June 18 - 2021, Friday३ असार २०७८, बिहीबार

राजनीति र साहित्यका दोभान

सुदर्शन आचार्य

बीपी कोइराला जन्मिएका थिएनन् भने नेपालको राजनीति आजका मितिमा कहाँनेर हुन्थ्यो, त्यो एउटा सघन बहसको विषय हुन सक्छ। तर ढुक्कसँग भन्न सकिन्छ– साहित्यकार बीपी नजन्मिएका भए नेपालको साहित्यले एकेडेमीको चौघेरा पार गर्न कठिन हुने थियो। विराट् समुद्ररूपी साहित्यिक क्षेत्रबाट उदाएका अब्बलभित्र पनि राजनीतिमा झैं पर्छन् बीपी। तर राजनीति र साहित्यिक चिन्तनमा भने फरक व्यक्तित्व झल्किन्छ उनको। राजनीतिक नेता बीपीको व्यक्तित्व साहित्यशिल्पी कोइरालाको भन्दा पृथक् देखिन्छ। बीपीकै शब्दमा आफ्नो व्यक्तित्वबारे स्वयं बीपी भन्छन्– म अनुभवको लोकभन्दा कल्पनाको लोकमा अधिक रमाउँछु। म भावुक, रोमान्टिक र चिन्तनशील छु, त्यस्तै विद्रोही पनि। राजनीति र साहित्य दुई तत्वले मेरो मनमा प्रभाव पारेको छ। म कहिले गान्धीवादी, कहिले विद्रोही, कहिले माक्र्सवादी र अन्ततः गान्धीवादी हुन पुगेको छु। मलाई लाग्छ– आत्मा अडिन स्वतन्त्रता चाहिन्छ। साहित्यकारले नयाँ बाटो देखाउनुपर्छ। साथै साहित्य आफैंमा पनि एउटा अद्भुत चिज हो। राजनीति र साहित्य दुवै फाँटमा एकैपटक उदाएका कमैमध्येका युगपुरुष हुन् बीपी।

साहित्यलाई राजनीतिभन्दा माथिको उच्चतम विषय मान्ने बीपीको लेखनशैली, भाषिक प्रयोग, वाक्य गठन एवं रचना समकालीन साहित्यकारको तुलनामा पृथक् छ। साहित्यकार बीपीको स्पष्ट सन्देश छ– समाज इच्छाभन्दा व्यक्ति इच्छा ठूलो हो। त्यसकारण व्यक्तिका दमित भावना, इच्छा एवं मनोद्वेगलाई स्वतन्त्रतापूर्वक आत्मनिर्णय गर्न दिनुपर्छ। यौन दृष्टिबारे पनि बीपीको स्पष्ट धारणा छ– यौनका सम्बन्धमा पूर्वीय आध्यात्मिक धारणा विपरीत विभिन्न मर्यादा, आदर्श र नैतिकताको खोक्रो आडम्बर ओढेर मान्छेको शरीर त रोकिएला तर, मन रोकिन्न। मनमा कुण्ठा र विकृत पालेर बस्नु हुँदैन भन्नेमा बीपीको तर्कपूर्ण विष्लेषण छ। उनी भन्छन्– मानिस आफूभित्रको मानसिक कुण्ठा नफालेसम्म सुखी रहन सक्दैन। यौनकै सन्दर्भमा उनी थप्छन्– शरीरको चोखोपनभन्दा मनको चोखोपनलाई महत्व दिनुपर्छ।

२००६ सालमा दोषी चस्मा नामक कृति प्रकाशन भएपछि बीपी एकैपटक ०२७ मा गएर मात्र साहित्यिक फाँटमा पुनः उदाएका हुन्। ०१७ देखि ०२५ सालसम्म आठबर्से जेल जीवनमा रचेका उपन्यास, कथा र आफ्नै जीवनीसँगै जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति नेपालका सन्दर्भमा बहुचर्चित कृति हुन्। हिटलर र यहुदी, बाबु आमा र छोरा, नरेन्द्र दाइ, सुम्निमा, तीन घुम्ती र दोषी चस्माको अध्ययनबाट नेपाली साहित्यको उच्चतम रूपको अध्ययनसँगै फरकफरक आलेख तयार गर्न सकिन्छ। बीपीमा माटोले यथार्थवादी र पानीले भाववादी बनाउन सक्छ भन्ने मान्यता थियो। करिब दुई दर्जनजति कविता, आधा दर्जन उपन्यास, आत्मवृत्तान्तसँगै जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृतिले यथार्थमा समग्र जीवनको विम्ब नै साहित्य हो भनेर प्रस्ट्याएको छ। माथि उल्लेख गरिए झैं कथामा मनोविष्लेषण दमित यौन भावना खोतलेर प्रयोग गर्ने यौन विश्लेषणको प्रारम्भ नै बीपीले गरे। चरित्रप्रधान त्यतिबेलाको लेखनको परम्परा चिर्दै मनोभावप्रधान लेखन स्वयंमा त्यो कालखण्डमा चुनौतीपूर्ण नै थियो।

 

बीपीका साहित्यिक कृतिभित्रका अन्तरनिहित पाटो केलाउने हो भने उक्त कालखण्डमा पनि उनको लेखन प्रस्टताबाट आङ जिरिंङ हुन्छ। दोषी चस्माले तत्कालीन राणाशासनभित्रको चाकरी प्रथा र त्यो प्रथाभित्रका शारीरिक र मानसिक पाटोको चरित्र प्रस्ट्याएको छ। तीन घुम्तीको अध्ययनमा बाबु आमाको इच्छाविपरीत प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति र सन्तान प्राप्ति, पतिद्वारा अस्वीकारपश्चात् सन्तान लिएर एक्लै बस्ने हिम्मतसहितको जीवन्त कथा पाइन्छ। मोदीआइनको अध्ययनबाट भने हजारौं वर्षअघिको महाभारत युद्धकालीन कथामा आधारित लाखौं विधवा नारीको प्रेतात्माप्रतिनिधि नारीका रूपमा मोदीआइनलाई उपन्यासको प्रमुख पात्रका रूपमा संयोजन गरिएको छ। युद्धको परित्याग र शान्तिको आगमन र स्थापना मोदीआइनको मुख्य सन्देश हो। हिटलर र यहुदीभित्र भने भारतीय संस्कृति र युरोपेली स्वच्छन्दवादको गम्भीर समीक्षासहितको संयोजन छ। अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध कृष्णले गराए। तर आखिर सबैले छाडेर जानुपर्‍यो ! बीपीको सन्देश भनेको युद्धको उपलब्धि के त भन्ने नै हो।

बाबु आमा र छोराको कथा भने आजका मितिमा पनि हाम्रो समाजले पचाइहाल्न गाह्रो हुने गरी संयोजन गरिएको छ। आफ्नै छोराको गर्भवती प्रेमिकासँग बाबुको दोस्रो बिहे, छोराको प्रेमिका नै बाबुको पत्नीका रूपमा रहनुजस्ता सिलसिला नेपाली समाजले सहजरूपमा स्वीकार गर्न नसक्ने सिलसिला हो। यौन मनोविज्ञान बुझेर विश्लेषण गरिएको भए पनि बीपीको यो कृतिमाथि औंला उठाउने ठाउँ प्रशस्तै छ। जेल जर्नल, आत्मवृत्तान्त र फेरि सुन्दरीजलजस्ता कृति भने नेपाली राजनीति र साहित्यमा चाख राख्ने जोकोहीले पनि अध्ययन गरेकै निष्कर्षसहित यहाँ चर्चा गरिएन। जुन कृतिले नेपालमा बिक्रीको उच्च रेकर्ड बनाएको छ।

बीपी स्वयं साहित्य र राजनीतिका दोभान हुन्। बीपीको राजनीतिक चिन्तन मूलतः कांग्रेस समाजवादी पार्टीको विचारधाराबाट प्रेरित थियो। भारतको स्वतन्त्रता संग्राममा प्रत्यक्ष भाग लिएर भारतमै जेलसमेत परेका बीपीले नेपालको परिवर्तनमा नेपालभित्रै पसेर परिवर्तनको झन्डा उठाउनु चानचुने विषय थिएन। तर बीपीले त्यो परिवर्तनको नेतृत्व गरिछाडे। प्रजातान्त्रिक समाजवादको माध्यमबाट सामाजिक न्याय दिलाउन सकिन्छ भन्ने मान्यता बीपीको थियो। बीपी नेपाली समाजको तीव्र रूपान्तरणको पक्षमा हुनुहुन्थ्यो। उहाँ र राजाको झगडा पनि यथास्थितिवादी र आधुनिकताको अर्थात् तानाशाही र प्रजातन्त्रको संघर्ष थियो। उत्तरार्धमा गान्धीवादी बाटो समाउनु भए पनि सन् १९७० मा उपचारका क्रममा युरोप जानका निम्ती राजा सरकारसँग पासपोर्टको माग गर्दासमेत नपाएका बीपीले भारतको सहयोगमा केवल परिचयपत्र मात्र बनाएर युरोप पुगेसँगै नेपालको परिवर्तनका निम्ति सशस्त्र क्रान्तिका निम्ति सहयोगसमेत माग्नुभएको पाइन्छ।

बीपीको समाजवादरूपी राजनीतिक दर्शन र उनका कृति वास्तवमै सधैं ताजै रहने कृति हुन्। जुन कृति र समाजवादबारे भोलिको पुस्ताले पनि सघन बहस चलाउने नै छन्। १९७१ भदौ २४ मा जन्मिएका बीपीको ०३९ साउन ०६ गते देहावसान नहुञ्जेल नेपालको राजनीति र साहित्यको केन्द्र भागमै रहे। पढाइमा १७ वर्ष, जेलमा १२ वर्ष, निर्वासनमा २० वर्ष र सरकारमा १८ महिना बिताएका बीपीले सक्रिय राजनीतिमा भने २६ वर्ष बिताए। कांग्रेस प्रतिबन्धित अवस्थादेखि खुला अवस्थासम्मको बीपीकालीन पूरै समयमा कांग्रेस नेपालको राजनीतिको चर्चाका हिसाबले केन्द्र भागमा रहन सफल भयो। बीपीले अवलम्बन गरेका मार्ग चाप पछ्याउन छाड्दा कांग्रेस आज राजनीतिक हिसाबले राजनीतिको किनारामा फट्के साक्षी मात्र देखिएको छ। कांग्रेस राजनीतिको केन्द्र भागमा पुग्न पनि बीपी विचार आजका मितिमा उत्तिकै सान्दर्भिक छ।

बीपीमा देशको ऐतिहासिक माग के हो, समाजमा कुनकुन शक्ति छन्, ती शक्तिमध्ये कसको महत्व कति छ आदि पहिचान गर्ने अद्भुत क्षमता थियो। समयको ऐतिहासिक महत्व नबुझेर काम गर्दा ठूला संस्थासमेत मेटिएर गएका विश्व उदाहरण बुझ्दै काम गर्नुपर्ने बुझाइ उतिबेलै बीपीमा देखिन्थ्यो। आजका सन्दर्भमा समयको माग र चाप बुझ्न नसक्दा कांग्रेसले इतिहासबाट समेत पाठ नसिकेको प्रस्टिन्छ। परिवर्तन र मुलुक निर्माणलाई केन्द्र भागमा राखेर राजनीतिलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने बीपीबारे जति शब्द खर्चिए पनि कमै हुन्छ। बीपीले उक्त कालखण्डमा कल्पना गरेको नेपाल निर्माणका सन्दर्भमा आजको कांग्रेसले थोरै मात्र पनि बहस चलाउन सक्दा मात्र बीपीको सम्झनाको सार्थकता झल्किन्छ, अन्यथा निजी स्वार्थका निम्ति दैनिकजसो जपिने बीपीको नामले स्वयं बीपीकै अपमानबाहेक केही गर्दैन। अन्नपुर्णपोष्टबाट

Prabaha