April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

भेरीका विद्यालय नौ महिना पछि आगामी मंसिर १४ देखी खुल्ने

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको भेरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु आगामी मंसिर १४ गते आइतवार देखि संचालन हुने भएका छन् । कोभिड १९ महामारीको त्रासका कारण चैत्र देखि बन्द रहेका विद्यालयहरु नौ महिना पछि पहिलो पटक खुल्न थालेका हुन् ।

भेरी नगरपालिकाको नगर शिक्षा समितिले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ को मापदण्ड भित्र रही पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार आगामी मंसिर १४ गते देखि नियमित पठनपाठन गर्न निर्देशन दिएको छ । लामो समय पछि पठन पाठन शुरु गर्ने निर्णयले अभिभावक र विद्यार्थी उत्साहित भएका छन् ।

कोरोना महामारीको प्रभाव विस्तारै हट्दै गएको र लामो समय देखि पठनपाठन नहुँदा शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएकाले विद्यालय खोल्ने निर्णय गरिएको भेरी नगर शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनले बताए । कुशेमा दशै अघि नै विद्यालय संचालनमा आईसकेका छन् भने अन्य पालिकाले पनि तत्काल विद्यालय संचालन गर्ने निर्णय गरिसकेका छन् । कोरोना महामारीको प्रभाव कायमै रहेकाले सचेतता अपनाएर पठनपाठन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad