राजेन्द्र कार्की । जाजरकोट
आफुलाई नभएको अधिकार प्रयोग गरि बारेकोटको स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई गरेको काज सरुवा बदर गरिएको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रकाश गिरीले नियम विपरीत स्वास्थ्य शाखाले जथाभावी गरेको काज सरुवा बदर गरेका हुन् ।
गत असोज ९ गतेको निर्णय अनुसार भन्दै स्वास्थ्य शाखा प्रमुख रोकायले १२ जना स्वास्थ्यकर्मीलाई काज सरुवा गरेका थिए । स्वास्थ्य शाखा प्रमुखले आफुमा नभएको अधिकार प्रयोग गरेको र नियम विपरीत काज सरुवा गरेको भन्दै बुधवार प्रमुख प्रशासकिय अधिकृत गिरीले उक्त काज सरुवा बदर गरेका हुन् । उनले सवै स्वास्थ्यकर्मीलाई अर्को ब्यवस्था नभए सम्मका लागि साविककै स्वास्थ्य संस्थाबाट काम गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्यकर्मीहरु डम्बर बिक्रम कार्की, विमला रोकाय, करिष्मा सिंह, विष्णु कठायत, करिश्मा सिह, बिष्णु कठायत, तप्त बहादुर नेपाली, र झरना शाहीलाई पेलेर सरुवा गरिएको थियो । आफु निकटका स्वास्थ्यकर्मीहरु सरस्वती सिंह, सरस्वती शाह, पदम रोकया र तुल बहादुर नेपालीलाई घरपायक काज सरुवा गरिएको थियो । आस्थाका आधारमा छानीछानी अवैध तरीकाले पेल्ने कार्य भयो । नियमविपरीत गरिएको काज सरुवाको विरोध जनाएपछि सरुवा बदर भएको स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य वीरराज सिंहले बताए ।
यस अघि स्वास्थ्य शाखा प्रमुख रहेका सिंहलाई हटाएर गत भदौ २८ गते रोकायलाई गाँउपालिकाले शाखा प्रमुखको जिम्मेवारी दिएको थियो । नभएको अधिकार प्रयोग गर्ने रोकायलाई गाँउपालिकाले कस्तो कारवाही गर्छ त्यो भने केही खुलाएको छैन ।


