नलगाडमा ९४ जनाको मोतीविन्दुको निशुल्क शल्यक्रिया

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको नलगाड नगरपालिकाको दल्लीमा ९४ जनाको मोतीविन्दुको निशुल्क अप्रेशन गरिएको छ । नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी जाजरकोटको सहजीकरण र नलगाड नगरपालिकाको आयोजनामा दल्लीमा भएको दुई दिने मोतिविन्दु शल्यक्रिया शिविरमा स्थानियले उक्त सेवा पाएका हुन् ।

शुक्रबार देखि सुरु गरिएको मोतिविन्दु शल्यक्रिया शिबिर आईतबार विहान समापन गरिएको छ । दुई दिनसम्म चलेको शिविरमा ४४ जना पुरुष र ५० जना महिला गरी ९४ जनाको मोतिविन्दुको अप्रेशन गरिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिएकी छन् । शिवीरबाट पाँच सय ५५ जनाले आँखा परीक्षणको सेवा लिएको सामुदायिक संयोजक सुनारले बताईन् । शिवीरमा औषधि र चश्मा पनि वितरण गरिएको थियो ।

bhumi-sanrakshyan

नलगाड नगरपालिकाले प्रत्येक बर्ष विभिन्न दातृ निकायहरुसंगको समन्वयमा आँखा, कान, घाँटी, नाक, महिलाहरुको पाठेघर खस्ने समस्या सम्बन्धिको विभिन्न विशेषज्ञ स्वास्थ्य शिवीर संचालन गर्दै आएको नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले बताए । हाल सम्पन्न गरिएको मोतिविन्दु शल्यक्रिया शिविरबाट धेरै विपन्न र जेष्ठ नागरिकले सेवा पाएको नगर प्रमुख रावतको भनाई रहेको छ । मोतीविन्दुको शल्यक्रिया गरेका जेष्ठ नागरिकहरुले आफुहरुले पुर्नजीवन भएको बताएका छन् ।

उक्त शिवीरबाट आँखाका बिरामीहरुले खुशी व्यक्त गर्दै नगरपालिका, नेपाल नेत्र ज्योतिसंघ र नेपाल रेडक्रस सोसाईटीलाई धन्यवाद दिएका छन् । शिवीरमा मोतिविन्दु शल्यक्रिया गरिएका ९४ जनाको अप्रेशन सफल भएको नेपाल रेडक्रस सोसाईटी आँखा उपचार केन्द्र जाजरकोटका प्रमुख प्रदीप जंग शाहले बताए । सहयोगी सवै निकायलाई उनले धन्यवाद दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya