April 30 - 2024, Tuesday१८ बैशाख २०८१, मंगलवार

जाजरकोटको राजनितिका संभावित परिदृष्यहरु

राजेन्द्र कार्की,

आगामी मंसिर ४ गते हुने प्रदेश सभा र संघिय प्रतिनिधी सभाको सरगर्मी विस्तारै बढ्दै जान थालेको छ । १ भदौमा चन्द्रागिरी पुगेर नेकपा एकिकृत समाजवादीका नेता कमान खड्काले प्रदेश सभा जाजरकोट क मा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी गत स्थानिय निर्वाचनमा भेरी नगरपालिकामा मेयर पदमा निर्वाचन लडेर पराजित भएका थिए । शुरुमा सत्ता गठबन्धन दलहरुले उनको नाममा सहमति गरेपनि पछि काँग्रेस र माओवादी केन्द्रले सहमति तोडेपछि उनी पार्टीको तर्फबाट निर्वाचन लडेका थिए । निर्वाचनमा तेस्रो भएपनि सम्मानजनक मत भएका खड्काले काठ्मान्डौको चन्द्रागिरी पुगेर उम्मेदवारी घोषणा गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । उनले गठबन्धनबाट आफ्नो पार्टीको पक्षमा भाग पार्न र नेताहरुलाई दवाव बढाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बुझ्नेहरु पनि धेरै छन् । सोही पार्टीका अर्का नेता कृृष्ण विसीले पनि प्रदेश ख मा उम्मेदवार हुने घोषणा गरिसकेका छन् । स्थानिय निर्वाचनमा भाग नपरेपनि यस पटक जसरी पनि गठबन्धनबाट एक सिट भाग लिने गरि उनीहरुले लविङ्ग गरिरहेका छन् ।

नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहले संघिय प्रतिनिधि सभामा आफु उम्मेदवार हुने इच्छा प्रकट गदै लविङ्ग थालिसकेका छन् । राजिवका लागि पार्टी भित्र दिपकजंग शाह र गठबन्धन भित्र शक्ति बस्नेत चुनौतिको रुपमा खडा भएका छन् । माओवादीलाई जनताले स्वीकार नगर्ने र माओवादीका भागमा परे गठबन्धनले चुनाव जित्न नसक्ने भन्दै उनले आफुले मात्र चुनाव जित्न सक्ने भन्दै लविङ्ग तिव्र पारेका छन् । त्यस्तै काँग्रेस नेताहरु वेदराज सिंह, सनत कार्की, मुक्ती आचार्य, मैना कार्की, खडक विसी, इलम शाही, रामछाया शाही लगायतका नेताहरुले प्रदेश सभा सदस्य पदमा आकाँक्षा राखेका छन् ।

नेकपा माओवादी केन्द्रमा संघिय प्रतिनिधी सभामा शक्ति बस्नेतले पुनः चुनाव लड्ने चाहना राखिसकेका छन् । उनले आफु चुनाव लडे काँग्रेसले सहयोग गर्छ कि गदैन भन्ने आँकलन गरिरहेका छन् । उनले चाहे सम्म उनलाई टिकट लिनलाई समस्या छैन । तर चुनाव जित्ने कि नजित्ने त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन । प्रदेश सभामा गणेशप्रसाद सिंह, रामदीप आचार्य, कालीबहादुर मल्ल, ढकवीर राना, यज्ञ खत्री लगायतका नेताहरु आकाँक्षी छन् ।
आकाँक्षा प्रकट गर्ने र लविङ्ग गर्ने एउटा पक्ष होला तर पार्टी भित्रकै र गठबन्धन दल विचको शक्ति सन्तुलन कसरी होला आम चासोको विषय बनेको छ । खास गरी आफु हुनका लागि पार्टी भित्रै एकले अर्कालाई सिध्याउने खेल शुरु हुन थालेको छ । माओवादी नेता रामदीप आचार्यको केही दिन अघि आएको ‘कठोर निर्णयको मोडमा’ भन्ने स्टाटसलाई पनि चुनाव लक्षित रुपमा धेरैले अर्थयाएका छन् । यद्यपी उनले प्रष्टिकरण भने दिईसकेका छन् पदका लागिको वार्गेनिङ्ग होइन भनेर ।

खास गरी काँग्रेस र माओवादीमा यतिवेला बाहिर जे भनेपनि भित्र भित्रै ब्यक्ति केन्द्रित लविङ्ग चलिरहेको छ । संघिय पाए प्रदेश फुत्किन्छ भन्ने डर धेरै नेताहरुलाई छ । त्यही भएर प्रदेश आकाँक्षा गरेका नेताहरु अर्को पार्टीले नै संघिय प्रतिनिधि सभा लिए आफ्नो पालो आउँथ्यो कि भन्ने चाहना गरिरहेका छन् । यस्तो अवस्थामा कसरी अघि बढ्ला गठबन्धन भित्रको भागभण्डा ?

परिदृश्य १– संघिय संसदमा माओवादी केन्द्र । प्रदेशमा दुवै काँग्रेस ।
परिदृश्य २– संघिय संसदमा काँग्रेस । प्रदेशमा एक काँग्रेस एक माओवादी केन्द्र ।
परिदृश्य ३– संघिय संसदमा काँग्रेस । प्रदेशमा एक माओवादी एक नेकपा एकिकृत समाजवादी ।
परिदृश्य ४–संघिय संसदमा माओवादी केन्द्र । प्रदेशमा एक काँग्रेस, एक माओबादी केन्द्र वा एकीकृत समाजबादी
परिदृश्य ५– संघिय संसदमा काँग्रेस । प्रदेशमा दुवै माओवादी केन्द्र ।

यी ५ परिदृश्यमा छलफल हुन सक्छ । अझ बाबुराम भट्टराईको समाजवादीले पनि भाग माग्न सक्छ उपाध्यक्ष भक्तबहादुर शाहका लागि । यही सेरोफेरोमा छलफल हुँदै गर्दा पार्टीले नाफाघाटाको पनि हिसाव गर्नेछन् । नेताहरुले जित्न सक्ने आधार पनि खोज्नेछन् र आफु केन्द्रित पनि हुनेछन् ।

निर्णय तहमा शक्ति बस्नेत मात्र छन् । उनले चाहे गठबन्धन नै प्रभावित गर्न सक्छन् र उनले चाहे आफु समानुपातिक बसेर अरुका लागि मार्ग प्रसस्त गर्ने हैसियत पनि राख्छन् तर उनी त्यो गर्न चाहदैनन् किन भने प्रतिनिधी सभामा पनि प्रत्यक्ष चुनाव जितेकाको हैसियत र समानुपातिकबाट गएकाहरुको हैसियत फरक मानिन्छ । उनको मुभ हेर्दा चुनाव लड्ने तिरै केन्द्रित देखिन्छ । तर उनले आफु लड्दै गर्दा अन्य नेताहरुको ब्यवस्थापन कसरी गर्न सक्छन् । उनलाई फेरी पनि पार्टी भित्रबाटै घेराबन्दी हुन सक्छ । प्रदेशका दुई सिट काँग्रेसलाई दिएर संघमा आफु लिँदा बढी सुरक्षित हुने उनको विश्लेषण हुन सक्छ । तर प्रदेश ताकेका आफ्नै नेताहरु चुनौति बन्न सक्छन् ।

यस अघिको निर्वाचनमा बाम गठबन्धनका कारण शक्ति सँग पराजित भएका राजिब सिङ्गल भएपनि चुनाव लड्ने मनस्थितिमा छन् । प्रमुख तिन पार्टी सिङ्गल सिङ्गल लड्दा पनि उनले जित्न सक्ने माहोल छ । गठबन्धनमा पनि शक्ति भन्दा चुनाव जित्न राजिबलाई धेरै सहज हुन सक्छ तर प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने राजिबलाई प्रचण्डको आग्रहमा देउवाले नै मुख्यमन्त्रीको अफर दिएर प्रदेश सभातिर पठाउन सक्छन् । त्यसो भयो भने प्रदेश ताकेका अन्य नेताहरुको प्रदेश सभा जाने सपना तुहिन सक्छ । अर्को कुरा काँग्रेसमा पनि शेखर–गगन समुहको ब्यवस्थापन गर्नुपर्ने चुनौति पनि उत्तिकै छ । उक्त समुहका मुक्ति, मैना, दिपक र इलम मध्य एक जनालाई प्रत्यक्ष निर्वाचनमा ब्यवस्थापन नगर्दा पनि विद्रोह हुन सक्छ । अर्का तर्फ संस्थापन समुहकै राजिव, वेदराज, सनत, खडक, रामछाया लगायतका नेताको ब्यवस्थापन गर्नुपर्ने चुनौति पनि उत्तिकै छ । माओवादीमा पनि रामदीप, ढकवीर, गणेश, कालिबहादुर, यज्ञ लगायतका नेताको ब्यवस्थापन उत्तिकै चुनौतिपुर्ण छ ।

यसरी आफ्नै पार्टीका नेताहरुको ब्यवस्थापन र गठबन्धनमा भागबन्डा नमिलाउँदा एमालेलाई फाइदा पुग्न सक्छ । एमालेमा पनि बाहिर निरज आचार्य संघिय संसदमा उम्मेदवार बन्ने हल्ला चलेपनि एमाले नेता भैरबसुन्दर श्रेष्ठले निर्णय प्रभावित गर्न सक्छन् । एमालेबाट पार्टी अध्यक्षका विश्वास पात्र डम्बर सिंहलाई पनि अघि सार्न सक्छन् । निरज एमालेका १० भाइ नजिक भएका कारण पनि समस्या हुन सक्छ । सत्ता गठबन्धन हुने निश्चित भएका कारण पनि एमालेमा यतिवेला गुटको प्रभाव त्यति नपर्न सक्छ । यद्यपी स्थानिय चुनावमा गठबन्धन ढाल्दै तिन स्थानिय तह जितेका कारण पनि एमालेका नेताहरु थप हौसिएका छन् । एमालेमा पनि निरज आचार्य, डम्बर सिंह, हेरम्बबहादुर शाह, खिमबहादुर शाही, करवीर शाही लगायतका नेताहरु आकाँक्षी छन् ।

राजनितिमा देखिएका यी अन्यौलग्रस्त परिदृश्यहरु केही दिनमै सङ्गलिदै जानेछन् । राजनैतिक रंगमञ्चमा देखिएका रंगिविरंगी खेलमा कसले बाजी मार्ने हुन त्यो थाह पाउन भने केही समय धैर्य गर्नु पर्ने नै छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad