राजेन्द्र कार्की । जाजरकोट
नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् । जाजरकोट प्रदेश सभा ख बाट निर्वाचित भएका शाहले नेपाली काँग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । काँग्रेसबाट सहभागी उनी सहित चार जना मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कांग्रेसबाट शाह सहित सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढा नियुक्त भएका छन् ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित १ राज्यमन्त्री र २ मन्त्री गरि ४ जना मन्त्री भइसकेका छन । एमालेबाट मुख्यमन्त्रीमा यामलाल कँडेल, भौतिक पुर्वाधार मन्त्रीमा शेरबहादुर बुढा, कृषि मन्त्रीमा विनोद शाह र राज्यमन्त्रीमा गमाता बिक नियुक्त भइसकेका छन ।

समाजसेवा गर्दा गदै राजनितिमा छिरेका शाहले २०७० सालको निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट साँसदमा निर्वाचित भएका थिए । पुख्यौली थलो जाजरकोट भएपनि तीनपुस्ता देखि काठमाडौमा बस्दै आएका शाह आफ्नो पुरानो थातथलोको सेवा गर्ने मनसायले समाजसेवा मार्फत जाजरकोट आएका थिए । २०६६ सालमा महामारीको रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा निजी खर्चमा हेलिकोप्टर मार्फत औषधी र डाक्टर लिएर हजारौं जाजरकोटबासीको ज्यान बचाएका थिए । संकटको वेला सधै जिल्लावासीको सेवा गरेर जाजरकोटी जनता माझ लोकप्रिय छन् । कोभिड महामारीको बेला पनि शाहले प्रदेश अस्पताल सुर्खेत सहित विभिन्न अस्पताललाई एक करोड रुपैया भन्दा बढीका भेन्टिलेटरसहितका उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
प्रतिनिधी सभा सदस्य हुँदा राज्यबाट पाउने सेवा सुविधाआफुले नलिएर जाजरकोटका विपन्न बालबालिकाका अध्ययनमा खर्च गरेका थिए । निजी लगानीमा जिल्लाको छेडागाड ५ बडाबनमा अस्पतालको पुर्वाधार समेत निर्माण गरेका छन् । सधै नागरिकको सुख दुःखमा साथ दिने नेता मन्त्री भएकोमा जिल्लावासी खुसी भएका छन् । उनले समग्र कर्णाली र जाजरकोटको विकास र समृद्धिमा आफुले काम गर्ने बताएका छन् । नव नियुक्त मन्त्रीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।


