राजेन्द्र कार्की । जाजरकोट
स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसेर जिल्ला बाहिरबाट आएका केही मजदुरहरु भेरी नगरपालिका १ पिपे स्थित एक ओडारमा बसेको पाईएको छ । केही दिन अघि नुवाकोट र बैतडीबाट आएका भेरी नगरपालिका १ का १४ जना मजदुरहरु गाँउकै जंगलमा रहेको ओडारमा एकान्तबास बसिरहेका छन् ।
जिल्ला बाहिरबाट आएकालाई राख्न वडाले बागेश्वरी आधारभुत विद्यालयमा क्वारेन्टाइन बनाएपनि उनीहरु ओडारमै बस्ने भनेपछि वडाले त्यही आवश्यक लत्ताकपडा र खाद्यन्नको ब्यवस्था गरिएको वडाध्यक्ष दीपक रानाले बताए । भेरी नगरपालिकाले जिल्ला बाहिरबाट आउनेहरुलाई राख्नको लागी सदरमुकामको त्रिभुवन माविमा बनाएको क्वारेन्टाइन पनि रित्तै छ । नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन रित्तै छन् तर उनीहरु ओडारमा सँगै कोचिएर बस्ने गरेका छन् । कतिपयले घरबाटै खाना नास्ता मगाउन गरेका छन् । लत्ताकपडा पनि घरबाटै लिएका छन् । सात जना नुवाकोट र सात जना बैतडीबाट केही दिन अघि उद्धार गरि ल्याईएका ति मजदुरहरुले दिउसो गाँउको काम समेत गर्ने गरेका छन् । भौतिक दुरी कायम गरेर मल बोक्ने, गहुँ काट्ने लगायतका कामहरु गरिरहेको स्थानिय ढकवीर रानाले बताए ।
ओडारमा वेड हुने कुरै भएन । चिसो भुँइमा घाँस विछ्याएर त्यही माथि कार्पेट राखिएको छ । दिनहुँ पानी परेपछि आफुहरुलाई चिसोले सताउन थालेको नुवाकोटबाट फर्केका हरिवहादुर पुनले भने ‘विद्यालय भन्दा ओडारमा सुरक्षित होला भनेर यहाँ बस्यौ तर चिसोले सताउन थाल्यो ।’ गाँउ नजिकै भएकोले खेतबारीको काममा समेत आफुहरुले सघाईरहेका छौ उनले भने–‘मल बोक्ने, गहुँ काट्ने लगायतका काममा सघाईरहेका छौ । ओडारमा बसेका हामी सँगै भएपनि गाँउका मान्छे र घरपरिवारको सम्पर्कमा गएका छैनौं ।’
केही दिन अघि एकै पटक देशका विभिन्न शहरबाट लकडाउनको उलंघन गदै हुलका हुल मानिसहरु जिल्लामा भित्रिएपनि क्वारेन्टाइनमा दुई सय मात्र बसेका छन् । अन्यलाई होम क्वारेन्टाईनमा बस्न निर्देशन दिईएको स्थानिय सरकारले जनाएका छन् ।