अब देखि जाजरकोट कुशे ९ बालमैत्री वडा !

राजेन्द्र कार्की । जाजरकोट
अव देखि जाजरकोटको कुशे गाउँपालिका–०९ लाई बालमैत्री वडा भएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । आवश्यक सवै सुचक पुरा भएपछि स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो । यसअघि यहि पालिकाको वडा नम्बर ०१ लाई १२ चैत्र २०७८ मा बालमैत्री वडा घोषणा गरिएको थियो । घोषणासँगै यो वडा गाँउपालिकाको दोस्रो र जिल्लाकै तेस्रो बालमैत्री वडा बनेको छ । जाजरकोट प्रदेश क का प्रदेश सभा सदस्य वेदराज सिहले पानसमा बत्तिबालेर बालमैत्री वडा घोषणा गरेका हुन् ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
बालमैत्री स्थानीय शासन स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारणा हो। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष शिवराज गिरीले बताए । बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष गिरीको भनाइ छ ।


बालबालिका लक्षित बजेट वृद्धि गर्दै चालू आर्थिक वर्षमा गाउँपालिकाले बालबालिका लक्षित योजना तथा कार्यक्रमका लागि २० प्रतिशत बजेट विनियोजन गरेको वडाध्यक्ष गिरीले बताए ।
बालविवाहको दरलाई शून्यमा झार्न पनि चुनौती रहेको छ। वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय र सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बालमैत्री वडा घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथमिकतामा राखिने बताए । ‘हालसम्म गाउँपालिकाका दुई वटा वडा बालमैत्री बनेका छन्, अब समग्र गाउँपालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने।
सत प्रतिशत जन्मदर्ता, खोप र विद्यालय भर्ना जस्ता कार्यक्रम सफल भएको र बालबिवाह समेत घटेको अध्यक्ष बस्नेतले बताए । जिल्लाको छेडागाड नगरपालिकाको वडा नं. ११ लाई सबैभन्दा पहिलो बालमैत्री वडाघोषणा गरिएको थियो । कार्यक्रममा बालमैत्री वडा बनाउन सहयोग गर्ने विभिन्न ब्यक्ति तथा संघ संस्थालाई कदरपत्र प्रदान गरिएको थियो ।

bhumi-sanrakshyan

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya