राजेन्द्र कार्की । जाजरकोट
नेपाल शिक्षक संघ जाजरकोटको नबौं जिल्ला अधिवेशन जिल्ला सदरमुकाम खलंगामा शुरु भएको छ । नेपाल शिक्षक संघका संघिय कार्यसमितिका उपाध्यक्ष जनकबहादुर सिंहले पानसमा पत्ती बालेर ब्यानर पढेर अधिवेशनको उद्घाटन गरेका हुन् । शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा भन्ने मुल नाराका साथ शुरु भएको जिल्ला अधिवेशनमा शुभकामना प्रकट गदै विभिन्न बक्ताहरुले शिक्षकको हकहितका पक्षमा आफ्नो धारणा राख्दै राज्यले शिक्षकलाई उपेक्षा नगर्न आग्रह गरेका छन् ।
कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेसका कर्णाली प्रदेश उपाध्यक्ष सनतकुमार कार्की, शिक्षक संघका प्रदेश समितिका अध्यक्ष इलमबहादुर शाही, नेपाली काँग्रेसका पार्टी सभापति तथा प्रदेश सभा सदस्य वेदराज सिंह, नेपाली काँग्रेसका कार्यवाहक सभापति खडक विसी, शिक्षक संघका केन्द्रिय सदस्य धिरेन्द्र शाह, जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्री, कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नते, पार्टी सचिव तेजविक्रम शाह, सहसचिव द्धय खडक विसी र छवि पन्त, वारेकोट गाँउपालिकाका पुर्व अध्यक्ष महेन्द्र शाह भेरी नगरपालिकाकी उपप्रमुख सिता जैसी, कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंह, भुमि आयोगका अध्यक्ष सर्पराज रावत लगायतका दुई दर्जन बक्ताले अधिवेशनको सफलताको शुभकामना दिएका छन् ।
शिक्षक संघका जिल्ला अध्यक्ष आशा शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती थापाले स्वागत मन्तब्य र सचिव नरबहादुर शाहीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा शिक्षकहरु सत्यनारायण मण्डल, नारायण प्रसाद शर्मा, रामप्रसाद घर्ती, रेखा शाह, तेज बहादुर खत्री ,लगायतका शिक्षकलाई सम्मान गरिएको छ । निबृत्त शिक्षकबाट थलबहादुर बुढा पुर्व शिक्षक भै जनप्रतिनिधी भएका तेजबहादुर सिंह र दीपबहादुर शाहीलाई पनि सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्नेछ । अध्यक्षमा गणेश बस्नेत, गोरखबहादुर बुढा, पार्वती थापा, कमल चन्द, दीर्घजंग सिंह र हेमन्त सिंहले उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतवार विहान देखि बन्दसत्र चल्ने अध्यक्ष आशा शाह कार्कीले बताईन । अधिवेशनमा जिल्लाभरका ५ सय बढी शिक्षकको सहभागिता रहेको छ ।
कार्यक्रममा शिक्षक राजकुमारी शाही नेपाल शिक्षक संगठन परित्याग गरि शिक्षक संघमा प्रवेश गरेकी छन् । उनलाई अविर, माला र खादाले स्वागत गरिएको थियो ।