राजेन्द्र कार्की । जाजरकोट
‘माओवादी आउँथे । घरमा पकाएको खान खान्थे । कार्यक्रममा बोलाएर लान्थे । त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि २१ बर्ष विति सक्यो ’ भेरी नगरपालिका १ पिपेकी बली रानाले भनिन माओवादी द्धन्दको क्रममा सुरक्षाकर्मी द्धारा बेपत्ता पारिएका श्रीमान फर्केर आउलान भनेर कुर्न थालेको बषौं वित्यो । उनलाई बेपत्ता श्रीमान फर्केर आउलान भन्दा भन्दै २१ बर्ष वितेको पत्तै भएन । अहिले पनि श्रीमान फर्केर आउँछन् कि भन्ने झिनो आशा पालेर बाँचिरहेकी छन् ।
बलीले भनिन ‘जीवन साथी गुमाउनु पर्दा आँसु पिएर जिउनुको विकल्प भएन । मेरो जस्तो पिडा कसैले भोग्न नपरोस । युद्धको नाममा हामी जस्ता सोझा नागरिकलाई तड्पाउने काम कसैले नगरुन।’ उनले वेपत्ता पार्नेलाई स्वास वा लास दिन माग गरिन । मेरा श्रीमानको के दोष थियो र त्यसरी बेपत्ता पार्नु पर्ने उनले आक्रोस पाख्दै भनिन ‘बेपत्ता पार्नेलाई कारवाही गर्नुपर्छ ।’ सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको ६ बर्ष विति सक्दा पनि अहिले सम्म छानवीन नभएकोमा उनी निकै दुःखी छन् । ढिलै भएपनि हामीले न्याय पाउँछौ कि भन्ने आशा थियो उनले निराश हुँदै भनिन यो आयोगले पिडितलाई न्याय दिलाउला जस्तो लागेन । टीआरसी विद्येयक हालै संसदबाट पारित भएको बारे उनी वेखवर छन् ।
भेरी नगरपालिका २ रिसाङ्गकी कमला शर्माले आफ्ना श्रीमान बेपत्ता भएको २१ बर्ष विति सक्दा पनि कुनै अत्तोपत्तो नभएको बताईन । अध्ययनका लागी नेपालगञ्ज गएका श्रीमान शिवप्रसाद शर्मालाई तत्कालिन शाही नेपाली सेनाले २०५८ सालमा माओवादी आरोपमा बेपत्ता बनाएको उनले बताईन । ‘घरको मुली मान्छेलाई बेपत्ता पारिएपछि दुई छोरीहरु सँगै आशु बगाएरै जीउन बाध्य भयौ । अहिले जीवन निर्वाहमा निकै समस्या परेको छ ’, उनले भनिन ‘ छोरीहरुले बाबा खै भन्छिन । मैले के जवाफ दिने ? हामीलाई यसरी कहिले सम्म तड्पाएर राख्ने ? मरेको वा बाँचेको अवस्था सार्वजनिक गरियोस।’ उनले आफ्ना निर्दोष श्रीमानलाई वेपत्ता पार्ने सुरक्षाकर्मीलाई कारवाहीको माग गरिन । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरेपनि न्याय पाउनेमा आशा मरिसकेको बताईन ।
जिल्लाको भेरी नगरपालिका १ कालेगाँउकी ७३ बषिया चनावति बटालाले छोरा फर्केर आउला भन्ने आश मारिसकेकी छन् । तर उनलाई न्यायको आश भने मरेको छैन । ‘बुढेसकालको साहारा बन्ला भनेको छोरो बेपत्ता भएको २६ बर्ष विति सक्यो तर अहिले सम्ममा छोराको अवस्था थाह पाउन सकेकी छैन । छोरो ज्यँुदो होला भन्ने आशा पनि छैन’ उनले भनिन ‘माओवादी आरोपमा मेरो छोरालाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरेर २०५५ सालमा लिएका हुन् । त्यसपछि उनीहरुले छोरालाई बेपत्ता बनाए । सायद मारिदिए होलान ।’ मेरा छोरालाई बेपत्ता पार्नेलाई हदै सम्मको कानुनी कारवाही होस । अन्य क्षतिपुर्ती केही चाहिएन उनले भनिन ‘छानवीन आयोगले छिटो हामीलाई न्याय दिलाईदेओस ।’
भेरी नगरपालिका ४ कि राज्यलक्ष्मी खनालले पतिलाई बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गरिन । जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा तत्कालिन विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरि वेपत्ता बनाएका थिए । प्रहरी कार्यालय परिसरमा रहेको मन्दिरमा पुजारी भएकै कारण माओवादीले आफ्ना पतिलाई बेपत्ता बनाएको बताइन । आफ्ना पतिको सास वा लासको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्नेलाई कारवाही गर्न माग गरिन । सरकार र तत्कालिन विद्रोही माओवादीबाट जाजरकोटमा तीन सय बढीको ज्यान गएको र अझै ११ जना बेपत्ताको सुचीमा रहेका छन् । युद्ध लडेका नेता पटक पटक मन्त्री पनि भए । पिडितका समस्या समाधान पनि गछौ भने तर फर्किएर कहिलै हेरेन्न । न त अन्य पार्टीले नै हाम्रो समस्यालाई गंभिर रुपमा लिए खनालले गुनासो पोख्दै भनिन् ।
यसैवीच, अन्र्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा द्धन्द पिडित समाजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा भेरी नगरपालिका ४ बोहरा स्थित बेपत्ता स्मारकमा पुगेर दीप प्रज्वलन गरिएको थियो । सो अवसरमा बल पुर्वक वेपत्ता बनाईएका परिवारका सदस्यहरु,जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्री, भेरी नगरपालिकाका नगर उपप्रमुख सिता जैसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, रेडक्रसका जिल्ला सभापति हरि बस्नेतको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
बेपत्ता परिवारको गुनासोः के दोष थियो र बेपत्ता बनाइयो ?

