December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

गाँउमै सामाजिक सुरक्षा भत्ता पाउँदा अपाङ्ग तथा जेष्ठ नागरिक खुसी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका ४ लहँकी ९१ बर्षिय हिरा रावल घरनजिकै सामाजिक सुरक्षा भत्ता पाउँदा निकै खुसी छन् । यस अघि नगरपालिकाको प्रशासनिक केन्द्र दल्ली जानुपर्ने बाध्यता थियो । दल्ली गएर बैकमा लाइन लागेर भत्ता ल्याउन कम्ती सास्ती हुँदैन्थ्यो उनलाई । भत्ताका लागि चार घण्टाको पैदल बाटो बोकेर लिन उनका छोराहरुलाई पनि निकै सास्ती हुने गरेको थियो तर उनीहरु जस्तै जेष्ठ तथा अशक्त नागरिकको समस्यालाई मध्यनजर गदै वडापालिकाको पहलमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता गाँउमै वितरण गर्ने ब्यवस्था मिलाएपछि बृद्धबृद्धा र अशक्तहरुलाई ठुलो राहत मिलेको छ ।
उनी जस्तै सोही ठाँउका ८१ बर्षिय कर्णबहादुर रावल पनि गाँउमै भत्ता पाउँदा धेरै खुसी भएका छन् । नगरपालिकाको केन्द्र दल्ली जान निकै सास्ती हुन्थ्यो गाँउमै नगद भत्ता पाएपछि सजिलो भएको छ उनले भने ‘बृद्ध भत्ता हाम्रो जीवनको साहारा भएको छ । यसले हाम्रो सामान्य खर्च टर्छ । कसै सँग हात थाप्नु पदैन ।’ उनीहरु जस्तै गाँउमै भत्ता पाएपछि धेरै जेष्ठ नागरिक र शारीरिक असक्त खुसी भएका छन् ।
गाँउबाट प्रशासनिक केन्द्रमा आउन घण्टौं लाग्ने र सुरक्षा वापतको भत्ता बाटामै सकिने भएकोले गाउँगाउँमा पुगी भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

उनले भने, ‘नगरपालिका भित्रका जेष्ठ नागरिक र अपांङ्गता भएका नागरिकहरुलाई गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं, नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौं लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौं ।’ सबै ठाउँमा गाडी नपुग्दा नागरिकले धेरै सास्ती व्यहोर्नु पर्ने भएकोले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भईरहेको गिरीले बताए । बैकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसावले धेरै उपयूक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस छ प्रभावकारी छैन्, त्यसैले नजिकैको स्थान बाट भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बतााए ।
सरकारले लागु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खाता मार्फत पाउनुपर्ने व्यवस्था गरिएको छ । तर जेष्ठ तथा शारिरीक रुपमा अशक्तको अफ्ठयारोलाई मध्य नजर गदै बैंक सँग समन्वय गरेर गाँउमै भत्ता वितरण गर्ने ब्यवस्था मिलाईएको नलगाड नगरपालिका नगर प्रमुख डम्बरबहादुर रावतले बताए ।
जनप्रतिनिधी, नगरपालिकाका कर्मचारी र बैंक कर्मचारी समेत गाउँगाउँमा पुगी सबै ठाउँमा नगद भत्ता वितरण गरेका छन् । अव नलगाड नगरपालिकाका दुई स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाँकी रहेको नगरप्रमुख रावतको भनाइ छ । गाँउमै भत्ता पाएपछि स्थानिय निकै खुसी भएको उनले बताए ।‘नागरिकको सहजतालाई मध्यनजर गर्दै गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं,’ उनले भने ।
बैंकको लाइन बस्नुपर्ने, बाटोमा सास्ती खेप्नुपर्ने समस्याहरुलाई मध्यनजर गर्दै गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय निकै खुशी भएका छन् । गाउँमै भत्ता पाउँदा आफु निकै खुशी भएको नलगाड ४ का ८८ बर्षिय गोपाल रावलले बताए ।
नलगाडमा चालु आर्थिक बर्षमा एक हजार एक सय ७३ अन्य जेष्ठ नागरिक, दुई सय ७६ दलित जेष्ठ नागरिक, एक सय ५४ एकल महिला जेष्ठ नागरिक, तीन सय ६५ विधवा आर्थिक सहायता, ६७ क बर्गका अपाङ्ग, एक सय ८६ ख बर्गका अपाङ्ग, दुई हजार दुई सय ४२ क्षेत्र तोकिएका बालबालिका र एक हजार एक सय ८ दलित बालबालिकालाई सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरण भैरहेको नगरपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक, क वर्गका अपाङ्ग र एकल महिलाले मासिक चार हजार, बालपोषण भत्ता मासिक पाँच सयका दरले पाउँछन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad