राजेन्द्र कार्की । जाजरकोट
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि जाजरकोटमा केही स्वतन्त्र सहित १४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधी सभामा ६ जना, प्रदेश सभा क मा ४ र ख मा ४ जना गरी १४ जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट प्रदेश क मा नेपाली काँग्रेसबाट वेदराज सिंह र प्रदेश ख बाट नेपाली काँग्रेसका राजिव विक्रम शाहले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् । सिंहले महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठाएर उम्मेदवारी दर्ता गराएका हुन् । छिन्चु जाजरकोट सडक अवरुद्ध भएका कारण काँग्रेस उम्मेदवार बाटोमै भएका वारेस मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभामा निरज आचार्य, प्रदेश सभा क मा डम्बर बहादुर सिंह र प्रदेश ख मा खिमबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधी सभामा दीपक खनाल, प्रदेश क मा गणेश बटाला र प्रदेश ख मा कृष्णबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधी सभामा राजबहादुर शाही र नेपाली काँग्रेस विपीबाट प्रतिनिधी सभामा झलकनाथ वाग्लले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एकिकृत समाजवादीबाट प्रदेश सभा ख मा कृष्णबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधी सभामा स्वतन्त्र रुपमा नरबहादुर कार्कीको उम्मेदवारी परेको छ भने प्रदेश सभा क मा कमान बहादुर खड्काको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट समाजवादीलाई भाग नदिएको भन्दै जिल्ला अध्यक्ष खड्काले स्वतन्त्र र केन्द्रिय सदस्य बुढाले प्रदेश सभा ख मा पार्टीबाटै उम्मेदवारी दर्ता गराएका छन् ।


