राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको वारेकोट गाउँपालिका २ लिम्सा स्थित प्राथमिक स्वास्थ्य केन्द्रका कार्यरत मेडिकल अधिकृत डाक्टर नवीन सहनीलाई कुटपिट गर्ने स्थानिय तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरेका युवाहरुले डाक्टर सहानी माथि शुक्रवार राती कुटपिट गरेका थिए ।
डाक्टर कुटपिटमा संलग्न तीन जनालाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय सुरेन्द सिंह, चक्र वुढा र पदम नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले बताए । पक्राउ परेका तीनै जनालाई सदरमुकाम झिकाईएको डिएस्पी श्रेष्ठले जानकारी दिए ।
शुक्रवार राती आठ बजेतिर आफु वसेको कोठामा आएका उनीहरुले जाथाभावी गाली गर्दे आफुलाइ कुटपिट गरेको डाक्टर सहानीले वताए । ती युवाले डाक्टर सहानीको निवासभित्र तोडफोड समेत गरेका छन् । पर्सा जिल्ला निवासी डाक्टर सहनी नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेर दुइ वर्षका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा खटिएका छन् ।
दुर्गममा आएर जनताको सेवा गरिरहेका डाक्टरलाइ कुट्ने जो भएपनि अपराधी भएको र उनीहरुलाइ हदै सम्मको कारवाही हुनु पर्ने बारेकोट गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।