राजेन्द्र कार्की । जाजरकोट
पुष्पलाल (मध्यपहाडी) सडक आयोजना अन्र्तगत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । वाईपी कन्ट्रक्सन प्रा.लि. काठमान्डौले २०६९ सालमा यो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण १० बर्ष देखि निर्माण कार्य अलपत्र परेको थियो । पुलका दुई वटा पिलर मात्र हालेर निर्माण कम्पनीले काम अलपत्र छोडेको हो । तीन बर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड स्टमेटको यो ठेक्का वाईपी कन्ट्रक्सनका प्रोपराईटर राजु श्रेष्ठले १४ करोड रुपैयामा ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौता गरेको १० बर्ष विति सक्दा पनि काम नगरेपछि ठेक्का तोड्नु परेको पुष्पलाल(मध्यपहाडी) सडक आयोजनाका इन्जिनियर हुमनाथ पौडेलले बताए ।
बारम्बार ताकेता गर्दा पनि काम नगरेपछि निर्माण कम्पनीलाई कालोसुचीमा राख्न सम्बन्धित निकायलाई सिफारिस गरिएको ईन्जिनियर पौडेलले बताए । निर्माण कम्पनीले हालसम्म २३ प्रतिशत काम गरेको र १८ प्रतिशतको भुक्तानी लिइसकेको छ । २ करोड ६० लाख पेश्की रकम कामको हिसावमा मिलान गरिएको हो । निर्माण ब्यवसायी श्रेष्ठको दुई बर्ष अघि निधन भैसकेको छ । ठेकेदारको निधनका कारण पनि पुल अलपत्र परेको हो ।
पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै अछाम, दैलेख, जाजरकोट रुकुमपश्चिम हुदै काठमान्डौ सिधा यातायात संचालनमा आउन सकेको छैन । समयमा पुल निर्माण भए राजमार्ग हुँदै मध्यपहाडको यात्रा सहज हुने स्थानीय बताउँछन् ।
नयाँ प्रक्रियाबाट पुलको टेण्डर गरेर केही समय भित्र पुल निर्माणको काम शुरु गरिने ईन्जिनियर पौडेलले बताए । पुल नबन्दा सडक आयोजनाको स्तरोन्नती र कालोपत्रेको काम समेत प्रभावित भएको उनले बताए ।
क्याप्सन ः पुष्पलाल (मध्यपहाडी) सडक आयोजना अन्र्तगत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । तस्वीर राजेन्द्र कार्की