प्रवाह संवाददाता । जाजरकोट
प्राकृतिक प्रकोपका कारण घरबार विहिन भइ विस्थापित हुन पुगेका र खानेकुराको अभावमा जीवन निर्वाहमा समस्या परेका बारेकोटका बाढीपहिरो पिडित लगायतका पिडित परिवारलाई सहयोग जुटाउन जाजरकोट विपद् सरोकार समिति गठन गरिएको छ ।
नागरिक अगुवा राजेन्द्र विक्रम शाहको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यहरुमा राजेन्द्र कार्की, जनक केसी, काशिराम कार्की, सहदेव बस्नेत, दिनेश श्रेष्ठ, सुरेन्द्र सिंह, तिलक खत्री, दीपबहादुर घर्ती, कृष्णप्रसाद आचार्य, सपना वली र लोकेन्द्र विश्वकर्मा रहेका छन् ।
सामाजिक अभियान्ता तथा प्रशिक्षक नरबहादुर कार्कीको पहलमा संकलन भएको एक सय क्वीन्टल खाद्यन्न यहि समिति मार्फत पिडित परिवारलाई प्रदान गरिने भएको छ । अभियान्ता कार्कीले खान नपाएर कोही पनि नागरिक समस्यामा नपरुन भनेर आफुले पिडित विपन्न परिवारका लागि केही खाद्यन्न जुटाउने अभियानमा रहेको बताए । जाजरकोट विपद सरोकार समिति मार्फत जोखिममा परेका वास्तविक पिडित परिवारलाई राहत पुरयाउन हातेमालो गरेर अघि बढ्ने अभियान्ता कार्कीको भनाइ छ ।
समितिले खाद्य संकटको चपेटामा परेका बारेकोटका तीन सय परिवार र अन्य पालिकाबाट तीस परिवारका दरले कम्तिमा पाँच सय परिवारको तथ्यांक संकलन गर्न समितिको सदस्यहरुलाई जिम्मेवारी समेत तोकेको छ । एक साता भित्र उक्त तथ्यांक संकलन गरिसकेपछि अभियान्ता कार्की लगायतका ब्यक्ति तथा संस्थाले पठाएको राहत सामग्री कसरी कुन कुन परिवारलाई दिने भन्ने निर्णय गर्ने संयोजक राजेन्द्र विक्रम शाहले बताए । उनले जाजरकोटी सेवा समाज काठ्मान्डौ, जाजरकोट बाँके सम्पर्क समिति लगायतका दाता तथा संस्था समक्ष सहयोगको लागि अनुरोध गर्ने निर्णय गरिएको बताए ।
बारेकोटमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । ५६ घर पहिरोले भत्किएका छन् । एक हजार ५५ घरपरिवार विस्थापित भएका छन् । यतिवेला बारेकोटका विस्थापित परिवार भोेकमरीको चपेटामा परेको छन् ।