डेढ सय बर्ष देखि जाजरकोटमा लाखे नाच

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच जाजरकोटमा नाच्न शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ । जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो । भक्तपुरबाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्षअघि शुरु गरेको लाखे नाच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय महेन्द्र भडेलले बताए ।

विगत केही समय सरोकारवालाहरूको बेवास्ताका कारण ओझेलमा परेको थियो । जिल्लाको महत्त्वपूर्ण पुरातात्विक सम्पदा भएकाले यसको संरक्षणमा आफूहरूले पहल गरेको नेवार समुदायका सत्रुघन भडेलले बताए । उनले गत कार्तिकमा गएको भुकम्पले धेरै जनधनको क्षति पुरयाएको र उक्त पिडा विर्साउन पनि यस बर्ष लाखे नाचलाई निरन्तरता दिइएको बताए ।
उनले प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमङ्गल पर्व मनाउँदै यो लाखे नाच शुरु हुने बताए । सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम खलङ्गामा मात्रै देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ । मंगलवार राक्षसको प्रतिकको रुपमा रहेका भप्पु र लाखेको भगवान कृष्णले बध गरे सँगै यो पर्व सकिएको छ । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै खलङ्गा बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको ९१ बर्षिय स्थानिय रामजंग शाहले बताए ।

नेवार समुदायमा प्रचलित लाखे नाच जाजरकोटमा निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै सङ्कटमा पर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ । खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको सरोकारवालाको गुनासो छ ।
विगतमा निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाच पछिल्लो समयमा स्थानीय बासिन्दाको बेवास्ताले लोप हुन थालेको छ ।

लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाइका प्रतीकका रूपमा विभिन्न काला, सेता र अन्य रङ्गका मुखुण्डो लगाएका भप्पु र अन्य हास्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउने गर्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad