April 28 - 2024, Sunday१५ बैशाख २०८१, शनिबार

एउटै आयोजनामा दुई कार्यालयबाट भुक्तानी भएको १३ लाख रकम फिर्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा एउटै आयोजनामा डुप्लिकेशन गरि दुई कार्यालयबाट लिएको रकम उपभोक्ता समितिले फिर्ता गरेका छन् । पुर्वाधार विकास कार्यालय जाजरकोटबाट दोहोरो भुक्तानी लिएको १२ लाख ८२ हजार ७ सय २२ रुपैया फिर्ता भएको हो ।

जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक निर्माण गरि एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको केही दिन अघि सार्वजनिक भएको थियो । गत आर्थिक बर्ष २०७९÷०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा दुई कार्यालयबाट दोहोरो भुक्तानी दिइएको कुरा प्रवाह लगायतका संचारमाध्यामबाट सार्वजनिक भएपछि दोहरो भुक्तानी लिएको रकम उपभोक्ताले फिर्ता गरेका हुन् । नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्बाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको थियो ।

नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसंग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेम बहादुर सिंह, सचिव प्रेम बहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौता गरेका थिए । यही उपभोक्ता समितिको खातामा दुवै कार्यालयबाट गत असारमै ३२ लाख बढी रकम भुक्तानी भैसकेको थियो । नलगाड नगरपालिकाको काम अघि नै गरिसकेको छानवीनबाट पुष्टि भएपछि पुर्वाधार विकास कार्यालयबाट डुप्लिकेशन भएको तथ्य पत्ता लागेको थियो । बढी भुक्तानी लिएको ५ प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार ७ सय २२ रुपैया उपभोक्ता समितिले मंगलवार पुर्वाधार कार्यालयको खातामा रकम जम्मा गरेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले बताए ।

गत असारमा नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु हितानगाँउ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको सार्वजनिक भएको थियोे । अफिसलाई झुक्याएर डुप्लिकेशन गरी रकम भुक्तानी लिने उपभोक्तालाई बोलाएर रकम जम्मा गर्न अन्यथा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिईसकेको रकम फिर्ता गर्न लगाएको यादवले बताए । ति उपभोक्ता समितिलाई अन्य के कारवाही गर्ने बारे प्रमुख जिल्ला अधिकारी सँग परामर्श भैरहेको उनले बताए ।

एउटै सडकमा दोहोरो भुक्तानी भएको सम्बन्धमा के भएको हो सत्य तथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, वडाध्यक्ष सहितले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानियालाई समेत झुक्याएको ठहर भएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad