April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

ओत लागेको घर पहिरोले पुर्दा दुई बर्षिय छोरी सहित आमाको मृत्यु,अर्की छोरीको जीवितै उद्धार

राजेन्द्र कार्की । जाजरकोट

पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा आईतबार आएको पहिरोमा परेर एक घरमा ओत लागेका दुई बर्षिया छोरी सहित आमाको मृत्यु भएको छ । पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार गरिएको छ ।

पिपलचौरमा रहेको सामुदायीक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका १ मैदैकी ३० बर्षिया बालमती राना र उनकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहेका छन् ।जेठी छोरी ६ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनले बताए । घटना आइतवार दिउसो साढे तिन बजेतिर भएको थियो ।

आईतबार जाजरकोटको नलगाड नगरपालिका १ स्थित माईतीघरबाट तीजको दर खाएर घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए । सोहि समयमा भवन माथीबाट एक्कासी आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन् । नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताए । घाईते तिर्सनालाई भेरी नगरपालिका १ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए ।

वडा अध्यक्ष पुनका अनुसारपहिरोले सोहि ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेको छ । पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पुरेको छ भने सामुदायिक वनको भवन पूर्ण रुपमा क्षति भएको छ । पहिरोसँगै आएको बाढीले स्थानीयका केहि घर जोखिममा छन् भने धानखेती बगाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकि रहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad