सहदेव बस्नेत । जाजरकोट
भेरी नगरपालिलका २ का नर वहादुर थापाले गाँउमै अपाङ्ग परिचय पत्र पाएका छन् । सदरमुकाम जान नसक्दा उनको परिचय पत्र बन्न सकेको थिएन । यातायातको सुविधा नभएको उनको गाँउबाट खलंगा सम्म पुग्न आफुलाई ज्यादै कठिन भएकोले परिचय बनाउन नसकेका उनले परिचय पत्र गाँउमै पाउँदा खुसी ब्यक्त गरे ।
जिल्लाको भेरी नगरपालिकाले घरदैलोमै पुगेर अपाङ्गहरुलाई परिचय पत्र वितरण गरेपछि नरबहादुर जस्तै धेरै अपाङ्गले सहज रुपमा परिचय पत्र बनाउने अवसर पाएका छन् । अपाङ्ग भएका व्यक्तिहरु लाई नगरपालिका सम्म आउजाउ गर्न कठिनाई हुनुका साथै खर्च समेत लाग्ने भएकाले नगरपालिकाले १३ वटै वडामा घुम्ति शिविर संचालन गरेर अपाङ्गहरुलाई परिचपत्र वितरण गरेको हो । अपाङ्ग परिचय पाएकाहरुले विशेष भत्ता समेत पाउने छन् ।
भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारी को संयोजकत्वमा रहेको डक्टर सहित पुगेको नगरपालिकाको अपाङ्गता परिचय पत्र वितरण समन्वय समिति सहितको टोलीले एक हप्ता अवधिको घुम्ति शिविर मार्फत १३ वटै वडामा पुगी एक सय ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न बर्गको अपाङ्ग परिचयपत्र वितरण गरेको महिला शाखाकी धनसरा रानाले बताईन । क वर्गको २९ जनालाई , ख वर्गको ६३ जनालाई ,ग वर्गको ३० जनालाई र घ वर्गको आठ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको रानाले जानकारी दिईन ।
शिविरबाट वडा नं १ मा १४ जना, २ मा १८ जना, ३ मा ७ जना, ४ मा १० जना, ५ मा तीन जना, ६ मा १५ जना, ७ मा १८ जना, ८ मा आठ जना, ९ मा १० जना, ११ मा आठ जना, १२ मा सात जना र १३ मा तीन जना ले विभिन्न वर्गको परिचयपत्र पाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलवहादुर घर्तीले जानकारी दिए ।
नगरपालिका सम्म आएर परिचयपत्र बनाउन समस्यामा परेका व्यक्तिहरुलाई मध्यनजर गर्दै यस्तो शिविर संचालन गरेको घर्तीले बताए ।