राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट प्रदेश सभा ख बाट नेपाली काँग्रेसका राजीव विक्रम शाह निर्वाचित भएका छन् । शाहले एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५ सय १० मतको अन्तरले पराजित गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शाहले १६ हजार ४० मत प्राप्त गरि विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी एमालेका शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समाजसेवा गर्दा गदै राजनितिमा छिरेका शाहले २०७० सालको निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट साँसदमा निर्वाचित भएका थिए । तर २०७४ सालको निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र भएपछि बामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत सँग पराजित भएका थिए । उनै प्रतिस्पर्धी बस्नेत यसपटक सारथी भएर शाह पुनः कमब्याक भएका हुन् । शुरुमा प्रतिनिधी सभामा चुनाव लड्ने इच्छा ब्यक्त गरेपनि गठबन्धनका भागमा माओवादीको भागमा परेको र बस्नेत उम्मेदवार भएपछि नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाह ब्याक भएका थिए ।
पुख्यौली थलो जाजरकोट भएपनि तीनपुस्ता देखि काठमाडौमा बस्दै आएका शाह आफ्नो पुरानो थातथलोको सेवा गर्ने मनसायले समाजसेवा मार्फत जाजरकोट आएका थिए । २०६६ सालमा महामारीको रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा निजी खर्चमा हेलिकोप्टर
मार्फत औषधी र डाक्टर लिएर हजारौं जाजरकोटबासीको ज्यान बचाएका थिए । संकटको वेला सधै जिल्लावासीको सेवा गरेर जाजरकोटी जनता माझ लोकप्रिय छन् । कोभिड महामारीको बेला पनि शाहले प्रदेश अस्पताल सुर्खेत सहित विभिन्न अस्पताललाई एक करोड रुपैया भन्दा बढीका भेन्टिलेटरसहितका उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
प्रतिनिधी सभा सदस्य हुँदा राज्यबाट पाउने सेवा सुविधाआफुले नलिएर जाजरकोटका विपन्न बालबालिकाका अध्ययनमा खर्च गरेका थिए । निजी लगानीमा जिल्लाको छेडागाड ५ बडाबनमा ५ करोड रुपैया लागतमा २५ शैयाको अस्पतालको पुर्वाधार समेत निर्माण गरेका छन् । सधै नागरिकको सुख दुःखमा साथ दिने नेता विजयी भएकोमा जिल्लावासी खुसी भएका छन् । उनले समग्र कर्णाली र जाजरकोटको विकास र समृद्धिमा आफुले काम गर्ने बताएका छन् ।