December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

भूकम्पपीडितलाई नेविसंघद्वारा १६ लाख बराबरका राहत सामग्री सहयोग

नेपाल विद्यार्थी संघले जाजरकोटमा भत्किएका २ विद्यालय बनाउने

राजेन्द्र कार्की । जाजरकोट
नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूलाई १६ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । नेविसंघले बिहीबार जाजरकोट सदरमुकाम खलंगामै पत्रकार सम्मेलन गरेर राहत वितरण, उद्धार र पुनःस्थापनाका विषयमा सरकारको थप सक्रियता र समन्वय आवश्यक देखिएको ध्यानाकर्षण गराउँदै आफ्नो सहयोगबारे घोषणा गरेको हो ।
नेविसंघले भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी ३९८ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको भन्दै तिहारपछि विद्यालय सञ्चालन हुने बेलासम्म विद्यालय सञ्चालनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले तिहारपछि विद्यालय सञ्चालन हुने बेलासम्म सबै विद्यालयहरूलाई अस्थायी रुपमा पनि कक्षा सञ्चालन योग्य बनाइनुपर्ने बताए । उनले नेविसंघले भेरी नगरपालिका–३ स्थित हनुमान प्राथमिक विद्यालय र नलगाड नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण पुनर्निर्माण गर्ने घोषणा समेत गरे । केही दिनमा उक्त विद्यालयको स्टमेट तयार गरी काम थालिने उनले बताए ।

‘भूकम्पका कारण अभिभावक र घरविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरूमाझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन भूमिका खेल्नुपर्ने आवश्यकता छ । उनीहरूको आगामी जीवन प्रभावित हुनबाट जोगाउनुपर्नेछ,’ शेर्पाले भने, ‘यसमा पनि हामी सरकारलाई सघाउनेछौं ।’
नेविसंघले अस्पतालमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराएको र २४ घन्टे रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । आइतबार साँझसम्म ६२ जनाले रक्तदान गरेका छन् ।

नेविसंघले घाइतेहरूको उपचारमा सहयोग गर्न डा नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको समूह परिचालन गरेको छ । यसबाहेक नेविसंघले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ७ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको नेविसंघ जाजरकोटका अध्यक्ष अनिश कार्कीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad