April 20 - 2024, Saturday७ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा लम्पी स्किन रोगले २२७ पशु चौपाया मरे

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा जिल्लाभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । प्रकोपबाट जिल्लाभरमा दुई साता यता दुई सय २७ वटा पशु चौपाया मरेका छन् । पशुचौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा लाग्ने, सिगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने र अन्तमा मृत्यु हुने गरेको छ । खेती भित्र्याउने र लगाउने बेला पशुबस्तु विरामी परेपछि स्थानिय किसान चिन्तित बनेका छन् । सरकारी निकायबाट रोग नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको किसानको गुनासो छ ।

सात वटै पालिकाको पशु स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभर ७ हजार २ सय २८ वटा पशुचौपाया संक्रमति छन् ।
जसमध्ये जुनीचाँदे गाउँपालिकामा ६३ वटा पशुचौपाया मरेका छन् । गाउँपालिकाका पशु शाखा प्रमुख लालबहादुर विकले दिएको जानकारी अनुसार जुनीचाँदेमा हाल २ हजार २ सय पशुचौपाया संक्रमित भएका छन् ।
भेरी नगरपालिकामा ६० वटा पशुचौपायाको मृत्यु भएको छ । रोगबाट १ सय ८० वटा पशुचौपायामा संक्रमण फैलिएको पशु शाखा प्रमुख रत्नबहादुर डाँगीले जानकारी दिए ।
लम्पी स्किन रोगको प्रकोपबाट बारेकोट गाउँपालिमा ११ ओटा पशुचौपाया मरेका छन् । रोगबाट १ ओटा भैसी र १० ओटा गोरुको ज्यान गएको पशु सेवा शाखा बारेकोटका भिमबहादुर चलाउनेले जानकारी दिए । त्यहाँ १ सय २१ गाई गोरु र ६ ओटा भैसी संक्रमण रहेका छन् ।
त्यस्तै प्रकोपबाट शिवालय गाउँपालिकामा २० ओटा पशुचौपाया मरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बाठाले बताए । त्यहाँ संख्यामा पशुमा संक्रमण भएको भन्ने एकीन तथ्याक छैन । वडा नम्बर ४ र ५ मा धेरै प्रकोप फैलिएको छ ।
नलगाड नगरपालिकामा ९ ओटा पशुचौपाया मरेका पशु शाखा प्रमुख भेषजंग शाहले जानकारी दिए । छेडागाड नगरपालिकामा ५९ वटा पशुचौपाया मरेका छन् । नगरपालिका पशु स्वास्थ्य प्राविधिक बासुदेव खत्रीका अनुसार पालिकाभर ४ हजार २ सय ३७ वटा पशुचौपाया संक्रमित छन् । संक्रमितमध्ये ६ सय १५ वटा पशुचौपायामा सुधार आएको छ भने ३ हजार ३७ वटाको उपचार जारी छ ।
कुशे गाउँपालिकामा यो रोगको संक्रमण फैलिएको छ । त्यहाँ रोगबाट ५ ओटा गोरु मरेको गाउँपालिका पशु शाखामा कार्यरत तुलबहादुर डाँगीले बताए । त्यहाँ ८० ओटा गाईगोरु र १० ओटा भैसी संक्रमित भएका छन् ।
खेतीपाती गर्ने समय नजिकिदै गर्दा पशुचौपाया लम्पी स्किन रोगबाट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छ ।
यो रोग सुरुमा भेरी नगरपालिकामा देखिएको थियो । भेरीबाट सुरु भएको रोग जिल्लाका साथै स्थानीय तहमा महामारीका रूपमा फैलिरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख कलम बहादुर महताराले बताए । रोगको प्रकोप बढ्दै गएकोले यसको नियन्त्रण गर्नेको लागि विभिन्न पालिकाका प्राविधिकहरू परिचालन गरिएको छ ।

यो रोग लागेपछि पशुचौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा र सिैगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, बाँझोपन हुने र गर्भ तुहिने पशु चिकित्सक रत्नबहादुर डाँगीले बताए ।
प्रकोपबाट भेरी र जुनीचाँदे,छेडामा प्रभावित बनेको छन् ।

गाउँ–गाउँमा पशु प्राविधिक परिचालन

फैलियो लम्पी स्किन रोगको प्रकोप फैलिएपछि गाउँगाउँमा पशुचिकित्सक र पशु प्राविधिकहरु खटाइएको छ । महामारीकै रुपमा फैलिएको रोगलाई निन्त्रण गर्नका लागि गाउँगाउँमा पशु चिकित्सक परिचालन गरिएको हो । पशु चिकित्सकहरुले धेरै प्रभावित क्षेत्रमा पुगेर संक्रमित पशुचौपायाको उचार गर्न थालेका छन् । संक्रमणबाट पशुचौपायालाई बचाउनका लागि स्थानीय पालिकाहरुले गाउँगाउँमा शिविर नै राखेका छन् ।
जसमध्ये बारेकोट गाउँपालिकाले हालसम्म ६० हजारको औषधी खरिद गरी परिचालन गरेको छ । त्यहाँ आजसम्म थप औषधि आइतवार व्यवस्थापन गरिएको छ । शिवालय गाउँपालिकाले सबै वडामा पशु प्राविधिक परिचालन गरेको पालिकाले जनाएको छ । ९ ओटै पशु प्राविधिकहरु खटाइएको छ । नलगाड नगरपालिका र छेडागाड नगरपालिकाले प्रत्येक औषधि सहित पशु प्राविधिहरु खटाएको छ ।
तर जुनीचाँदे गाउँपालिकाले प्राविधिक परिचालन गरेपनि औषधी गरिएको छैन । कसरी रोग नियन्त्रण गर्ने भनेर बैठक तथा छलफल नै चल्न सकेको छैन । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहँुदा कार्यपालिका बैठक नै बस्न नसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । भेरी नगरपालिकाले सबै वडामा औषधीसहित प्राविधिक परिचालन गरेको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad