होम सेन्टर परिवर्तनले दुर्गमका विद्यार्थीलाई सास्ती

राजेन्द्र कार्की । जाजरकोट
त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल यतिवेला निकै तनावमा छिन । आउदो १४ गते देखि १२ कक्षाको परीक्षा हुँदैछ । परीक्षाको तयारीमा रहेकी उनलाई परीक्षा कसरी दिने भन्दा पनि परीक्षा दिन जाँदा कहाँ बस्ने ? कहाँ खाने ? को सँग बस्ने ? भन्ने चिन्ताले सताईरहेको छ । परीक्षालाई मर्यादित बनाउने भन्दै सरकारले ‘होम सेन्टर’बाट परीक्षा दिन नपाउँने नियम बनाएपछि उनले सदरमुकामबाट करीब ३० किलोमिटर टाढा रहेको दिपेन्द्र मावि कालाभुरमा गएर परीक्षा दिनुपर्ने भएको छ ।
यातायातको असुविधा, भौगोलिक विकटताका कारण परीक्षार्थीहरु आउजाउ गर्न सक्ने अवस्था छैन । त्यही डेरा लिएर बस्नुपर्ने अवस्था छ तर कालाभुरमा पातलो बस्ती भएकाले डेरा पाउन पनि समस्या र होटल पनि नभएका कारण आफुहरु समस्यामा परेको मल्लले गुनासो गरिन । सोही विद्यालयकी छात्रा अनिता खत्रीले पनि ‘होम सेन्टर’ परिवर्तनका कारण आफुहरु मर्कामा परेको बताइन । परीक्षा केन्द्र रहेको कालाभुर गाँउमाम कोठा नपाएको र खानेबस्ने समेत समस्या रहेको उनको गुनासो छ । गत बर्ष यस विद्यालयका विद्यार्थीले नजिकै रहेको भेरीज्ञानोदय बहुमुखी क्याम्पसबाट परीक्षा दिएका थिए ।
विद्यालय तहको अन्तिम परीक्षाको रुपमा रहेको कक्षा १२ को परीक्षा मर्यादित बनाउने भन्दै ‘होम सेन्टर’ परिवर्तनले विद्यार्थीहरु असुरक्षित महसुस गरिरहेका छन् । खानेबस्ने र छात्राहरुको सुरक्षा संवेदनशीलताको कारण धेरै विद्यार्थी र अभिभावक तनावमा रहेको त्रिभुवन माविका शिक्षक जनक केसीले बताए । आफूले पढेका घरनजिकका विद्यालयको सट्टा टाढाका विद्यालयमा परीक्षा केन्द्र तोकिएपछि आर्थिक र मानसिक समस्या भइरहेको विद्यार्थी र अभिभावकको गुनासो छ । वर्षभरीको पढाइमा जोड दिनुपर्नेमा सिकाइ सुधार्ने नाममा परीक्षा केन्द्र परिवर्तन गर्ने कामले विद्यार्थीलाई मर्का परेको भेरी नगरपालिका–३ का अभिभावक दीपक खनालले बताए ।
‘होम सेन्टर’ परिवर्तनले परीक्षामा सहभागी हुने विद्यार्थीले खाद्यान्न बोकेर केन्द्र नजिकका बस्तीमा कोठा खोज्न समस्या भइरहेको खनालले बताए । ‘सरकारी निकायले वर्षभरी पढाईमा ध्यान दिँदैनन् । होम सेन्टर भनेर परीक्षाको बेला विद्यार्थीलाई कपी, किताव, लत्ताकपडा र खाद्यान्न बोकेर अन्य ठाउँमा पठाउन हामीलाई असहज भएको छ,’ उनले भने, ‘आफूले बसेको ठाउँ र पढेको विद्यालयभन्दा टाढा जाँदा बालिकामाथि दुब्र्यवहारको जोखिम हुन सक्ने चिन्ता पनि उत्तिकै छ ।’ त्यसैले परीक्षाका बेला विद्यार्थीलाई टाढा पुर्याएर तनाव दिने काम बन्द गरिनुपर्ने उनले बताए ।
होम सेन्टर परिवर्तन भएकाले १२ कक्षा सम्म पठनपाठन हुने जाजरकोटका ३७ वटा माविका विद्यार्थीले जिल्लाभरका १८ वटा परीक्षा केन्द्रबाट ६ हजार ८ सय परीक्षार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटले जनाएको छ । पढेको विद्यालयमै परीक्षा केन्द्र हुँदा पनि सम्बन्धित विद्यालयको अन्यत्र केन्द्र तोकिनु बालबालिकालाई जोखिम र झन्झटमा पार्ने काम भएको अधिकारकर्मी खम्बजंग शाहले बताए । ‘परीक्षाको बेला छात्रभन्दा छात्रालाई संरक्षणको जोखिम हुन्छ,’ उनले भने्, ‘बस्ने खाने असुविधा त छदै छ, हिंसा र दुब्र्यवहारको जोखिम पनि त्यत्तिकै हुन्छ ।’ यो समस्या जाजरकोटको मात्र होइन । समग्र कर्णाली प्रदेश र दुर्गम जिल्लाहरुको हो । भौगोलिक विकटता, यातायातको असुविधा, खानबस्नको असुविधाका कारण होम सेन्टर परिवर्तन दुर्गमका विद्यार्थीको लागि ब्यवहारिक नभएको स्थानियको भनाई छ ।

सवै विद्यालयमा परीक्षा केन्द्र राख्ने नसकिने भएकोले अर्को विद्यालयमा गएर परीक्षा दिनै पर्छ । केन्द्र भएका विद्यालयलाई पनि अन्य विद्यालय सरह अर्को विद्यालयमा पठाउन सेन्टर परिवर्तन गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख यज्ञश्वर खत्रीले बताए । उनले होम सेन्टर परिवर्तन राष्ट्रिय परिक्षा बोर्डको निर्देशन अनुसार गरिएको सुनाए । परीक्षामा अमर्यादित गतिविधि रोक्न, विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिको सही मापन गर्न, विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न परीक्षा बोर्डको मापदण्डअनुसार केन्द्र तोकिएको उनले बताए । एसइइमा पनि होम सेन्टर परिवर्तन गरेर नै परीक्षा गराइएको उनले बताए ।
तर परीक्षालाई मर्यादित बनाउने नाममा परीक्षाको बेला झोलीझिम्टी बोकेर विद्यार्थीलाई डेरा खोज्न पठाउनु ब्यवहारिक नभएको अभिभावकको गुनासो छ । विद्यार्थी र अभिभावकको गुनासो सुनाएपछि हालै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद खुश्बु ओलीले शिक्षामन्त्री सस्मित पोखरेललाई भेटेर जाजरकोट लगायतका दुर्गमका विद्यार्थीको समस्या लिखित रुपमै बुझाउँदै परीक्षा केन्द्रबारे पुर्नविचार गर्न माग गरेकी छन् । त्यस्तै सामाजिक सञ्जालमा समेत भिडियो सन्देश मार्फत समस्या समाधान बारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जाजरकोटले पनि विद्यार्थीलाई दुःख दिने गरि भैरहेको होम सेन्टर परिवर्तनको निर्णय नै खारेज गर्न सरकारको ध्यानाकर्षण गरेको जनाएको छ ।
जाजरकोटबाट निर्वाचित साँसद खडक बहादुर बुढाले पनि होमसेन्टर परिवर्तनले विद्यार्थीलाई दुःख दिएको भन्दै एसइइ र १२ कक्षाको परीक्षा विद्यार्थीले सम्बन्धित विद्यालयबाट भयरहित वातावरणमा दिन पाउने ब्यवस्था मिलाउन सरकार सँग आग्रह गरेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya