June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

पाँच नातीनातिना र बुहारी गुमाएकी भुकम्प पिडित भन्छिन् ‘बरु म अभागीलाई कालले लिए हुन्थ्यो’

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
भुकम्पले घर मात्र भत्केको छैन । मन पनि भत्किएको छ । सवै सर्वोश्व गुम्यो । भुकम्पमा पाँच नातीनातिना र बुहारी गुमाएर बाँचेकी भेरी नगरपालिका १ कोलचौरकी ५७ बर्षिया हस्तकुमारी कामीलाई बाँच्न पटक्कै मन छैन उनले भनिन ‘बरु मै अभागीलाई कालले लिएको भए हुन्थ्यो । भर्खरका लाउ लाउ खाउ खाउ भन्ने उमेरका पाँच नातीनातिना र बुहारी लग्यो ।’ १५ बर्ष अघि नै श्रीमान गुमाएकी हस्तकुमारीको आँखा अझै ओभाएका छैनन् । न खान मन लाग्छ न निन्द्रा नै । उनी टोलाईरहन्छिन् । शुक्रवार मध्यरातको त्यो घटना घरिघरी आँखा वरीपरि आईरहन्छ ।

उनले भनिन–‘खाना खाएर जेठी बुहारी र उनका तीन छोराछोरी एउटा कोठामा सुते । माइलो छोराको दुई छोरी र कान्छि छोरीका दुई छोराछोरी अनि म अर्को कोठामा सुत्यौ । गहिरो निन्द्रामा परेको बेला मध्यरातमा आएको भुकम्पले हामी सवैलाई पुरेछ । मेरो आधा शरिर चेपिएको रहेछ । मैले केही थाह पाईन । नातीनातिना कराएको सुनेपछि छिमेकीहरु आएर हाम्रो उद्धार गरेछन् । पुरिएको कोठाबाट निकालेपछि बल्ल मेरो होस आयो ।’ उनको माइलो छोरा मोहनको ८ बर्षकी छोरी रविनालाई मात्र केही भएन । उनी कराएपछि गाउँलेहरु आए । छोरीको छोरा १२ बर्षिय विक्रम तिरुवा र हस्तकुमारी लाई घाइते अवस्थामा निकालेर अस्पताल पठाए । अरुलाई धेरै पुरेकोले निकाल्न नसेपछि प्रहरीलाई खवर गरयौ । केही समय पछि प्रहरी आयो । प्रहरीले पनि नसकेपछि शसस्त्र र नेपाली सेना बोलाएर राती ३ बजेतिर ६ जनालाई मृत अवस्थामा बाहिर निकालेको स्थानिय प्रेम विश्वकर्माले बताए । जेठा छोरा उदय रोजगारीका लागि विदेश गएका छन् । भुकम्पमा हस्तकुमारीकी ३० बर्षकी बुहारी जानुका, नातिनी १३ बर्षकी सर्मिला, ९ बर्षकी अन्जली र ४ बर्षको नाती उज्ज्वलको ज्यान गयो । माइलो छोरा मोहन विकको ११ बर्षको छोरी निरुताको पनि ज्यान गयो । छोरी लालमतिको छोरी गृष्म तिरुवाको पनि ज्यान गयो । एकै घरका ति ६ जनाको सव अहिले पनि जिल्ला अस्पतालमा राखिएको छ । जेठो छोरा मलेशियाबाट आईपुगेका छैनन् । उनले आफु नआउँदा सम्म सव नबुझ्नु भनेकाले सवै लास जिल्ला अस्पतालमै छन् । कान्छी छोरी जुवाई पनि कमाई गर्न भारत गएका छन् । माईलो छोरा अर्को गाँउ गएका कारण उनी उक्त घटनाबाट बचे । अहिले त्यो घरमा बुढी आमा, माईलो छोरा र उनकै एक छोरी छन् । वैदेशिक रोजगारमा गएको वेला श्रीमतिले दोस्रो विवाह गरेपछि दुई छोरी पालेर बसेका मोहनमा पनि अर्को बज्रपात परेको छ । एक छोरी गुमाएका छन् भने एक भान्जी, भाउजु र तीन भतिज भतिजा गुमाउन पुगेका छन् । उनी भन्छन् घाईते आमालाई अस्पतालबाट आइतवार नै घरमा लिएर आए । घर भत्किएर बस्न लायक छैन । अहिले सम्म राहत पनि पाएका छैनौं । तरकारी खेतीका लागि ल्याएको प्लाटिक मुनी बसेका छौ । खाने गास पनि छैन । भएको सवै घरभित्रै पुरियो । छिमेकीले दिएको खाएर गुजरा चलाईरहेका छौ । कतिदिन यसरी चल्ले हो उनले भक्कानिदै भने ‘विदेश गएका दाईलाई कुरेर बसेका छौ । दैव पनि हामी जस्तै गरीवलाई लाग्दो रहेछ ।’


भेरी नगरपालिका १ रावतगाँउकी ३५ बर्षिया उर्मिला रावत पनि त्यही घटना सम्झेर वेला वेला झस्किन्छिन् भक्कानिन्छिन । दुई छोराहरु गुमाउनु पर्दाको पिडा एकातिर छ भने अर्कोतिर उनी अहिले घरवार विहिन । साहारा विहिन भएकी छन् । सडकमै रात विताउने गरेकी छन् । उनका दुई छोरा ९ बर्षिय सुदानको घरभित्रै च्यापिएर ज्यान गयो । उर्मिला आफु पनि च्यापिईन । छोरा बचाउन सकिनन् । गहिरो निन्दामा थियौ एक्कासी के पड्केको जस्तो आवाज आयो उनले भनिन–‘त्यसपछि घर गरल्यामगुल्म ढल्यो । हामी सवै पुरियौ । त्यसपछि के भयो केही थाह पाईन । एकै पटक अस्पतालको वेडमा भएको थाह पाए । छोराहरु खोजे वेहोस होले भनेर होला सायद । शुरुमा उपचार हुदैछ भनेर मलाई झुक्याए । तर आखिर घरमै पुरिएर मृत्यु भैसकेको रहेछ म अभागी के हेरेर बाँचौ ।’ दुःखजिलो गरेर हुर्काएका छोराहरु लिने पापी दैवले मलाई किन बचाईस गहभरी आँसु झादै उनले भनिन न बस्ने वास छ न खाने गास छ । साहुऋण गरेर विदेश गएका श्रीमान फर्कन सकेका छैनन् । कम्पनीले आउन दिएको छैन । शोकको बेला श्रीमान समेत घरमा नहुँदा उनलाई थप सास्ती भैरहेको छ । दुघर्टनामा बाँचेकी १३ बर्षिय छोरी समिक्षा र बहिनी साथमा छन् । बहिनी चन्द्रकला परियारका ७ बर्षको छोरा विनय र ५ बर्षकी सम्झानाको मृत्यु भयो । ठुली आमाको घर सुत्न गएका दुवै जना छोराछोरी घटनामा परे । चन्द्रकला भने घट्ट गएकी भएर बाँचिन । रुकुम पश्चिम ज्यामिरकोटबाट पाहुना आएका उर्मिलाका मामा शंकर मल्ल र काकी पदमी मल्ल पनि घटनामा परि ज्यान गुमाउन पुगे । घरका चार, बहिनीका दुई छोराछोरी र पाहुना आएका तीन गरि ९ जना बसेका थिए घर भत्किदा ६ जनाको मृत्यु भयो । एक जना पाहुना, उर्मिला र उनकी छोरी मात्र बाँच्न सफल भए । उनी अहिले पनि छोराहरुकै यादमा तड्पिरहेकी छन् । उनलाई त्यही घटनाले वारम्बार पछ्याईरहन्छ । उनले भनिन श्रीमान विदेश जाँदा लिएको ऋण तिर्न सकेका छैनौ । कम्पनीलाई यता आउनलाई २ हजार रिन्गेट माग्छ रे । म साहारा विहिन छु । घर पुरै भत्किसक्यो कहाँ बसुँ , कसरी बाँचु ?उनले भक्कानिदै भनिन ।


सोही गाँउकी टीका विक दुई महिने सुत्केरी हुन् । उनी बसेको घर पनि भुकम्पले भत्काएपछि आमा छोरा दुवै परिए । छोरालाई काखीमा च्यापेर राखिन । केही समय पछि छिमेकीले उद्धार गरे । ७० बर्षकी हजुर आमा सुन्तली कामी पुरिनु भएछ । उहाँलाई निकाल्न सकेनन् । पछि मृत्यु नै भैसकेको रहेछ । श्रीमान आफु, सासु ससुरा सवै घाइते भयौ । केही समय पछि एम्बुलेन्स आएर हामीलाई अस्पताल लियो । अहिले घर फर्कीसकेका छौ तर बास त्रिपाल मुनी छ । कपडाहरु सवै घरभित्रै पुरिएका छन् । त्यही घटनाले झस्काई रहन्छ । डरले निन्दा लाग्दैन उनले भनिन ‘चिसो निकै छ । सुत्केरी मान्छे कसरी चिसोबाट आफु बच्ने र छोरालाई जोगाउने भन्ने चिन्ता लागिरहन्छ ।’
भुकम्पले भेरी नगरपालिका १ मा मात्र ३१ जनाको ज्यान गएको छ । ४५ जना घाईते भएका छन् । करीब तीन सय घर भत्किएका छन् । वडा नम्बर १ का रावतगाँउ, कोलचौर, पिपे, रिम्न, मैदे, जुरेली लगायतका गाँउका पिडितहरु अहिले पनि खुल्ला ठाँउ अभावले सडकमै सुतिरहेका छन् । पिडितले भत्किएका घर भित्रका सामानहरु बाहिर निकाल्न सकेका छैनन् । केही थान त्रिपाल, कम्बल र म्याट आईतवार वितरण गरिएको छ । कतिघरमा क्षतिभयो एकिन हुन नसक्दा राहत वितरण प्रभावकारी हुन सकेको छैन । धेरै पिडित परिवारले राहत पाउन सकेका छैनन् । भुकम्पको पिडाले गाँउहरु शोकमा डुवेका छन् ।
जाजरकोटवासी त्रासमै, झस्किरहन्छन् पिडित
फेरी पनि भुकम्प जान सक्ने डरले जाजरकोटवासी त्रसित छन् । भुकम्प पछि पराकम्पन गैरहने र चर्किएका घर जतिवेला पनि धल्न सक्ने भएकोले जिल्लावासी त्रसित छन् । मानिसहरु सामान्य चर्किएका घरमा पनि पस्न डराईरहेका छन् । पुरिएका घरका समान निकाल्न सकिरहेका छैनन् । खण्डहर जस्तै बनेको सदरमुकाम खलंगाको थाप्ले क्षेत्रमा धेरै मालसमान भत्किएका घरभित्रै पुरिएको छ । जतिवेला पनि हल्लिएको जस्तो भैरहन्छ भेरी नगरपालिका ३ का किरण भण्डारीले त्रिपालमुनी रात विताउन बाध्य भएको बताए । भएको घर भत्किएपछि हामी सडकमा आएका छौ कहिले सम्म यसरी बस्नु पर्ने हो उनले चिन्ता प्रकट गरे । वेला बेला त्यही घटनाले झस्किाईरहने उनले बताए । भुकम्पको पिडा धेरै जसो महिला, जेष्ठ नागरिक, बालबालिका, गर्भवति र अपांगलाई परेको छ । उनीहरुलाई खान बस्न र सुत्नको समस्या परिरहेको छ । भेरी नगरपालिका ३ थाप्लेकी प्रकृति शाह भुकम्पमा पनि घाईते भएकी छन् । उनले सपनामा पनि भुकम्प आएको देखिेन गरेको बताईन । बेलावेला टोलाइरहने उनले आँखै अगाडी धेरैको ज्यान गएको देखिन जसले गर्दा पनि उनलाई वेला बेला त्यही घटनाले झस्काईरहन्छ । बालबालिकाहरुमा त्रास बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यस्तो वेला मनोसामाजिक परामर्शको आवश्यकता पर्ने पर्ने जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डा. समीक्षा मल्लले बताईन ।
राहत वितरण प्रभावकारी नहुँदा पिडित परिवारले अझै सकेनन् पाउन
जाजरकोटमा भूकम्प पीडितले राहत नपाएको गुनासो गरेका छन् । रेडक्रस लगायत विभिन्न निकायाबाट प्राप्त राहत सामग्री सम्बन्धित निकाएको ढिलासुस्तीले गर्दा पीडितले राहत पाउन नसकेका हुन् ।
अधिकाँश घर भत्किका र चर्किएका कारण पिडितहरु घर छोडेर खुल्ला आकाशमुनि बस्न बाध्य भएको नलगाड नगरपालिका २ का लव वलीले बताए । बताए । उनका अनुसार आइतबारसम्म पनि पीडितले त्रिपाल लगायतका समान नपाउँदा समस्यामा परेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । सहयोगी निकायले जिल्ला विपद ब्यवस्थापन समितिलाई राहत सामग्री बुझाईरहेको भएपनि पिडित सम्म पुग्न सकेको छैन । पीडित परिवारको तथ्यांक सकलन नहुँदा राहत वितरणमा अलमल भएको हो । तथ्यांक संकलन कार्य भैरहेको छ ।
संकलित राहत सामग्री सम्बन्धित पालिकामार्फत बुझाउने काम भैरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । पालिकाले राहत वितरणमा तदरुपता नदेखाउँदा ढिलाइ भएको उनले बताए । सोमवार सम्म सवै पिडित सम्म रात पुग्ने उनले दावी गरे । भूकम्पमा परी जाजरकोटमा मात्र १०५ जनाको मृत्यु र दुई सय बढी घाइते भएका छन् । तीन हजारभन्दा बढी घर भत्किएका छ्न् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad