April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा स्थानिय सरकार सक्रिय

राजेन्द्र कार्की । जाजरकोट

विश्वभर महामारीकोे रुपमा फैलिएको कोरोना भाइरसको महामारी जाजरकोटमा फैलन नदिन यहाँका स्थानिय सरकार सक्रिय भएका छन् । उनीहरुले हालै जिल्लामा स्वदेश तथा विदेशबाट फर्किएकाको लगत संकलन गरि होम क्वारेन्टाइनमा राख्ने, गाँउ गाँउमा प्रतिकार समुह गठन गर्ने, विपद् ब्यवस्थापन कोष स्थापना, कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने, विपन्न बर्गलाई खाद्यन्न उपलब्ध गराउने, जनचेतना फैलाउने लगायतका कार्यमा सक्रियता देखाईरहेका छन् । सवैभन्दा नजिकको सरकारका रुपमा रहेका स्थानिय सरकारले आफ्नो पालिकामा कोरोना भित्रिन नदिन सक्रिय भएर लागेका छन् । भारत र अन्य मुलुकबाट जिल्लामा केही दिन अघि आएका मानिसलाई निगरानीमा राख्ने काम गरिरहेको पालिकाले जनाएका छन् ।

भेरी नगरपालिकाले नगरभित्रका ५६ टोलमा टोल स्तरीय छरितो प्रतिकार कार्यदल गठन गरेको छ । भारत लगायतका देशबाट मानिसहरु जिल्लामा भित्रिरहेको र उनीहरुबाट कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेतनाका लागी टोल टोलमा प्रतिकार कार्यदल गठन गरिएको हो । कार्यदलले प्रत्येक दिन गाँउ,टोलमा स्वदेश तथा विदेशबाट आएकाहरुलाई निगरानी गर्ने, होम क्वारेन्टाइनमा बस्न लगाउने र तथ्यांक संकलन गरि प्रहरी, स्थानिय प्रशासन र नगरपालिकामा पठाउने छ । कार्यदलमा शिक्षक, बुद्धिजीवी, टोलसुधार समिति र स्वास्थ्यकर्मीलाई समेटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए ।

जुनीचाँदे गाँउपालिकाले घरघरमा निशुल्क सावुन वितरण गरेको छ । बारेकोट गाँउपालिकाले २० लाख र नलगाडले २१ लाखको कोरोना रोकथाम तथा नियन्त्रणका लागी विपद ब्यवस्थापन कोष स्थापना गरेको छ । नलगाड नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई प्रति परिवार एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्न आग्रह गर्ने समेत निर्णय भएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

बारेकोटले भाइरस संक्रमण भएको बिरामी पहिचान भएमा बिरामीको उद्धार तथा औषधी खर्च, संक्रमण नियन्त्रणको काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कार्यालय सहयोगी समेत गरि पालिकाबाट ५ जना र वडाबाट १ जनालाई दैनिक ५० प्रतिशत प्रोत्सान भत्ता उपलब्ध गराउने निर्णय गरिएकोे छ ।

संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा खटिएका अध्यक्ष र वडा सदस्यहरुलाई पनि दैनिक ५ सय रुपैया भत्ता उपलब्ध गराईने भएको छ । जनचेतनामुलक कार्यक्रम संचालन गर्न, प्रचार–प्रसार तथा माईकिङ्ग लगायतका कामको लागि बैठकले प्रति वडालाई ५० हजारका दरले चालु खर्चमा समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । चालु खर्चमा समावेश गरिएको बजेटलाई वडा समितिले लकडाउनको समयमा जिल्ला बाहिर रहेका नागरिकहरुको उद्धार गर्नुपरेमा, ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका नागरिकहरुलाई लकडाउनको समयमा भोकै बस्नुपर्ने स्थिति सृजना भएका दाल, चामल, नुन, तेलको व्यवस्था गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको अध्यक्ष शाहले बताए ।
नलगाड नगरपालिकाले स्वास्थ्यकर्मीलाई तलबको थप ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड—१९) विरुद्धको अभियानमा नलगाडका नागरिकका लागी रातदिन खटिने स्वास्थ्यकर्मीलाई लकडाउन अवधीभर तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य संस्थामा काम गर्ने प्रत्येक स्वास्थ्यकर्मीलाई मासिक तीन हजार जोखिम भत्ता र संक्रमण नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई दैनिक दुई सय ५० रुपैया भत्ता दिने निर्णय गरिएको उनले बताए । कोरोना रोकथामको लागी खटिने जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न पाँच लाखको जीवन विमा गर्ने, यस अवधीमा विरामी हुने राष्ट्रसेवकलाई ५० हजार रुपैया सम्मको औषधोपचार गर्ने निर्णय गरिएको छ । त्यस्तै कुशे, शिवालय र नलगाड नगरपालिकाले पनि कोरोना विरुद्धको अभियानलाई शसक्त ढंगले अघि बढाएको जनाएका छन् । कुशेमा विपन्नलाई खाद्यन्न वितरण गरिएको छ भने घर घरमा साबुन वितरण गरिएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । स्वास्थ्यकर्मीलाई हाइ अलर्टमा राखिएको छ । भारतबाट आएकालाई होम क्वारेन्टाइनमा राखिएको छ उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad