राजेन्द्र कार्की । जाजरकोट
नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सदस्य तथा एमाले जाजरकोटका सचिवालय सदस्य विश्वविक्रम शाहलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाम स्थित ठाँटी प्रहरी इकाइ तोडफोड गर्न खोजेको र प्रहरीलाई धम्की दिएको भन्दै उनलाई सोमवार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानिय कर्णबहादुर खत्रीका अनुसार उनका कान्छाबुवाका छोरा भाई नाता पर्ने मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासी मेडिकल बन्द गर्न आदेश दिएका थिए । घाइतेको उपचार गर्न दिनुहोस । अपराधी नै भएपनि उपचार पहिलो प्राथमिकता हो भनेर विश्वविक्रमले भन्ने वित्तिकै बढी बोल्छस भनेर प्रहरीले उनलाई निर्घात कुटपिट गरे पक्राउ गरेर लगेको हो । ‘यसरी मान्छे कुटेको मैले अहिले सम्म देखेको थिएन । धेरै जना पुलिसले बेसरी कुटेर भ्यानमा राखेर लिए’ उद्योग बाणिज्य संघ जाजरकोटका पुर्व अध्यक्ष समेत रहेका प्रत्यक्षदर्शी खत्रीले बताए ।
विश्वविक्रमका भाई मीनकृष्णले काम गर्न बसेका चौधरी केटाहरुलाई कुटपिट गरि भाग्दै गर्दा प्रहरीले पक्राउ गरि प्रहरी चौकीमा ल्याएको थियो । भाग्ने क्रममा उनी सामान्य घाइते भएको प्रहरीको भनाई छ । मीनकृष्ण घाइते भएको जानकारी पाएपछि प्रहरी चौकी पुगेका विश्वविक्रम र प्रहरी विच विवाद र भनाभन भएको बताईएको छ । उपचार गर्ने भन्दै भाईलाई मेडिकलमा लिएर आएका विश्वविक्रम माथि प्रहरीहरु जाईलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यता जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले प्रहरी इकाइ तोडफोड गर्न खोजेको र प्रहरी चौकीमै प्रहरीलाई धम्की दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।