प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको दुर्गम बारेकोटमा फोरजी सहितको टेलिफोन सेवा शुरु भएको छ । जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर संचालनमा आएपछि फोरजीसहितको सञ्चार सेवा शुरु भएको हो ।
बारेकोट गाँउपालिका ८ सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको मंगलवार उद्घाटन गरे सँगै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि बारेकोट र नलगाडका जनतामा संचारको पहँच पुगेकोमा खुसी ब्यक्त गर्दै नेपाल टेलिकमलाई धन्यवाद दिनुका साथै अन्य क्षेत्रमा पनि टावर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
जिल्लाका ७ वटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याइएको र यसबाट बारेकोट गाँउपालिका र नलगाड नगरपालिकाका अधिकांश भेगका सेवाग्राही लाभान्वित हुने नेपाल टेलिकम जाजरकोटका कार्यालय प्रमुख गोपेन्द्र अधिकारीले बताए ।
जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको २० वटा स्थानमा टेलिफोन टावर सञ्चालनमा ल्याएपछि ३ नगर र ४ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका स्थानीय निःशुल्क सिम कार्ड पाउँदा हर्षित भएका छन् । बारेकोटको वडा नं ८ मा एक कार्यक्रमको आयोजना गरी नेपाल टेलिकम जाजरकोटले सिमकार्ड वितरण गरेपछि स्थानीय हर्षित भएका हुन् । स्थानिय हिमेन्द्र बहादुर सिंहले गाँउमा फोरजी सहितको सेवा शुरु भएपछि देशविदेशमा सम्पर्क लगायतका सञ्चार सुविधा पाएको बताए । लामो समय पछि सञ्चार सुविधा पाउँदा आफुहरु निकै खुसी भएको उनले बताए ।
बारेकोट गाउँपालिका ८÷९ र नलगाड नगरपालिका ५ का स्थानीयलाई निःशुल्क सिम कार्ड बाँडिएको छ । वडा नं ९ मा बनेको नमस्ते मोबाईलको फोरजी टावर उद्धघाट्न पश्चात निःशुल्क सिम कार्ड वितरण गरिएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार ७ सय जनालाई नयाँ सिमकार्ड वितरण गरिएको छ । गाउँमै निःशुल्क सिम कार्ड पाउँदा स्थानीय खुशी भएका छन् । कर्णाली प्रदेश सभा सदस्य बेदराज सिंहबाट वितरण कार्यक्रमको उद्धघाटन गरिएको थियो । आफ्ना निर्वाचन क्षेत्रका जनतालाई सञ्चारमा पहुँचमा जोड्न पाउँदा निकै खुशी भएको सदस्य सिंहले बताए ।