March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा राजीव शाहको उम्मेदवारी घोषणा

राजेन्द्र कार्की ।जाजरकोट
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य राजीव विक्रम शाहले कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
दलको नेताका लागि आफू हरेक हिसाबले योग्य रहेको भन्दै उनले आफू त्यसको तयारीमा जुटेको बताएका छन् । मंसिर ४ मा सम्पन्न निवार्चनमा उनी जाजरकोट प्रदेश सभा (ख)बाट अत्यधिक मतसहित निर्वाचित भएका थिए।
‘नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलको नेताको रुपमा मैदानमा उत्रने तयारीमा छु’, शाहले भने, ‘प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। म दलको नेताको प्रतिस्पर्धाबाट पछि हट्दिनँ। नेताहरूले मलाई प्रतिस्पर्धा गर्न दिनुपर्छ।’
उनले आफ्ना सिनियर नेताहरूलाई सम्मान गर्दै आफू निर्वाचित क्षेत्र जाजरकोट र समग्र कर्णालीको विकास, सुशासन र समृद्धीका लागि दलको नेतामा उम्मेदवारी दिन लागेको बताए। शाहले आफूले पार्टीभित्र १३औं महाधिनवेशनदेखि नै त्याग गर्दै आएको समेत स्मरण गरेका छन्।
कांग्रेसको १३औं महाधिवेशनमा शाह केन्द्रीय सदस्यका दाबेदार थिए। तर, त्यतिबेला उनलाई केन्द्रीय सदस्य उठ्नबाट वञ्चित गरिएको थियो। त्यतिबेला शाहलाई केन्द्रीय सदस्यबाट ‘ब्याक’ भए कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए मन्त्री बनाउने भनिएको उनीनिकट स्रोतको दाबी छ। तर, पछि अरुलाई नै मन्त्री बनाइएको थियो। शाह त्यतिबेला संविधान सभा सदस्य थिए।
‘पार्टीको १४औं महाधिवेशनमा पनि उहाँ कर्णाली प्रदेश सभापतिको बलियो दाबेदार हुनुहुन्थ्यो। तर, अग्रजलाई सम्मान र अनुशासनमा रहेर सर्वसहमत निर्विरोध हुने वातावरण बनाएर त्याग गर्नुभयो’, शाहनिकट एक नेता भन्छन्, ‘पटक–पटक अरुकै लागि पछि हट्ने कुरा हुँदैन। त्यही भएर उहाँले यसपटक कर्णालीमा संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।’ १४ जना साँसद मध्य शाह संग बहुमत साँसद रहेकाले पनि उनी यस पटक संसदीय दलको नेतामा चुनाव भिड्ने तयारीमा रहेका छन् । धेरै साँसदहरुले उहाँलाई नै संसदीय दलको नेता हुनपर्छ भनिरहेका छन् जसका कारण पनि उहाँ ब्याक हुने मनस्थितिमा हुनुहुन्न नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले भने नेताको आर्शिवादबाट भन्दा जसको पक्षमा जनमत छ त्यही नेता हुनु पर्छ । संसदीय दलमा लोकतान्त्रिक प्रक्रिया द्धारा नेतृत्व छानिनुपर्छ ।
शाह दलको नेता निर्वाचित भए भने कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने अवस्थामा उनी स्वतः मुख्यमन्त्रीको दाबेदार हुनेछन्। कांग्रेसको तर्फबाट हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि दलको नेतामा दाबी गरिरहेका छन् । शाही र शाह दुवै कांग्रेसभित्र संस्थापन समूहका हुन्।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेशमा कांग्रेसले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ५ गरि १४ सिट जितेर पहिलो पार्टी बनेको छ।
कर्णालीमा दोस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ४ सिट जितेको छ। गठबन्धनको घटक एकीकृत समाजवादीले एक सिट मात्र जितेको छ । प्रत्यक्षमा शून्य रहेको एकीकृत समाजवादीले समानुपातिकतर्फ एक सिट जितेको हो।
प्रमुख प्रतिपक्ष एमालेले प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ५ सिट जितेको छ ।
कर्णाली प्रदेश सभा ४० सदस्यीय छ। सरकार गठनका लागि २१ सिट आवश्यक पर्छ। हालकै गठबन्धन कायम रहे कर्णालीमा गठबन्धनको प्रष्ट बहुमत छ।

Swasthya sewa karyalaya, jajarkot

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad