राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको प्रदेश सभा क मा २८ बर्ष पछि काँग्रेसले जित निकालेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेको कर्णाली प्रदेश सभा सदस्य पदका उम्मेदवार बेदराज सिंहले जित निकाले सँगै २८ बर्ष पछि काँग्रेस कमब्याक भएको हो । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतको अन्तरले विजयी भएका हुन् । बेदराजले १८ हजार पाँच सय ४३ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकतटम प्रतिद्धन्दी एमालेका डम्बरले ११ हजार चार सय ७० मत प्राप्त गरेका छन् ।
यस अघि दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटमा २०४८ र २०५१ सालमा काँग्रेसले जितेको थियो । २०४८ सालमा द्धारीका प्रसाद प्रधान र २०५१ सालमा झलकनाथ वाग्लेले जित निकालेको क्षेत्र नम्बर १ अहिले प्रदेश सभाको क्षेत्र नम्बर १ भएको छ । २०५६ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द विक्रम शाह विजयी भएका थिए । २०६४ सालमा देखि माओवादी केन्द्रले उक्त क्षेत्र जित्दै आएको थियो । २०६४ सालमा माओवादी केन्द्रका कालीबहादुर मल्ल र २०७० सालमा माओवादी केन्द्रकै शक्तिबहादुर बस्नेतले जितेका थिए । नयाँ संविधान अनुसार पुर्नसंरचना भएपछि प्रतिनिधी सभामा जाजरकोट १ निर्वाचन क्षेत्रमा सिमित भएको छ । प्रदेश सभामा भने दुई निर्वाचन क्षेत्र छन् ।
पहिलेको प्रतिनिधी सभाको क्षेत्र नम्बर १ अहिलेको प्रदेश सभा क्षेत्र नम्बर १ भएको छ । २०७४ सालको निर्वाचनमा बामगठबन्धनका तर्फबाट माओवादीका गणेशप्रसाद सिंह विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा गणेशप्रसाद सँग पराजित भएका बेदराज यसपटक भने उनकै सहयोगमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधी सभा र काँग्रेसको भागमा प्रदेशका दुवै सिट परेपछि नेपाली काँग्रेस तीन दशक पछि आफ्नो झण्डा फहराउने अवसर भएको हो । जिल्लाको बारेकोट गाँउपालिका ९ सेपुखोलामा जन्मिएका ४२ बर्षिय वेदराज विद्यार्थीकाल देखि नै काँग्रेसको राजनितिमा होमिएका थिए । नेपाली विद्यार्थी संघको जिल्ला अध्यक्ष, पार्टीको क्षेत्रिय सभापति, जिल्ला सहसचिव हुँदै गत बर्ष पार्टी सभापति हुने अवसर पाएका उनले जिल्लाको विकासका लागि आफुले काम गर्ने बताए । काँग्रेसका युवा नेता सिंहले आफुलाई भरोसा गरेर विजयी गराएकोमा जिल्लाबासी सवैलाई धन्यवाद दिदै जनमतको कदर गदै इमान्दारीपुर्वक काम गर्ने बताए ।