राजेन्द्र कार्की । जाजरकोट
कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर बुढा प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित भएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका शक्तिबहादुर बस्नेतलाई दुई हजार सात सय ३६ मतको अन्तरले पछि पादै नेपाली काँग्रेसका खडक विजयी भएका हुन् । ६१ हजार एक सय २४ मत खसेकोमा बुढाले २० हजार एक सय ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेकपाका बस्नेतले १७ हजार चार सय सात मत प्राप्त गरेका छन् । नेकपा एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८ सय ८३ र राष्टिय स्वतन्त्र पार्टीका राघब कार्कीले दुई हजार चार सय ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न ११ राजनैतिक दलले भाग लिएको निर्वाचनमा रास्वपा लगायतका ८ दलको जमानत जफत हुने भएको छ ।
जाजरकोटबाट पुर्व गृहमन्त्री बस्नेतलाई हराउने ४० बर्षिय खडक शिवालय गाँउपालिका ९ का स्थायी बासिन्दा हुन् । क्याम्पस अध्ययन गर्ने क्रममा राजनितिमा सक्रिय उनी भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुदै नेपाली काँग्रेस जाजरकोटका उपसभापति छन् । सामान्य परिवारमा जन्मिएका उनी राजनितिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता बस्नेत २०७०, २०७४ र २०७९ सालमा भएका निर्वाचनमा लगातार जित्दै आएका थिए । ह्याटिक गरिसकेका बस्नेतले यस पटक भने हार ब्यहोर्नु परेको छ ।


