमा रगत कम भएर समस्यामा परेकी उनलाई डाक्टरले रगत चढाउनुपर्ने बताएका थिए । जिल्ला अस्पतालमा ब्लड बैक छैन । ब्लड बैक नहुँदा विरामीलाई समस्या पर्दै आएको छ । श्रीमान पदम सिंहले सवैतिर गुहार मागे पनि रगत दिन कोही तयार भएनन् । जिल्ला अस्पताल र स्वयमसेवी रक्तदाता समाजको पहलमा भेरी नगरपालिका ३ ठाँटी निवासी थापाले रगत दिन तयार भएपछि विरामीलाई निकै राहत भएको हो । कसैको ज्यान बच्छ भने मैले किन सहयोग नगर्ने भनेर रक्तदान गरेकी हुँ थापाले भनिन्–‘मैले पहिलो पटक रक्तदान गरेकी हुँ । कस्तो होला ? के होला ? भनेर डर लागिरहेको थियो । मेरो डरलाई विरामी बचाउने कुराले जित्यो र मैले एक प्वाइन्ट रगत दिएँ । सहयोग गर्न पाएकोमा खुसी लागेको छ ।’

चिकित्सकको सहयोगमा आइतवार छोरीलाई जन्म दिएकी शाहीको शरीरमा रगतको मात्रा कम भएपछि समस्या देखिएको डा.मल्लको भनाई छ । एक प्वाइन्ट रगत दिएपछि अहिले सुत्केरीको अवस्था सुधारोन्मुख रहेको मल्लले बताईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad