राजेन्द्र कार्की । जाजरकोट
छेडागाड नगरपालिकामा एकै पटक ८१ जना शारीरिक समस्या भएका व्यक्तिहरूले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । छेडागाड नगरपालिकाको आयोजना, सेभ द चिल्डे«न पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा सञ्चालित अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविरका क्रममा शारीरिक असक्तले परिचय पत्र पाएका हुन् ।
शिविरमा तीन सय ८१ जनाले स्वास्थ्य सेवा लिएका छन् । परिचयपत्र पाएका ८१ जना मध्ये ४ जनाले क बर्गको रातो परिचयपत्र पाएका छन् । ५७ जनाले ख बर्गको नीलो परिचयपत्र पाएका छन् । त्यसैगरी ग बर्गको पहेलो र घ बर्गको सेतो परिचयपत्र २० जनाले प्राप्त गरेका छन् । क र ख बर्गको परिचयपत्र पाउने ६१ जनाले सामाजिक सुरक्षा भत्ता पाउनेछन ।
आखाको समस्या भई सेवा लिने ९६ जना रहेका छन् । अधिकांशमा न्यून दृष्टि रहेको तथा केहीमा मोतिबिन्दुको समेत समस्या भएको पत्ता लागेको थियो । त्यसैगरी कानको समस्या भई सेवा लिने ९९ जना रहेका छन् । सुस्त श्रवण भएका ७ जनाले सहायता सामग्रीहरू प्रदान गर्ने पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिए ।
अध्यक्ष पन्तका अनुसार हाडजोर्नी सेवा अन्तर्गत सेवा लिने जम्मा ९३ जना रहेका छन् । तीमध्ये विभिन्न प्रकारका समस्या भई २७ वटा सहायता सामग्री १७ जनाले प्राप्त गर्ने भएका छन् ।
विशेषगरी अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविर दुईवटा क्षेत्र मा सञ्चालन गरिएको थियो । जसअन्तर्गत छेडागाड नगरपालिका को नगर अस्पताल र दशेरा स्वास्थ्य कार्यालयमा उक्त शिविर सञ्चालन भएको थियो । उक्त स्वास्थ्य शिविरमा बालबालिकाहरूको तथा वयस्क व्यक्तिहरूको फिजियोथेरापी सम्बन्धि समस्या, कान सम्बन्धि समस्या, दृष्टि सम्बन्धी समस्या लाई एकीकृत रुपमा सम्बोधन गर्ने प्रयास गरिएको छेडागाड नगरपालिकाको उपप्रमुख चन्द्रबहादुर थापाले बताए । अपाङ्गता पहिचान तथा पूर्ति पत्र वितरण शिविर कोहलपूर मेडिकल कलेज ,स्वास्थ्य सेवा कार्यालय जाजरकोट, नेपाल रेडक्रस सोसाइटी जाजरकोट सँगको सहकार्यमा प्राविधिक टीम बनाइ उक्त शिविर सञ्चालन गरिएको हो ।
त्यसैगरी छेडागाड नगरपालिका पहिचान भएका अपाङ्ग व्यक्तिहरु तथा सहायता सामग्री प्रदान गर्ने र सँगसँगै उनीहरुका लागि जीवन सहज बनाउन विभिन्न खाले आयमुलक कार्यक्रमहरु संचालन गरिने नगर उपप्रमुख थापाले बताए ।