राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा मुख्य निर्वाचन अधिकृततको कार्यालय शनिवार स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रमुख सेनानी सविन प्रताप केसी, प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक लालसिंह विष्ट, राष्टिय अनुसन्धानका प्रमुख ओमबहादुर खड्का, निमित्त जिल्ला निर्वाचन अधिकारी नविनकुमार कठायत लगायतको उपस्थितिमा जिल्ला न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत केशवराज चपाईले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन् ।
यही असोज २० गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सक्नुपर्ने निर्वाचन आयोगको निर्देशन अनुरूप कार्यालयको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत चपाईले बताए । सहायक निर्वाचन अधिकृतमा श्रेस्तेदार नारायण सापकोटालाई जिम्मेवारी दिइएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जाजरकोट जिल्लाका एक लाख तीन हजार तीन सय ६३ मतदाता रहेका छन् । जाजरकोटमा ७७ मतदान स्थलमा एक सय ४३ मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाधली रहित एवं शान्तिपुर्ण तवरले सम्पन्न गर्ने गरी कार्य गर्ने मुख्य निर्वाचन अधिकृत चपाईले बताए ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले निर्वाचनलाई निष्पक्ष तरीकाले सम्पन्न गर्न सुरक्षा ब्यवस्था चुस्त पारिने बताए । शनिवार देखि नै शसस्त्र प्रहरी बलको एक युनिट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षार्थ खटाईएको शसस्त्र प्रहरी बलका प्रमुख लालसिंह विष्टले बताए । जाजरकोटमा संघिय प्रतिनिधी सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेशमा २ निर्वाचन क्षेत्र रहेका छन् ।


