प्रवाह संवाददाता । जाजरकोट
शसस्त्र प्रहरी बलको २५ औं स्थापनाको अवसरमा शुक्रवार आयोजित अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय खलंगाकी १० कक्षामा अध्ययरत छात्रा सुचारु कार्की प्रथम भएकी छिन् ।
शसस्त्र प्रहरी बल नेपाल हेड क्वाटर जाजरकोटले आयोजना गरेको लागु औषध, सिमा सुरक्षा र युवा विषयक बक्तृत्वकला प्रतियोगितामा शिव मावि कालेगाँउकी ९ कक्षामा अध्ययनरत छात्रा इरा केसी द्धितिय र त्रिभुवन माविकै १० कक्षामा अध्ययनरत छात्रा खिमबहादुर खड्का तृतिय भएका छन् । प्रथमलाई नगद दुई हजार पाँच सय, द्धितियलाई एक हजार पाँच सय र तृतियलाई एक हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो ।
भेरी नगरपालिका भित्रका आठ विद्यालयका १४ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भेरी नगरपालिकाका नगर उपप्रमुख सिता जैसी, शसस्त्र प्रहरी बल हेड क्वाटर जाजरकोटका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुजन थापा र त्रिभुवन मावि खलंगाका प्रधानाध्यापक भक्तबहादुर मल्लले पुरस्कार प्रदान गरेका थिए । प्रमुख अतिथि नगर उपप्रमुख जैसीले आजका बालबालिका भोलीका भविश्यका कर्णधार भएको बताउँदै अहिलेको जल्दोबल्दो समस्याको रुपमा रहेको लागु औषध दुब्र्यसनीलाई रोकथामका लागि विद्यालय स्तरबाटै कार्यक्रम संचालन गरिनुपर्ने आवश्यकता औल्याईन । उनले शसस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवसको अवसर पारेर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेर विद्यार्थीमा जनचेतना फैलाउने काम गरेको भन्दै प्रसंशा गरिन ।
कार्यक्रममा शसस्त्र प्रहरी बलका प्रमुख डिएस्पी थापाले कार्यक्रममा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै यस प्रतियोगिता मार्फत युवाहरुमा लागु औषध, सीमा सुरक्षा र युवा जस्ता समसामयिक विषयमा रोचक प्रतियोगिता गर्न पाउँदा निकै खुसी लागेको बताए । लागु औषध दुब्यर्सनीले अहिलेको गंभिर सामाजिक समस्याको रुपमा रहेको छ । यसले युवा र विद्यार्थीहरुमा गंभिर असर पारिरहेको बताउँदै डिएस्पी थापाले लागु औषध नियन्त्रण, युवा शसक्तीकरणका लागि कार्यक्रम कोशे ढुगा सावित हुने बताए । बक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक जनक केसी, ज्योती कार्की र पत्रकार विनोद घर्ती रहेका थिए ।


