जनक केसी । जाजरकोट
केहि दिन पहिले जाजरकोट कार्कीगाउँ निवासी जीवन रुपान्तरण विषयका अन्तराष्ट्रिय प्रशिक्षक नरवहादुर कार्कीले मलाइ फेसवुकको मेसेन्जरमा मेसेज गर्दै भने “जनक सर अहिलेका नेता र कार्यशैली निकै अलोकप्रिय भए मैले नयाँ ढंगले जाने विचार गरेर चुनावमा लड्ने निर्णय गर्दैछु, हजुरहरु सवैको साथ चाहियो” अनि मैले जवाफमा भने जिल्लामा नेता हुन समस्या पनि छैन तर जनताको खास प्रतिनिधि हुन समस्या छ । चुनावका वेला मात्रै जाजरकोट र जाजरकोटी जनताप्रति गम्भीर भए जस्तो गर्ने त्यपछि सुन्डमुसुन्डहरुको घेरावन्दीमा परेर चुनावी वाचाहरु भुल्ने कुरा नै अहिलेको मुख्य समस्या भएको छ । तपाइलाइ पनि नेता वाट जनप्रतिनिधि हुने इच्छा छ भने जिल्लाका वेरोजगार युवाहरुलाइ यतै रोजगारी दिएर विदेश जानवाट रोक्नुस अनि जनता आपत, पिडा र अन्यायमा पर्दा वहाना वनाएर नभाग्नुस ।
चुनावका वेला मात्रै जनतालाइ नमस्कार गर्दै घर घर नडुल्नुस, जनता दुख लिएर तपाइको ढोकामा आउदा गम्भीर भएर सुन्दिनुस अनि जनताका पिडाहरु कम गर्ने मौलिक र यथार्थ कोशिस मात्र गरिदिनुस । चैते हनुमान र भाडाका समर्थक लिएर जनताको घरमा नजानुस् । त्यसपछि तपाइले म चुनाव लड्छु भन्नु पर्दैन जनताले तानेर चुनाव लडाउछन् अनि जिताउछन् पनि । मेरो लामो सवालहरुको प्रतिउत्तरमा कार्कीले भने“ एकदम ठीक कुरा हो म यस्तै कोशिस गर्छु मैले सोचेको पनि यस्तै हो ” त्यसपछि उनीसंग थप कुरा भएन । हाम्रो कुरा भएको केहि दिन पछि कार्कीले जाजरकोटवाट प्रतिनिधि सभाको चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको सुनेँ । उनको घोषणापछि मेरा मनमा धेरै कुरा खेल्न थाले ।
चुनावमा उम्मेदवारी घोषणा गर्दा र चुनावमा प्रचार प्रचार गर्दाका वखतको वोली, व्यवहार र क्षमता र चुनाव सकिएपछिको वोली, व्यवहार र क्षमतामा किन यति धेरै भिन्नता आउछ होला भनेर सोचेँ । चुनावका वेला सवै गर्न सक्नेहरु चुनावपछि किन धेरै काम गर्न नसक्ने वन्छन् होला ?यसै विषयमा सोच्दै जादा आँखा भरि विकासका नाममा हुदै गरेका वेथिति र अकर्मण्यताका आकृतिहरु आइरहे । जनताले जिल्लाका नेता र नेतृत्वहरु प्रति जुन सवालहरु उठाइरहेका छन ती सवै मेरो मनमा पनि उठन थाले ।जनतामा व्यापक आक्रोस, गुनासा, असन्तुष्टिहरु छन् यस्तो वेला उम्मेदवारहरु कसरी मंसिर ४ गतेको चुनावमा जनताका घरमा गएर भोट माग्लान ? अनि जनताले कसरी कसलाइ भोट हाल्छन् होला ?यो वारे सोच्दै जाँदा मेरो मन भरि चिन्ता र चासोका डुवुल्कीहरु सक्रिय भइरहे ।
अनि विगत १० वर्षको अवधिमा जिल्लामा लथालिंग भएका विकास र वेवास्ताका चित्रहरु प्रकट हुन थाले ।अनि आफैभित्र प्रश्नहरु उव्जिन थाले । भेरी नगरपालिका वडा नम्वर ३ को ठाँटीवजार देखि सोहि नगरपालिकाको वडा नम्वर ४ गैरीखाली सम्मको दुरी एक किलोमिटर होला । जाजरकोट सदरमुकामको सवै भन्दा वढी चलन हुने या जिल्लाका सवै जनता, नेता र कार्यकर्ताहरुले हिड्ने यो वाटोलाइ मोटरेवल वनाउन थालेको पाँच वर्ष पुगिसकेको छ तर पुरा भएको छैन, किन होला ? एक किलो मिटर सडक वनाउन पाँच वर्ष लाग्ने कारण के होला ?जिल्लामा आउने जो कोहि आगन्तुक होस या गाउँवाट सदरमुकाममा विभिन्न कामले आउने सर्वसाधारण दलका नेता कार्यकर्ता अनि कर्मचारी सवैले हिड्नै पर्ने वाटो हो ठाँटीगैरीखालीको वाटो । स्थानीय तहको चुनाव जितेका, प्रदेश र संघको चुनाव जितेका सवै माननीय तथा तानीय र ज्युहरुले सधैंजसो हिड्नुपर्ने वाटो पनि यहि हो । यति मात्र होइन खलंगा पाँचकटिया हुदै पैंक जाने सडक जोखिमपुर्ण वनेको १०÷११ वर्ष भइसक्यो । सडकको गुणस्तरहिनता र जोखिमताका कारणले आधा दर्जन वढी निरिह जनताले ज्यान गुमाइसके तर यो सडक सुध्रिने दिन अहिले सम्म आएको छैन,किन होला ? सर्वसाधारणहरुले सरर गाडी चढेर यात्रा गर्न त के पैदलै भएपनि निर्धक्कसंग यात्रा गर्न पाउन लायक छैन यो सडक ।
यस्तै छेडाचौर देखि थलह सम्मको सडकको अवस्था पनि उहि हो ।न सडकको अवस्था सुध्रिन्छ न ज्युहरुको दृष्टि पुग्छ, यो सडकमा आखिर किन होला ? कुसे, नलगाड, वारेकोट , जुनीचाँदे र शिवालयका जनताले अगतिलो फोन टावरका कारण पटक पटक दुख पाउन लागेको धेरै भयो । यो विषयले नेताहरुको दिलदिमागमा प्रवेश पाएको होला कि नहोला? भेरी ज्ञानोदय क्याम्पसको भवनमा गत तीन वर्ष देखि सन्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी कोर्ष पढाउने विषयगत शिक्षकहरु आवस्यकता अनुसार नआएको तीनै वर्ष भयो ।जनताका छोराछोरीले चर्काे व्याजमा क्रृण कारेर पैसा तिरेका छन् तर त्यहाँ पढाउने शिक्षक चाहिन्छ भनेर विद्यार्थीले वोलेको वोलि सम्वन्धित ठाउँमा पुरयाइदिने र सुनिदिने कसले होला ? विद्यार्थीको अधिकार र भविष्यलाइ ठट्टामा लिएर विषयगत शिक्षकको व्यवस्था नगरेर फार्मेसीको तीन वर्षे कोष सकिने अवस्थामा पुगेको छ । यतातिर ध्यान दिने कोहि माननीय र ताननीय तथा ज्युहरु नहुनुको कारण के होला ? खलंगामा वृहत खानेपानी वन्न लागेको पनि धेरै समय भइसक्यो तर जनताको घरमा पानी कहिले पुग्ने होला ?प्रति परिवार १० हजारका दरले नगद पैसा तिरेका जनताले निर्धक्कसंग पानी पिउन पाउँला भनेर कुर्दाकुर्दै दुइ तीन चुनाव जान लागिसकेको छ । जनताको घरमा पानी कुन चुनावपछि पुग्छ होला ? कुशे वारेकोट र नलगाडतिर वेवारिसे अवस्था छोडिएका विजुलीका पोल र तारहरु उठाएर विजुली वालिदिने कसले होला? जिल्ला सदरमुकाममा एउटा गतिलो सार्वजनिक मन्च वन्न नसक्दा कति समस्या छ अहिले सम्म एउटा व्यवस्थित सार्वजनिक मन्च किन नवनेको होला? जाजरकोट अस्पतालको सेवा सुविधाको वारेमा जनताको व्यापक असन्तुष्टि र गुनासाहरु छन ।यी गुनासाहरु के साँचिकै होलान कि जनताले झुट वोलेका होलान ? यस्तै पछिल्लो पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न गाउँ र वस्तीहरुमा धेरै हत्याका घटना भए ।
स्याँलाका प्रकाशजंग शाह, स्याँलाकै रविलाल सुनार, रानागाँउका नवराज विक लगाएतका युवा तथा महिलाहरुको हत्या पछि उनीहरुका परिवारहरु विक्षिप्त छन् । उनीहरुले न्याय पाउने दिन आउला कि नआउला ?यी अपराधका पिडितहरुलाइ कानुन्का नजीरहरुले भुत वनेर झस्काइरहेका छन् ।
सामान्य नागरिकहरुले मुद्धा जित्नु र न्याय पाउनु भनेको नेताका भोट घट्नु रकान्न व्यावासायीको गोजी रित्तो हुनु जस्तै छ । यो अवस्था कहिले हट्छ अनि कसले हटाउछ होला ? यहाँ पिडितले न्याय पाउने कुरा आश्चर्य जस्तै हुन्छ । पैसा र पावरको पक्षमा नलडेर न्यायको पक्षमा लड्ने दिन कहिले आउला ? स्थानीय सरकार देखि अन्य निकायमा माननीय ताननीय र ज्युहरुको भक्त र हनुमान वाहेक अन्य सामान्य नागरिकहरुलेपनि न्यायपुर्वक करारको जागरि पाउने दिन कहिले आउला?वडावनको अस्पताल कहिले वन्छ होला ?आफनै आँखा अघिको सार्वजनिक सँस्थाहरुमा चरम वेथिति गर्नेहरुलाइ स्थानीय सरकारले निष्पक्ष रुपले कारवाहि गर्ने दिन कहिले आउछ ? कालेगाउँ देखि रिम्ना सम्म कालोपत्रे हुन ५ वर्षले पनि किन पुगेन होला ? कुदुका जनताले पानी पिउने भरपर्दाे धाराहरु कहिले वन्छन् होला? कुदुका आमा तथा दिदिवहिनीहरुले पानीको जोहो गर्न पाएको दुख पिडा र कष्ट वुझ्ने सरकार कतै होला कि नहोला ?विकासका योजनाहरु गाउँ नगर देखि संघ प्रदेश सम्म नेताका भक्तहरुले मात्रै पाउने चलन कहिले सम्म रहन्छ होला? योजना ल्याए वा पारे वापत नेताहरुलाइ कमीसन कहिले सम्म दिनु पर्छ होला ? एक दिनमा पचास पटक सम्म विजुली गइरहने दिन कहिले कसले अन्त्य गर्छ होला ? चुनाव भन्दा अघि जनताका अनन्य मित्र जस्तै नेता चुनाव जितेपछि शासक वन्ने चलन छ । जनताका प्रतिनिधि भनेका जनताका साथी सहयोगी नै हुन तर यहाँ त्यस्तो अनुभव जनतासंग छैन । जाजरकोटी जनताले सवैतिर दुखसुखको साथी जस्तै जनप्रतिनिधि कहिले पाउछन् होला ? अवको चुनावले पनि शासक नेता जन्माउला कि जनप्रतिनिधि जन्माउला ?यी माथि उल्लेख गरिएका दर्जन वढी सवाल र विषयहरु प्रतिनिधिमुलक घटना र विषयहरु मात्र हुन् ।यी सवालहरु संक्षेपमा कुनै निस्चित भुगोल र चरित्रसंग जोडिएका छैनन् । यीनले समग्र जिल्लाको विकासको गति, हामीले चुनेका नेता र प्रतिनिधिहरुको मति,नियत, क्षमता, योग्यताका सवै कुरालाइ मुखरित गर्ने काम गरेका छन् । सवालहरु सिमित रुपमा उठाइएको भएपनि चासो चिन्ता, सरोकार, समस्याको तरंग जिल्ला भरिकै हो ।
देशवाट राजतन्त्र सम्पुर्ण रुपले अन्त्य भएको १४ वर्ष नाघेको मात्र छैन गणतान्त्रिक व्यवस्थाको परिकल्पना अनुसार शासन सन्चालनका लागि जनताले सरकार चुन्न थालेको पनि १५ वर्ष पुरा भएको छ ।पहिलेको समय राजतन्त्रका विरुद्ध लड्दैमा वित्यो तर अहिलेको समय दल र दलका नेताहरु आफु आफु लड्दैमा वितेको छ ।स्वभाविक रुपमा भएको र हुनै पर्ने विकासका सिमित गतिविधिहरु पनि आफनै कारण भएको कुतर्क गर्दै राजनीतिलाइ संकुचित वनाउने काम गरेको छ ।जनताको आवाज र मत चुनावको प्रचार गर्ने वेला मात्र सुनिने र वुझिने गर्नु कदापि लोकतान्त्रिक मर्म होइन ।गर्दा हामीले गरेका जनपक्षीय काम र उपलव्धीको विवरण जनताका अघि पस्किनु पर्ने जरुरी आवस्यकता छ । नेता पार्टीको वयानले मात्र हाम्रो समृद्धि सम्भव छ्रैन ।हामी हाम्रो नेताको वयान र चर्चा अस्वभाविक रुपले गरिरहेका छौं ।सामाजिक स्वार्थ र आम हितका लागि दल भन्दा माथि उठ्नै नसक्ने राजनैतिक चरित्र हाम्रो गाउँ ठाउँको विकासको वाधक हो । चुनावी नारा भुल्दै जाने, सार्वजनिक पदर जिम्मेवारीलाइ व्यक्तिगत रसमुहगत स्वार्थमा प्रयोग गर्न मात्र उक्सिरहने जस्ता कारणले जनताको माग आवस्यकता र पिडाको कुनै सम्वोधन हुने अवस्था छैन । दल भन्दा माथि जनता हुन्छन् पद भन्दा माथि जिम्मेवारी हुन्छ आवस्यकता भन्दा माथि नैतिकता हुन्छ भन्ने कुरालाइ हाम्रा नेता र जनप्रतिनिधिहरुले भुलेको आभाष जनताले गरेका छन् ।यो अवस्थामा गणतान्त्रिक संविधान वनेपछिको दोस्रो पटक संघीय संसद र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ ।
अव यो चुनावमा माथिका तमाम जनताका गुनासा र पिडाहरुको विचमा पार्टीका उम्मेदवारहरुले के भनेर जाने ?स्वतन्त्र उम्मेदवारहरुको पनि कुनै निहित दाउ हो भने पनि उनीहरुको पहिचान र चरित्रको नामाकरण उहि हुनेछ । जनताले असन्तुष्टि गालीमा पोख्ने होइन मतमा पोख्ने हो भने धेरै कुराको सुधार हुन सम्भाव छ ।कुनै पनि नेताले आस्वासन दिएकै भरमा जनजिप्रिय मानिहाल्नु पर्ने जरुरी देखिदैन ।काम र जिम्मेवारीमा नदेखिएको इमान्दारीता र जवाफदेहितालाइ हामीले खोजी खोजी भ्रमपुर्ण तरिकाले देखाउन पनि जरुरी छ्र्रैन ।सहज रुपमा गर्न सक्ने सामान्य काम गरिदेउ भनेर जनताले विन्ति गर्दा पनि गर्न नसक्ने केहि नेतृत्वको स्वभाव र शैली छ । पहुच र पावर दुवै भएका नेताले समेत जनताको सामान्य विन्तिलाइ वास्ता गर्न सक्दैनन् भने सधैं उनीहरु प्रति जनता झुकिरहनु पर्छ भन्ने पनि छैन । यस्तै काम केहि नगर्ने तर गरेको वढी हल्ला गर्ने र त्यसको फगत व्याजलाइ कमाइ खाने भाँडो वनाउनेहरुलाइ पनि समयमै सवक सिकाउन जनताले सक्नुपर्छ । जनता दास होइनन शक्ति हुन भन्ने कुरा लिखतहरुमा होइन अव व्यवहारमा देखिनु पर्छ । यी सवै विषयहरुले के भन्छन् भने अहिले सम्म हामीले चुनेका या नचुनेका सवै नेता मात्रै भए ।जनतावाट चुनिएर पनि जनप्रतिनिधि हुन सकेनन् । जनप्रतिनिधि जनतावाट चुनिएर मात्रै भइदैन गुणिएर हुनु पर्छ ।भाषण र हल्लाले जनप्रतिनिधि भइदैन । जनप्रतिनिधि हुन, जनताको नेता हुन र जनताको असली प्रिय हुन जवाफदेहिता र व्यावहारिकता चाहिन्छ । भनेर जनप्रिय भइदैन काम गरेर हुने हो । यसैले जाजरकोटी जनताका हरेक पिडा भावना र अनुभुतिले भन्छन् “नेता ज्यु असली जनप्रतिनिधि कहिले वन्ने ?”जनताको यो प्रश्नको उत्तर मंसिर ४ पछि मिल्ला कि नमिल्ला हेर्न वाँकी छ । धन्यवाद ।


