April 28 - 2024, Sunday१६ बैशाख २०८१, आईतवार

‘नलगाडलाई समृद्ध र सुशासनयुक्त नगर बनाउन प्रयत्नशील छौ’– नगरप्रमुख डम्बर रावत

जाजरकोट जिल्लाको नलगाड नगरपालिका साबिकका पाँच वटा गाविस लहँ, डाँडागाउँ, खगेनकोट, रग्दा र भगवती मिलाएर बनाइएको हो।  २०७९ सालको स्थानीय तह निर्वाचनमा यस नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । नगर प्रमुखमा रावत निर्वाचित भइसकेपछि नलगाड नगरपालिकाको विकासलगायतका क्षेत्रमा भएका गतिविधि र आगामी योजनाबारे पत्रकार सहदेव बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एक वर्षको अनुभव र मूल्याङ्कन कस्तो रह्यो ?

बाहिर बसेर हेर्दा नगर प्रमुख भएर धेरै काम गर्न सकिन्छ भन्ने लागेको थियो। जनताका चाहना असीमित रहने तर सीमित स्रोतसाधनले गर्दा सोचे अनुसार काम गर्न नसकिने रहेछ। तर पनि हामीसँग जे जति स्रोतसाधन छ; त्यसलाई प्रभावकारी रूपमा परिचालन गरेर जनतालाई सेवा प्रवाह गरेका छौँ। विभिन्न संस्थासँगको साझेदारीमा धेरै काम गर्न सकिने अनुभूति पनि भएको छ। घरदैलामै पुगेर जनताका माग सम्बोधन गर्न सक्दा प्रभावकारी हुने कुरा हामीले सिकेका छौँ। जनतासँगको नियमित सम्पर्क र साझेदारीबाट मात्र जनताको वास्तविक जनप्रतिनिधि बन्न सकिने रहेछ भन्ने अनुभव भएको छ।

अहिलेसम्म तपाईंहरूले गर्नुभएको महत्त्वपूर्ण काम के हो भन्ने लाग्छ ? 

हाम्रो सबभन्दा बलियो पाटो सुशासन हो। विकास निर्माणका योजना तथा बजेट  न्यायोचित र समानुपातिक वितरण प्रणालीको राम्रो अभ्यास भएको छ। हामीले १३ वटै वडामा १०/१० लाख रुपियाँ बराबरको बजेट उपलब्ध गराई जनसहभागितामा विकास निर्माणका काम अगाडि बढाउने निर्णय गरेका छौँ। यसको लागि योजना छनोट भई स्टिमेट तयार भएको छ। विकास निर्माणका हरेक योजनामा सरकारको मात्र मुख ताक्ने हैन, हामी सबैले पनि केही न केही योगदान गर्नु पर्छ भन्ने मान्यता अगाडि बढाइएको छ। विभिन्न पकेट क्षेत्र घोषणा गरी जनताको जीवनयापन सहज बनाउने प्रयास भएको छ। लसुन, मह र सुन्तला यो नगरपालिकाको मुख्य आम्दानीका माध्यम हुन्। यसबाट बर्सेनि करोडौँ रुपियाँका कृषि उपज जिल्लाबाहिर जान्छन्।

नगरपालिकाको आवश्यकता, समस्या र चुनौती के देख्नुभयो ?

स्थानीय तह भनेको नागरिकको सबभन्दा नजिकको सरकार हो। हामीसँग भएको स्रोतसाधनको तुलनामा चुनौती र समस्या धेरै छन्। अझ भौगोलिक विकटताका कारण पनि काम गर्न थुप्रै चुनौती छन्। नगरपालिकाको प्रमुख चुनौती यहाँको बेरोजगारी हो।

युवा जनशक्तिलाई रोजगारी र व्यावसायिक बनाउन, यातायात, सूचना र सञ्चार, गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रमुख आवश्यकताका रूपमा रहेका छन्। नगरमा अझै पनि आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। यस्तो समस्या सम्बोधन गरेर कृषिलाई व्यवसायीकरणतर्फ लैजानुपर्ने आवश्यकता  छ। नगर अस्पतालको निर्माण सम्पन्न गरी जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ।

नगरपालिकामा आन्तरिक स्रोतसाधन परिचालनको अवस्था कस्तो छ ? 

हामीले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेका छैनौँ। जनताको न्यून आयस्रोत हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो। गत आर्थिक वर्षमा हामीले एक करोड राजस्व सङ्कलनको लक्ष्य लिएका थियौँ तर ५० लाख रुपियाँ मात्रै सङ्कलन गर्न सफल भयौँ। यस नगरपालिकामा आन्तरिक स्रोतको कमी छ। नगरपालिकाको आन्तरिक स्रोत सङ्कलन गिट्टी, बालुवा, विभिन्न सेवा शुल्क, मालपोत कर, जडीबुटीबाटै हुन्छ। आन्तरिक स्रोत बढाउन विशेष गरेर गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतलाई व्यवस्थित गर्ने योजना नगरपालिकाले बनाएको छ।

तपाईंको आगामी लक्ष्य, सोच, योजना के रहेको छ ?  

नगरपालिकालाई समृद्ध र सुशासनयुक्त बनाई जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य लिइएको छ। त्यसका लागि समृद्धिका विभिन्न आधारस्तम्भ निर्माणमा जोड दिने सोच र योजना बनाएका छौँ । हामीले यहाँको कृषि, पशुपालन, पर्यटन प्रवर्धनलाई विशेष जोड दिएका छौँ। विभिन्न वस्तु तथा उपजको  पकेट क्षेत्र निर्धारण गरेर अगाडि बढ्ने योजना छ। सुन्तला, माहुरी, लसुन, तोरीमा आत्मनिर्भर गराई निर्यात गर्न सुरु भएको छ। नगरपालिकाका १३ वटै वडाका सबै ठाउँमा ग्राभेल सडकको पहुँच, सिँचाइ, सञ्चार सुविधा, युवालाई रोजगारी तथा व्यावसायिक बनाउने, शिक्षा र स्वास्थ्यमा पहुँच अभिवृद्धि गराउने लक्ष्य नगरपालिकाको छ।

नगरपालिकाको विकासमा सङ्घ र प्रदेशसँगको समन्वय र सहकार्य कस्तो छ ? 

तीनै तहका सरकारको समन्वय र सहकार्यमा विकास निर्माणलगायतका अन्य कार्य भइरहेका छन्। सडक, विद्युतीकरण, भवन निर्माणलगायतका कार्यमा सङ्घ, प्रदेश सरकारसँग प्रभावकारी रूपमा समन्वयात्मक कार्य भइरहेका छन्।

राष्ट्रिय महत्त्वको नलगाड जलविद्युत् आयोजना यहाँ बन्दै छ। यसबाट नगरपालिकाले कस्तो अपेक्षा राखेको छ ? 

४२० मेगावाटको नलगाड जलविद्युत् योजनाको हालै डिपिआर बनाउने काम सम्पन्न भएको छ। यो आयोजना निर्माणसँगै यस नगरपालिका समृद्ध हुने आशा लिएका छौँ। यो आयोजना निर्माण भएपछि यो क्षेत्र अँध्यारोमुक्त हुने त छँदै छ; नगरपालिकाको आन्तरिक आयस्रोत पनि वृद्धि हुने अपेक्षा लिएका छौँ । यसबाट उद्योग, कलकारखाना स्थापना गरी जनताको आयआर्जन र जीवनस्तरमा सुधार हुने अपेक्षा लिएका छौँ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad