March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

प्रहरीलाई महिनावारी बुझाउँछन् गाडीवाला

कतै दैनिक सय रुपैया, कतै मासिक पाँच सय बुझाउन बाध्य

Swasthya sewa karyalaya, jajarkot

राजेन्द्र कार्की । जाजरकोट

गत आइतवार नेपालगञ्ज देखि जाजरकोट आउने क्रममा बाँकेको चिसापानी प्रहरी चेक पोष्टमा एउटा गाडी रोकियो । सनराइज यातायातको सार्वजनिक बलेरो जीपका चालक चेक पोष्ट नजिकै गाडी रोकेर इन्ट्री गर्न गए । इन्ट्री गर्ने क्रममा खल्तीबाट केही झिकेर दिए । त्यसपछि चालक गाडीमा आएर पुनः गाडी हुइक्याउन थाले । उनलाई तपाईले खल्तीबाट के झिकेर दिनुभयो भन्ने प्रवाहको प्रश्नमा उनले भने–‘के गर्ने यो चेक पोष्टमा दैनिक सय रुपैया चढाउनै पर्छ । नभए अनेक बाहाना झिकेर हामीलाई सताउँछन् । किचकिच गर्नु भन्दा भने अनुसार दिनु वेस ।’

गाडी हुँइक्याउदै उनले भने–‘यति मात्र कहाँ हो र ? सर, करीब दुई सय किलोमिटरको नेपालगञ्ज–जाजरकोट रुटमा नौ ठाँउ मासिक पाँच सय रुपैया र दुई ठाँउमा दैनिक सय रुपैया बुझाउनुपर्छ । नदिए अनेक बहानामा दुुःख दिन्छन् । फाइन काट्छन् । त्यो भन्दा दिनै पर्यो । के गर्ने तेल खर्च र प्रहरीमा बुझाउँदैमा सकिन्छ किस्ता तिर्न मुस्किल छ । केही बचत हुँदैन । अव त गाडी बेचेर विदेश जाने सोच बनाएकोछु ।’ गाडी देउराली हुँदै अघि बढ्यो । बर्दिया र सुर्खेतको सिमाना नजिक बबई बजार पुग्न करीब एक किलोमिटर जति बाँकी थियो होला । दुई जना ट्राफिक प्रहरी बाटोमै उभिएका रहेछन् । सिटी बजाउँदै गाडी रोक्न इसारा गरे । चालकले म तिर हेदै भने सर देख्नु भो, पैसा झार्न यहाँ बसेका हुन् । गाडी केही अलि अगाडी रोकेर चालक सय रुपैया निकालेर गए । एक जना प्रहरी गाडी नजिक आएर उभिए । अर्को एक जना अलि परै उभिए । चालक त्यही पर उभिएका प्रहरीलाई पैसा बुझाएर फर्किए । गाडी फेरी घुइकियो ।

उनी गफिदै गए । उनी भन्छन्–‘छिन्चुमा झन् एक जना निराजन नाम गरेको ट्राफिक हवल्दार झन हराम छ । मलाई शुरुमै दुःख दियो । तीन महिना अघि गाडी किनेर पहिलो पल्ट जाजरकोट रुटमा गाडी चलाउन थालेको थिए । त्यही हवल्दारले जाँदा एक हजार र फर्किदा हजारको जरिवाना काटिदियो । किन जरिवाना काटेको मेरो केही गल्ती छैन भन्दा उनले भन्यो यहाँको नियम थाह छैन । नियममा नचल्ने ? भनेर धम्की दियो । त्यसपछि नियम के हो भन्दा अरु गाडीवालालाई सोध्नु यहाँको नियम भनेर धेरै कुरा खुलाएन । त्यसपछि मैले अरु चालक साथीहरुलाई सोधे छिन्चुको नियम के हो ? के हुनु पाँच सय रुपैया बुझाए । सवै ठिक हुन्छ । छिन्चुमा मात्र होइन । सुर्खेतको मेहेलकुना, बोटेचौर र राकम, सल्यानका बालुवा संग्रही र सल्लीबजार, जाजरकोटका छेडाचौर, कुदु, मटेला र खलंगामा गरी नौ ठाँउमा पाँच सयका दरले बुझाउनु पर्ने रहेछ ।’ त्यही रुटमा चल्ने भएपछि नियम मान्नै पर्यो । तिनीहरु सँग निहुँ खोज्नु भएन । हाम्रा कागजात सवै दुरुस्त हुन्छन् । हाम्रा गल्ती भनेका कहिले काँही सिट क्षमता भन्दा बढी यात्रा राख्छौ । सिट वेल्ट लगाउँदैनौ । पैसा नलिए  त हामी नियम मान्न तयार नै छौ नि उनले भने नौ वटा चेक पोष्टमा मासिक चार हजार पाँच सय र दैनिक चिसापानी र बबइमा एक सयका दरले दुई सय गरी मासिक ६ हजार तथा अन्य प्रहरी र ट्राफिक प्रहरीलाई खाजानास्ता गरी मासिक १२÷१४ हजार जति रुपैया खर्च हुन्छ ।
बबई पछिका चेक पोष्टमा महिनावारी बुझाएका कारण दैनिक बुझाउनु नपर्ने उनले खुलाए । तपाईले धेरै कुरा सोध्नुभयो । पत्रकार हुनुहुन्छ भने मेरो गाडी नम्बर र नाम नखुलाईदिनु होला । किन भने यही रुटमा दिनहुँ हिड्नुपर्छ । फेरी हामीलाई सताउँछन् उनले ससंकित हुँदै भने बाँकेको चिसापानी पोष्टमा यो रुटमा हिड्ने सवै साना ठुला गाडीबाट दैनिक पचास रुपैया देखि पाँच सय रुपैया सम्म प्रहरीले असुल्ने गरेका छन् । यता आउँदा माग्छन् , फर्कदा माग्दैनन् । कर्णाली प्रदेश भित्रने हरेक सार्वजनिक गाडीबाट प्रहरीले पैसा नअसुलि छिनै दिदैनन् । कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, जाजरकोट, सल्यान र रुकुम पश्चिम यही रुटबाट चल्ने गर्दछन् । दैनिक पाँच सय बढी गाडीको एक सय रुपैयाका दरले हिसाव गर्दा पनि दैनिक पचास हजार बढी रुपैया असुलि हुने गरेको अनुमान छ । तर यस तर्फ कुनै नियमनकारी निकायको ध्यान जान सकेको छैन । एक चालकका अनुसार प्रहरी र ट्राफिक प्रहरीले गाडीवालाबाट अवैध रुपमा असुलेको रकम माथिल्लो निकायमा समेत जाने गरेको छ ।

जाजरकोट देखि नेपालगञ्ज रुटमा फोर्स गाडी चलाउँदै आएका नाम खुलाउन नचाहने अर्का एक जना चालकले पनि नौ वटा चेक पोष्टमा पाँच सय देखि एक हजार रुपैया सम्म मासिक टिप्स बुझाउने गरेको बताए । सुर्खेतको छिन्चु र जाजरकोटको छेडामा मासिक हजार र अन्य चेकपोष्टमा मासिक पाँच सय रुपैया महिनावारी बुझाउने गरेको बताए । उनले बबई र चिसापानी चेक पोष्टमा दैनिक कम्तिमा एक सय रुपैया बुझाउनु पर्ने बाध्यता रहेको बताए ।
जाजरकोटका जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले त्यसरी प्रहरीले गाडीवालाबाट पैसा असुलेको प्रमाण सहित फेला परेका ठाँउको ठाँउ कारवाही गरिने बताए । प्रहरीले पैसा मागे तत्काल आफुलाई खवर गर्न समेत उनले गाडीवालालाई आग्रह गरे ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रज्वल मर्हजनले गाडीवालाबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको र महिनावारी बुझाउने गरेको गुनासो सम्बन्धमा के भाको हो बुझ्ने बताए । गाडीवालाबाट प्रहरीले पैसा असुलेको प्रमाण सहित पेश गर्न आग्रह गदै उनले भने ‘गलत तरीकाले पैसा उठाएको पाईएमा तत्काल कारवाही हुन्छ ।’

दुई सय किलोमिटरमा १४ ठाँउमा चेकिङ्ग, यात्रुलाई सास्ती


जाजरकोट खलंगा देखि बाँकेको नेपालगञ्ज सम्म जाने क्रममा गाडीले ठाँउ ठाँउमा प्रहरी पोष्टमा चेकिङ्ग र इन्ट्री गर्नु पर्दा यातायात ब्यवसायी र यात्रुले निकै सास्ती खेप्नु परेको छ । करीव दुई सय किलोमिटर बाटोमा १४ ठाँउमा गाडी इन्ट्री गर्नुपर्ने बाध्यता छ । जाजरकोटको शान्तिचौतारा, मटेला, कुदु र छेडाचौरमा गाडी इन्ट्री गर्नुपर्छ । त्यस्तै सुर्खेतको राकम, बोटेचौर, मेहेलकुना, छिन्चु, हर्रे र बबई चेक पोष्टमा गाडी इन्ट्री गर्नुपर्छ । सल्यानको सल्लीवजार र बालुवा संग्रहीमा ईन्ट्री गर्नु पर्छ । बाँकेको चिसापानी ब्यारेकमा नेपाली सेना र चिसापानी प्रहरी पोष्टमा इन्ट्री गर्नु पर्ने बाध्यता रहेको यातायात ब्यवसायीहरुको भनाई छ । ठाँउ ठाँउमा गाडी इन्ट्री गर्नु पर्दा निकै झन्झट र ढिलाई हुने गरेको सनराईज यातायात समिति खलंगाका इन्चार्ज रमेश श्रेष्ठले बताए । सवै ठाँउमा इन्ट्री गर्दा करीब एक घण्टा समय त्यसै खेर जाने उनले बताए । ‘एउटा जिल्लामा एक ठाँउमा गरे भैहाल्थ्यो नि ५–१० किलोमिटरको फरकमा गाडी इन्ट्री गर्नुपर्छ जसले गर्दा यात्रुलाई समयमा गन्तब्यमा पुर्याउन ढिलाई हुने गरेको छ’,श्रेष्ठले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad