राजेन्द्र कार्की । जाजरकोट
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य पदको निर्वाचनका लागि नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहको नाम एकल सिफारिस भएको छ । संघिय साँसदका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता तथा समाजसेवी राजिव विक्रम शाहको नाम सर्बसम्मत रुपमा केन्द्रमा पठाइएको हो ।
जिल्लामा जनता माझ लोकप्रिय नेताको छवि बनाएका शाहलाई संघिय साँसदको उम्मेदवार बनाउने गरि नाम सिफारिस गरिएको पार्टी सभापति बेदराज सिंहले बताए । युवा नेता रामजंग शाहले पनि उम्मेदवार हुन इच्छा देखाएपनि उनलाई समानुपातिकमा ब्यवस्थापन गरेर राजिवको नाम एकल सिफारिस गरिएको सभापति सिंहले बताए । २०७० सालको संविधान सभाको निर्वाचनमा जाजरकोटबाट विजयी भएका शाह २०७४ सालमा बामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शक्ति बस्नेत सँग पराजित भएका थिए । जाजरकोटमा फैलिएका विभिन्न महामारीमा ब्यक्तिगत रुपमा सहयोग पुरयाएका शाहले स्वास्थ्य क्षेत्रमा जिल्लामा सहयोग पुरयाउँदै आएका छन् । जिल्लाको छेडागाड ५ बडाबनमा पाँच करोड रुपैया निजी लगानीमा अस्पताल निर्माण गरेका छन् । कोभिड महामारीको बेला कर्णाली प्रदेश अस्पताललाई एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका थिए । त्यस्तै जाजरकोट अस्पताललाई पनि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका शाहले यस पटक जनप्रतिनिधी बनेर जनताको सेवा गर्ने बताएका छन् । समाजसेवा मार्फत राजनितिमा आएका शाह प्रधानमन्त्री शेरबहादुर देउवाका विस्वासपात्र मानिन्छन् ।

जनताले आफुलाई साँसद भएको हेर्न चाहेकोले पार्टीले आफुलाई विश्वास गरेर टिकट दिनेमा शाह विश्वस्त छन् । गठबन्धनले आफुलाई टिकट नदिएर अरुलाई दिए जित्न गाह्रो हुने भएकोले जित निकाल्नका लागि पनि काँग्रेसको भागमा जाजरकोट पर्नु पर्ने शाहको भनाई छ । माओवादी केन्द्रका नेता शक्ति बस्नेतको निर्वाचन क्षेत्र पनि जाजरकोट नै भएकोले गठबन्धनको रोजाईमा कुन नेता पर्लान भन्ने चासोको विषय बनेको छ । एमालेले भने जाजरकोटबाट युवा नेता निरज आचार्यलाई अघि सारेको छ । त्यस्तै सामाजिक अभियान्ता नरबहादुर कार्कीले स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
काँग्रेसले संघिय साँसदको समानुपातिकमा मैना कार्की, महेन्द्र शाह, रामजंग शाह, जनक नेपाली बादीलाई सिफारिस गरिएको छ ।


