प्रवाह संवाददाता । जाजरकोट
श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैर–आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन–तीन पालिकाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको हो ।
गैरआवसिय जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका तीन, नलगाड नगरपालिकाका दुई र भेरी नगरपालिकाका चार बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताइन ।
रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका दुई , सानीभेरी गाउँपालिकाका दुई र चौरजहारी नगरपालिकाका दुई छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । १५ जना छात्राहरूलाई स्कुल पोशाक, झोला, बर्षदिन सम्म पुग्ने कापी, कलम लगायतका स्टेशनरी सामाग्रीलगायत वितरण गरिएको थियो ।
छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएमा, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् । उनले फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिका मार्फत आयआर्जनको कार्यक्रम दिइने बताइन् । ‘अति आवश्यक ठाउँमा सहयोग पुगेको छ, यो सहयोग उच्च शिक्षा अध्ययन सम्म कायम रहोस्’, उनले भनिन्, –‘नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौं ।’
जनज्योति मावि आठवीसकोट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोशाक र लेख्नका लागि कापी र कलम सम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेको बताइन् । ‘भुकम्पपछि त रूकुम र जाजरकोटमा यो ठूलो समस्या बनेको छ,’ उनले भनिन्, ‘संकटका बेला ज्योति फाउन्डेसनको सहयोग धेरै महत्वपूर्ण छ ।’ फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन् । उनले छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन् । उनले फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिने बताइन् ।