राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख ७ हजार १ सय ९१ मत रहेकोमा ६१ हजार ६ सय ५७ मत अर्थात ५७ दशमलब ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । ३१ हजार ७२ पुरुष र ३० हजार ५ सय ८५ महिलाको मत खसेको हो । ८९ मतदान स्थल रहेको जाजरकोटमा १ सय ४७ मतदान केन्द्र रहेका थिए ।
जाजरकोटमा शान्तिपुर्ण रुपमा मतदान सकिएको हो । जिल्ला सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । भेरी नगरपालिकाका सवै मतदान केन्द्रको मतपेटिका आइपुगेको र अन्य पालिकाको संकलन कार्य भैरहेको उनले बताए । शुक्रवार विहान सम्म सवै मतपेटिका आइपुग्ने र त्यसपछि सर्वदलिय बैठक गरेर मतगणना सुरु गरिने प्रजिअ पौडेलको भनाई छ । जाजरकोटमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र एमाले विच नै मुख्य प्रतिस्पर्धा रहेको छ ।

