April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

शक्ति र राजिवः पहिलेका प्रतिस्पर्धी अहिले सारथी

राजेन्द्र कार्की । जाजरकोट

माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र काँग्रेसका राजिव विक्रम शाह २०७४ सालको चुनावमा प्रतिस्पर्धी थिए । एमाले सहितको बाम गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेतलाई काँग्रेस उम्मेदवार राजिव विक्रम शाहले कडा टक्कर दिएका थिए । शक्तिले ३२ हजार दुई सय ८१ मत प्राप्त गरि विजयी भएका थिए भने राजिबले २३ हजार दुई सय ८९ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शक्ति गृह, स्वास्थ्य र बन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । केन्द्रिय राजनितिमा पहँच राख्ने र माओवादी केन्द्रका प्रभावशाली नेताको रुपमा रहेका शक्ति यस पटक अघिल्लो चुनावका प्रतिस्पर्धी राजिबकै सहयोगमा ह्याट्रिक गर्ने दाउमा छन् । जिल्लामा लोकप्रिय छवि बनाएका राजिव र शक्ति सँगसँगै भोट मागिरहेका छन् ।

अघिल्लो चुनावमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गरेका उनीहरु यसपालि भोट साटासाट गर्ने गरी चुनावी मैदानमा छन् । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा शक्ति प्रतिनिधी सभा सदस्यका उम्मेदवार भएका छन् भने राजिव प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन् । शक्तिले राजिवलाई सघाउने छन् भने राजिवले शक्तिलाई सघाउने छन् । राजिब भन्छन् –‘शक्ति भान्जा देशकै लिडर हो । जिल्लाको लागि झनै चाहिने मान्छे हो । म पनि जिल्लामा केही गरौ । मेरो पुख्यौली ठाँममा भनेर नै समाजसेवा गर्दा गदै राजनितिमा आएको हो । हामी दुवै जिल्लाको लागि चाहिने मान्छे हो । त्यही भएर मैलै पार्टीको निर्देशन अनुसार संघमा छोडेर प्रदेशमा आएको हुँ । प्रदेशबाट पनि जिल्लाको धेरै विकास गर्न सकिन्छ । कर्णालीको समग्र विकास गर्न सकिन्छ । हाम्रो विश्वास छ । हामी आगामी पाँच बर्ष भित्र जिल्लालाई कायापलट गर्नेछौ ।’


प्रदेश क मा पनि युवा नेता काँग्रेस सभापति बेदराज जि चुनाव लड्नु भएको छ । संघमा माओवादी र प्रदेश दुवै काँग्रेसले पाएकाले पनि हामीलाई प्रचार गर्न र मत माग्न सजिलो भएको छ । हाम्रो जित सुनिश्चित छ नेता शाहले भने ‘हामी इमान्दारी पुर्वक जाजरकोटको समृद्धिका लागि काम गर्नेछौ हामीलाई विश्वास गरेर भोट दिनुहोस ।’
माओवादी केन्द्रका नेता बस्नेत पनि जिल्लाको समृद्धिका लागि राजिब र आफु बाम लोकतान्त्रिक गठबन्धन मार्फत एक ठाँउमा उभिएको बताए । जिल्लाका महत्वपुर्ण पुर्वाधार विकासको जग बसालेको बताउँदै आमागी पाँच बर्ष भित्र जिल्लामा देखिने र अनुभुति हुने गरि विकास र समृद्धिको बाटोमा लम्कने दावी गरे ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा बस्नेतका प्रतिस्पर्धीका रुपमा एमालेका निरज आचार्य र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की खडा भएका छन् । एमालेका आचार्य र स्वतन्त्र कार्की दुवै जना यस अघि बस्नेतका सारथी थिए । २०७४ सालमा बामगठबन्धन साझा उम्मेदवार रहेका बस्नेतलाई दुवै जनाले सघाएका थिए । आचार्य एमालेमा थिए भने कार्की माओवादीमै थिए । बामगठबन्धन भएपछि कार्की विप्लब नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार हुन पुगे भने आचार्य एमालेका उम्मेदवार । आचार्य र कार्की दुवै नयाँ अनुहार हुन् । बस्नेत भने २०७० सालमा एक्लै र २०७४ सालमा एमालेको सहयोगमा चुनाव जितेका थिए । यस अघिका दुई जना सारथी आचार्य र कार्की अहिले प्रतिस्पर्धी भएका छन्

माओवादी उम्मेदवार बस्नेत तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । सत्तारुढ कांग्रेस र एकीकृत समाजवादीको साथ पाएकाले पनि उनले सहज महसुस गरेका छन् । उनी भन्छन् ‘प्रदेश दुवै काँग्रेसले पाएको छ । संघ माओवादी केन्द्रले पाएको छ । त्यसैले गर्दा पनि गठबन्धनमा भोट माग्न र जित्न सजिलो छ ।’ चुनाव जित्नेमा उनी ढुक्क जस्तै देखिएका छन् ।


३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधार एमालेले २४ हजार ४ मत, कांग्रेसको २२ हजार ३४२ र माओवादीको १८ हजार ६२२ मत छ । एकीकृत समाजवादीको २ हजार ३३४ मत देखिन्छ । काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको भोट र एमालेको भोटको अन्तर करीव १८ हजारको छ । आफ्नो मत जोगाउँदा पनि गठबन्धन सहज अवस्थामा देखिन्छ तर क्रस भोट, स्वतन्त्रले काट्ने मत र किनवेच हुने मतले चुनावी नजिता तलमाथि पार्न सक्ने संभावना पनि उत्तिकै छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad