जाजरकोट अस्पताल एम्बुलेन्स विहिन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

विग्रिएको दुई बर्ष सम्म पनि मर्मत नगरिएपछि जाजरकोट अस्पताल एम्बुलेन्स विहिन भएको छ । दुई बर्षदेखि नेपालगञ्जको कल्लु ग्यारेजमा एम्बुलेन्स थन्किएपछि जिल्ला अस्पताल एम्बुलेन्स बिहिन भएको हो ।

दुई वटा टायर फेर्न र मोविल ईन्जिन परिवर्तन गर्नका लागि दुई बर्ष पहिले एम्बुन्सलाई ग्यारेज लगिएको भएपनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेश कुमार शाहले जानकारी दिएका छन् । एम्बुलेन्स नहुँदा विरामीलाई अस्पताल सम्म लैजान समस्या भएको छ । एम्बुलेन्स संचालनमा नरहेपनि चालकले भने नियमित तलब भत्ता खाईरहेका छन् । रेडक्रसको एम्बुलेन्स पनि विग्रिएपछि जाजरकोट सदरमुकाममा एउटा पनि एम्बुलेन्स छैन । कुमारी ट्रष्टको एम्बुलेन्स पनि विग्रिएर थन्किएको छ । जिल्ला नै एम्बुलेन्स विहिन हुँदा पनि मर्मत गरि संचालन गर्न तर्फ सम्बन्धित निकायको ध्यान नजानु दुखद पक्ष रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । एम्बुलेन्स नहुँदा स्थानियले स्टेचर र डोकोको साहारा लिने गरेका छन् भने जिल्ला बाहिर लैजान सार्वजनिक तथा पब्लिक गाडी रिजर्भ गरेर विरामी लिनु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

एक लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर संचालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिएका छन् । तर अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरेपनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकोले प्रदेश स्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाईएको बताईन । प्रदेश मन्त्रालयले विग्रिएको एम्बुलेन्स मर्मत गरेर चलाए अर्को एम्बुलेन्स नदिने भएको हुदा मर्मत नगरिएको खुलासा गरिन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad