April 30 - 2024, Tuesday१८ बैशाख २०८१, मंगलवार

छेडागाडमा कृषक सँग मेयर कार्यक्रम

राजेन्द्र कार्की । जाजरकोट

छेडागाड नगरपालिकाले किसान सँग मेयर कार्यक्रम संचालन गर्ने भएको छ । कोरोना भाईरस महामारी सँग जुध्ने गरि आगामी आर्थिक बर्षको बजेटमा यो कार्यक्रम समेटिएको हो । पुराना योजनालाई निरन्तरता दिदै कोरोना महामारीबाट नगरवासीलाई सुरक्षित गदै उत्पादनमा जोड दिने बजेटले निती लिएको नगरप्रमुख लालबहादुर महताराले बताए ।

कृषकसँग मेयर कार्यक्रम सञ्चालन गरी कृषकलाई परामर्श दिने र किसान सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बजेटको मुख्य लक्ष्य छ । छेडागाड नगरपालिकाकामा रहेका झण्डै ७ हजार घरधुरीमध्ये करिब ३ हजार घरपरिवारका सदस्यहरु कुनै न कुनै रुपमा मजदूरीको लागि भारतमा जाने गरेका छन् । आगामी आर्थिक वर्षमा भारत लगायत तेस्रो मुलुकमा गएर मजदूरी गर्न जान सक्ने देखिँदैन । त्यसैले स्वरोजगारीका कार्यक्रम सञ्चालन गरी नगरबासीको जीविकोपार्जनको लागि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने नीति लिइने बजेटमा उल्लेख गरिएको छ । यस अन्तरगत पकेट क्षेत्र सञ्चालन, बाँझो, ऐलानी, पर्ती जग्गामा खेतिपाति लगाउन प्रोत्साहन गरिने छ । कृषकलाई व्यवसायिक पशुपालन तथा प्रांगारिक मल उत्पादनमा समेत प्रोत्साहन गरिने छ । दूध उत्पादनलाई बृद्धि गर्न आवश्यक बजेट विनियोजन गरिनेछ। आगामी वर्ष कृषि र कृषि उपजको उत्पादनमा उल्लेख्य बृद्धि गर्न संस्थागत र कार्यक्रमगत व्यवस्था गरिने नगरप्रमुख महताराले बताए ।

कृषि र पशुसेवा अध्ययन गरेका स्वयम् सेवक परिचालन गरी उत्पादकत्व बृद्धि गर्न एक वडा एक प्राविधिक जनशक्तिको भर्ना गरी काममा लगाइने बजेटमा उल्लेख छ । व्यवसायिक बाख्रापालनमा गर्न चाहने कृषि उद्यमी, कृषि फर्म र समूहहरुलाई लागत साझेदारीमा आधारित कार्यक्रम तर्जुमा गरिनेछ । खाद्य सम्प्रभूताको हक सुनिश्चित गर्न परम्परागत र रैथाने बालीको संरक्षण गर्ने नीति लिइनेछ । मध्य पहाडी क्षेत्रका किसानको जीविकोपार्जन सुधार गर्न दुग्ध विकास कार्यक्रम सञ्चालन गरिनेछ । उत्पादन पकेट क्षेत्र घोषणा गरी एक वडा एक बाली उत्पादन कार्यक्रम संचालन गरिने कुरा बजेटमा समेटिएको छ । साथै प्रदेश सरकारसँगको साझेदारीमा पायक पर्ने ठाउँमा हाटबजार तथा सङ्कलन केन्द्र निर्माण तथा सञ्चालन गर्ने व्यवस्था गरिनेछ । कृषि उद्यमी तथा फर्म, समूहहरुलाई औजार तथा बिउबिजनमा सहुलियत प्रदान गरिनेछ । प्रदेश सरकारसँगको साझेदारीमा कृषि बाली बीमा तथा पशु बीमा कार्यक्रम सञ्चालन गरिने छ । उत्पादन बढाउन र प्रोत्सानका लागी नगरपालिकामा उत्कृष्ट कृषक घोषणा गरी पुरस्कृत गरिनेछ । युवा कृषि उद्यमीको विकास गरी संचालन गर्न 4H Network सँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

छेडागाड नगरपालिका जाजरकोटले आर्थिक वर्ष २०७७ /७८ लागि करीब ६४ करोडको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका नगर उपप्रमुख सरिता वलीले आगमी आर्थिक वर्षका लागि कुल ६३ करोड ८४ लाख २३ हजारको बजेट प्रस्तुत गरेकी हुन । नगरप्रमुख लाल बहादुर महताराले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कोभिड १९ले विश्वलाई नै आक्रान्त बनाउँदा राष्ट्रहरुमा आन्तरिक तथा बाह्य रुपमा बन्दाबन्दीको घोषणा गर्नुपर्ने परिस्थिति उत्पन्न भई हाम्रो मुलुकमा समेत नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेकोले चालु आ.व. का अधिकांश पूर्वाधार निर्माणका योजनाहरु प्रभावित भएका छन् । जसले गर्दा विकासको प्रगति प्रतिशत अत्यन्त न्यून रहेको छ। त्यसैले चालु आ.व.मा सम्झौता भई कार्यान्वयनमा रहेका वित्तीय समानीकरण अनुदान अन्तर्गतका पूर्वाधार निर्माणका सम्पूर्ण आयोजनाहरुलाई क्रमागत रुपमा आगामी आ.व.मा समेत सञ्चालन हुने गरी निरन्तरता दिइनेछ।

साथै, नोबेल कोरोना भाइरसबाट प्रभावित भएका यस नगरपालिकाका ४ हजार दुई सय ५९ विपन्न घरपरिवारलाई राहत प्याकेज अन्तर्गत राहत वितरण गरिएको छ। उक्त कार्यका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगर कार्यपालिकाले रकमान्तर गरेका, संघीय सरकारबाट प्राप्त र प्रदेश सरकारबाट प्राप्त गरी ठूलो रकम खर्च भएको छ ।
मुलुक नै मानव जीवनलाई चुनौती दिने यो महामारी विरुद्धको लडाईमा होमिएको अवस्थामा हाम्रो नगरपालिकाले समेत महामारीको सामना गर्न आवश्यक स्वास्थ्य सुरक्षा सामग्री, औषधिको प्रवन्ध, क्वारेन्टाइन व्यवस्थापन गर्ने, परीक्षण किट लगायतका उपकरण र स्वयम् सेवक लागायतको जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर बजेट व्यवस्था गरिनेछ ।

त्यसैगरी, स्वच्छ र स्वस्थ नागरिक, सफा सुन्दर नगरपालिका भन्ने मूल ध्येयका साथ जनताको जीवनसँग जोडिएको आधारभूत स्वास्थ्य सेवालाई भरपर्दो, जनमुखी र प्रभावकारी बनाइनेछ । आगामी आर्थिक वर्षमा सबै वडाबाट स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाइनेछ । महामारी तथा विपद्को सामना गर्न स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने नीति लिइनेछ।

नगरपालिकाको सबै वडामा स्वास्थ्य केन्द्रको साथै स्वास्थ्य इकाईहरु स्थापना गरी क्रमशः संचालन तथा विस्तार गरिनेछ । स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयम् सेविकाहरुको योगदान र भूमिकाको उच्च कदर गर्दै प्रोत्साहन स्वरुप वार्षिक रु. ६,००० (छ हजार) का दरले आवश्यक बजेटको व्यवस्था मिलाइनेछ । आधारभूत स्वास्थ्यमा सबैको सहज पहुँच र सुरक्षित मातृत्व शिशु प्रजनन् स्वास्थ्यको सुनिश्चितताको लागि विशेष पहल गरिनेछ । सुनौलो हजार दिनका आमाहरुलाई आयोडिनयुक्त नून वितरणको लागि प्रत्येक स्वास्थ्य चौकीहरुमा आवश्यक व्यवस्था मिलाइनेछ।

पशुपन्छीबाट सर्न सक्ने रोगहरूको रोकथाम तथा नियन्त्रण कार्यलाई लाई प्रभावकारी बनाइनेछ । प्रत्येक वडामा रहेका आमा समूहहरुको लागि सामुदायिक भवनहरु निर्माण गरिनेछ । नगरपालिका क्षेत्रमा रहेका प्रत्येक स्वास्थ्य संस्थाद्वारा मातृ–शिशु स्वास्थ्य सेवालाई भरपर्दो र सुरक्षित बनाउन हप्ताका सातै दिन सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइने ब्यवस्था मिलाइनेछ । कोरोना प्रभावित बाह्य जिल्ला तथा बिदेशी मुलुकबाट यस नगरपालिकामा भित्रिने नगरबासी तथा अन्य नागरिकलाई तत्काल समुदायको सम्पर्कमा जान नदिई कोरोना संक्रमणलाई नियन्त्रण र रोकथामलाई प्रभावकारी बनाउन सम्भव भएमा सबै वडाहरुमा कम्तीमा २५ बेडको क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गरिनेछ। साथै, कोरोना संक्रमित व्यक्तिलाई छुट्टै राखी उपचार गर्नको लागि नगरपालिका भरीमा न्यूनतम स्वास्थ्य पूर्वाधार र जनशक्ति सहितको कम्तीमा ५० शैय्या क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने बजेटमा समेटिएको छ ।

त्यस्तै अत्यावश्यक औषधि भण्डारण तथा आकस्मिक चिकित्सकीय सेवाको व्यवस्था गरिनेछ । महिलाहरुको आङ खस्ने, पाठेघर क्यान्सर, आँखा, हाडजोर्नी, मुटु लगायतका अति आवश्यक बिशेषज्ञ सेवा शिविर सञ्चालन गरिनेछ ।विरामीहरुलाई स्वास्थ्य संस्थासम्म सहज रुपमा लैजानको लागि प्रत्येक टोलहरुमा स्ट्रेचरको व्यवस्था गरिनेछ । यस नगरपालिकामा रहेका आर्युर्वेद औषधालयको आफ्नो भवन नभएको र अति आवश्यक आर्युवेद औषधिको अभाव भइरहने हुनाले उक्त समस्यालाई निराकरण गरी गुणस्तरीय सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ। आयुर्वेदमा जनशक्ति अभावलाई परिपूर्ति गर्ने, जनशक्ति करारमा लिई सेवा सुचारु हुने व्यवस्था गरिनेछ ।नगर अस्पताल निर्माण र सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।दशेरा स्वास्थ्य चौकीमा रहेको ल्याबलाई व्यवस्थित र आधुनिकीकरण गरिने बजेटमा उल्लेख छ । अन्य कार्यक्रमहरु हालको जटिल परिस्थितिका कारण पुरानैलाई निरन्तरता दिईएको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र प्रसाद रिजालले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad