राजेन्द्र कार्की । जाजरकोट
अत्याधिक रक्तस्रावका कारण जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका १० काफ्ला निवासी २७ बर्षिया पशुपति थापा पुनको मृत्यु भएको हो ।
सोमवार विहान ४ बजेतिर घरमै सुत्केरी भएकी पशुपतिको रक्तस्राव नरोकिएका कारण विहान १० बजेतिर मृत्यु भएको उनका पति शंकर पुनले बताए । रक्तस्राव नरोकिएपछि उपचारका लागि कुशे गाँउपालिका ७ बाटुले बजारमा रहेको एक मेडिकलमा लगिएको थियो । तर मेडिकलमा पनि उपचार हुन नसकेपछि उनको मृत्यु भएको हो । बच्चा भने सकुसल रहेको छ ।
धेरै रगत बगिसकेको थियो । अन्तिम अवस्थामा मेडिकलमा ल्याईएकी ति सुत्केरी महिलालाई रगत चढाउनु पर्ने अवस्था थियो तर मेडिकलमा त्यस्तो सुविधा थिएन मेडिकल संकलक अहेब प्रवेश थापाले भने ‘सुत्केरीलाई बचाउन धेरै कोशिस गर्यौ तर धेरै रगत बगिसकेकाले बचाउन सकेनौ ।’ जिल्लामै रगत दिने किसिमका सुरक्षित प्रसुति गृह नहुँदा धेरै महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् ।
भरपर्दो स्वास्थ्य संस्था नहुँदा घरमै असुरक्षित तरीकाले सुत्केरी हुँदा उनले अकालमा ज्यान गुमाउनु परेको हो । समस्यामा परेका दुर्गमका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उद्धार गर्ने गरिएपनि उक्त सुविधाबारे जानकारी नपाउँदा ति महिलाको अकालमा ज्यान गएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए । जनचेतनाको अभावले घरमै असुरक्षित तरिकाले सुत्केरी हुने, दक्ष स्वास्थ्यकर्मी र प्रसुति भवनको अभाव, भौगोलिक विकटता लगायतका कारणले दुर्गमा धेरै सुत्केरी महिला जोखिममा रहेको डा. पुनको भनाई छ । जटिल अवस्थाका एक दर्जन महिलाको भने हवाई उद्धार पछि ज्यान जोगिएको छ ।