राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने उखाले– तल्लु सडक निर्माण गरि दुई कार्यालयबाट भुक्तानी लिने उपभोक्ता समितिलाई पुर्वाधार विकास कार्यालयले कालोसुचीमा राखेको छ । उपप्रमुख जिल्ला अधिकारी सुरेश सुनार सँगको परापर्शमा ति उपभोक्ता समितिलाई कालो सुचीमा राख्ने, अन्तिम मुल्याङ्कन र विलभरपाई बनाउने कार्यालयका ईन्जिनियर शंकर कुँवर लाई स्पष्टिकरण सोधेर सचेत बनाउने, सिफारिस गर्ने वडाध्यक्ष लालबहादुर बानियाँलाई सचेत गराउने गरि पत्राचार गरिएको कार्यालय प्रमुख सोहिन्दर यादवले जानकारी दिए ।
पुर्वाधार विकास कार्यालय जाजरकोटबाट दोहोरो भुक्तानी लिएको १२ लाख ८२ हजार ७ सय २२ रुपैया उपभोक्ता समितिले फिर्ता गरेका छन् ।
जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने उखाले– तल्लु सडक निर्माण गरि एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको केही दिन अघि सार्वजनिक भएको थियो । गत आर्थिक बर्ष २०७९÷०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा दुई कार्यालयबाट दोहोरो भुक्तानी दिइएको कुरा सार्वजनिक भएपछि दोहरो भुक्तानी लिएको रकम उपभोक्ताले फिर्ता गरेका हुन् । नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्बाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको थियो ।
नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसंग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेम बहादुर सिंह, सचिव प्रेम बहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौता गरेका थिए । तर उनीहरुबाट पनि माओवादी नेता गणेश सिंहले कामको जिम्मा लिएको समितिका अध्यक्ष प्रेमबहादुरको भनाई छ । उपभोक्ताबाट कामको जिम्मा लिएका ति नेताले डोजर प्रयोग गरेर बाटो बनाएका थिए । उपभोक्ता समितिका पदाधिकारीलाई बाटोमा फाईदा भएको रकम नदिएपछि उनीहरुले गत असार महिनामा नै नलगाड नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।
यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै करीव ३२ लाख बढी रकम भुक्तानी भैसकेको थियो । नलगाड नगरपालिकाको काम अघि नै गरिसकेको छानवीनबाट पुष्टि भएपछि पुर्वाधार विकास कार्यालयबाट डुप्लिकेशन भएको तथ्य पत्ता लागेको थियो । बढी भुक्तानी लिएको ५ प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार ७ सय २२ रुपैया उपभोक्ता समितिले मंगलवार पुर्वाधार कार्यालयको खातामा रकम जम्मा गरेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले बताए ।
गत असारमा नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु हितानगाँउ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको सार्वजनिक भएको थियोे । अफिसलाई झुक्याएर डुप्लिकेशन गरी रकम भुक्तानी लिने उपभोक्तालाई बोलाएर रकम जम्मा गर्न अन्यथा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिईसकेको रकम फिर्ता गर्न लगाएको यादवले बताए ।
एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्य तथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, स्थानिय जनप्रतिनिधी सहितले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानियालाई समेत झुक्याएको ठहर भएको थियो । त्यसरी डुप्लिकेशन गर्ने र संलग्न सवैलाई कारवाही गर्नु पर्ने स्थानियको माग छ ।
सदरमुकाम खलंगामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा पनि उक्त सडकमा दोहोरो भुक्तानीबारे स्थानियले प्रश्न गरेका थिए । जवाफमा कार्यालय प्रमुख यादवले आफुले गल्ती गरेको भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताए । रकम असुली भैसकेको र आवश्यक कारवाहीको प्रक्रिया पनि बढेको बताए । गत बर्ष धेरै कोटेशन बाँडेको भन्ने आरोपको सन्दर्भमा उनले गत बर्षबाट पाठ सिकेको र यस बर्ष कोटेशन नबाँड्ने बताए । उनले आफ्नो स्वार्थमा कुनै काम नगरेको भौतिक प्रगति राम्रो गरेको र सवै पार्टीको काम गरिदिएको दावी गरे ।


